शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षण मुद्रणको काम नेपालमै गर्नसके राजश्वको ठूलो हिस्सा बाहिर जाँदैन : मन्त्री शर्मा

बिहीबार, १८ माघ २०८०, १६ : २९
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्नसके राजश्वको ठूलो हिस्सा बाहिर जानबाट रोकिने बताएकी छन् ।  

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणका काम गर्दा राजस्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताएकी हुन् । उनले सुरक्षण मुद्रणका कामहरु संवेदनशील भएको भन्दै राष्ट्रिय सुरक्षाको लागि पनि नेपाल भित्रै गर्नुपर्ने बताइन् । उनले सुरक्षण मुद्रणको विषय गठन आदेशको आधारमा चल्दै आएको उल्लेख गर्दै कानुन बनेपछि गठन आदेश खारेज हुने र कानुन अनुरुप चल्ने बताइन् ।

उनले भनिन्,‘सुरक्षण मुद्रणजस्तो महत्त्वपूर्ण विषय गठन आदेशको हिसाबमा चलाउँदै आएका थियौँ । यो कानुन बनिसकेपछि त्यो गठन आदेश खारेज हुने र कानुनतः अगाडि बढ्ने सन्दर्भमा सुरक्षण मुद्रणलाई व्यवस्थित ढंगले यसका कामहरु अगाडि बढ्छन् । सुरक्षण मुद्रणका कामहरु संवेदनशील कामहरु पनि हुन् । ती संवेदनशील कामहरु हाम्रो देशभित्रै छपाई गर्न थाल्यौँ भने देशको ठूलो हिस्साको राजश्व बाहिर जानबाट बच्छ । र हाम्रो आफ्नो राष्ट्रिय सुरक्षाका हिसाबले पनि यो धेरै महत्त्वपूर्ण हुन्छ भन्ने लागेको छ ।’

मन्त्री शर्माले नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैंक नोट, भिसा स्ट्रिकर, हुलाक टिकट र अन्य शुल्क स्ट्रिकर प्रकाशन गर्नेगरी विधेयक अगाडी बढाइएको बताइन् । त्यस्तै सवारी चालक अनुमतिपत्र, जग्गा धनि दर्ता प्रमाण पुर्जा, डिजिटल नक्सा लगायत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मुद्रण सम्बन्धी सामग्रीहरु प्रकाशन गर्ने तोकेर विधेयक अगाडी बढाएको स्पष्ट पारिन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप