आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

विभाजनको सँघारमा नेसपा

शुक्रबार, १९ माघ २०८०, २२ : ०५
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) विभाजनको सँघारमा पुगेको छ । शुक्रवार बसेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा नेताहरूबिच नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने भन्नेमा चर्को विवाद भएसँगै पार्टी विभाजनको सँघारमा पुगेको सो पार्टीका एक नेताले बताएका छन् । 

शुक्रवार विधान मस्यौदा र पार्टी एकताबारे छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो । तर बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले अब प्रचण्डसँग पार्टी एकता गर्न नसकिने बताए ।  ‘अब प्रचण्डजीसँग पार्टी एकता गर्न सकिँदैन । किनभने उहाँ जालझेल गर्न माहिर मान्छे हो । प्रचण्डले एकता पनि चाहनुभएको छैन’, डा.बाबुराम भट्टराईको भनाई उद्धृत गर्दै एक नेताले भने ।  

डा. भट्टराईले यस्तो बताए पनि अर्का अध्यक्ष महिन्द्र राय यादवले भने जुनसुकै हालतमा पनि पार्टी एकता गर्नुपर्ने धारणा राखेका थिए । ‘एकता गर्ने निर्णयबाट पछि हट्न सकिँदैन । यदि सहमतिमै एकता नगर्ने भए सहमतिमै हामी छुट्टयौं’, अध्यक्ष यादवको भनाई उद्धृत गर्दै महासचिव रमेशप्रसाद यादवले रातोपाटीसँग भने ।  २४ सदस्यीय कार्यकारिणी समितिमा डा. भट्टराई र यादवको पक्षमा आधा आधा सदस्य रहेका छन् ।  

महासचिव यादवले शनिवार बस्ने केन्द्रीय समिति बैठकअघि नेताहरूबिच सहमति नजुटे पार्टी विभाजन हुने लगभग पक्का भएको बताए ।महेन्द्र यादवको पक्षमा उनीसहित नेताहरू गोविन्द चौधरी, गङ्गानारायण श्रेष्ठ, रमेश यादव, देवेन्द्र यादव, सवनम खातुन, सलमा खातुन, वन्दना सुवेदी, बुढाबहादुर थोकीलगायत छन् ।

डा.बाबुराम भट्टराईको पक्षमा उनीसहित हिसिला यमी, भक्तबहादुर शाही, मानुषी यमी, दुर्गा सोव, जनक शाह, भरत दाहाल, ईश्वर रिजाल, घमानसिंह गुरु, सोनामसिंह सन्थ्याललगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप