शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
बेलायती सेना प्रमुखको भ्रमण

बेलायती सेना प्रमुखको काठमाडौँमा दौडधुप, लगत्तै बेलायतबाट उच्चस्तरीय भ्रमण हुँदै

मङ्गलबार, १६ माघ २०८०, १७ : ४५
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख सर प्याट्रिक सन्डर्स मङ्गलवार दिनभर दौडधुपमा रहे । नेपाली सेनाको निमन्त्रणामा काठमाडौँ आएका उनले एकैदिन प्रधानमन्त्री, रक्षामन्त्री, परराष्ट्र मन्त्री र प्रधानसेनापतिसँग शिष्टाचार भेट गरे ।

यही माघ १५ गतेदेखि आएका उनको भ्रमण २० गते सम्पन्न हुनेछ । उनको भ्रमण सम्पन्न हुनासाथ बेलायतबाट उच्चस्तरका अधिकारीले नेपाल भ्रमण गर्दैछन् । दुई सातापछि बेलायतका विकास मन्त्रीले नेपाल भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

बेलायती सेना प्रमुखले मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री एनपी साउद र  प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरे । सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटमा दुई देशको आपसी हितका बारेमा कुरा भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जनाएका छन् ।

बेलायती सेना प्रमुखले सिंहदरबारमै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्का र परराष्ट्र मन्त्री साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरे । भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबिच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताएको उनको सचिवालयले जनाएको छ ।

खड्काले ब्रिटिस सेनामा सेवारत ब्रिटिस गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सन् १९९७ अघि सेवा निवृत्त भएका ब्रिटिस गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेलायतको तर्फबाट सकारात्मक पहलको निमित्त समेत अनुरोध गरेका थिए ।

भेटमा बेलायती सेना प्रमुख सन्डर्सले बेलायत गोर्खा सैनिकको विषय गम्भीरतापूर्वक लिएको बताएको खड्काको सचिवालयले जनाएको छ । यस्तै आफूलाई भेट्न आएका बेलायती सेना प्रमुखसँग परराष्ट्र मन्त्री साउदले गोर्खाहरूले बेलायती सेनामा पुर्‍याएको उच्च योगदानको चर्चा गर्दै १९९७ भन्दा अगाडि अवकाश पाएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सन लगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गोर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन उनले आग्रह गरेको साउदको सचिवालयले जनाएको छ । सेना प्रमुखले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेको बताए । साथै गोर्खाका मागलाई बेलायतले गम्भीरताका साथ लिएको जनाए ।

यस्तै प्रधान सेनापति शर्मा र संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख सन्डर्सबिच जङ्गी अड्डामा शिष्टाचार भेट भयो । त्यस अवसरमा नेपाल र संयुक्त अधिराज्य बेलायतबिच सदियौँदेखि रहिआएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबिच रही आएको सुमधुर सम्बन्धलगायत आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

भेटअघि बेलायती सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप