आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय कार्यकारिणी समिति बैठक

रिक्त केन्द्रीय समिति सदस्य पदपूर्तिका लागि नेसपाले बनायो कार्यदल

आइतबार, २१ माघ २०८०, १७ : ४१
आइतबार, २१ माघ २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीले रिक्त केन्द्रीय समितिमा पदपूर्तिका लागि सहअध्यक्ष गंगा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार दिउँसो केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यदल गठन गरेको हो ।

कार्यदलमा उपाध्यक्ष हिसिला यमी, दुर्गा सोव, महासचिव रमेश यादव र ईश्वर रिजाल सदस्य रहेका छन् । कार्यदलले रिक्त २१ जना केन्द्रीय सदस्यको अद्यावधि गर्ने, जनवर्गीय सङ्गठनभित्र सक्रिय र निष्क्रिय सदस्यहरूको छानबिन गर्न कार्यादेश दिएको छ । बैठकले केन्द्रीय समितिले अनुमोदन गरेका संशोधित मस्यौदा पारित गरेको महासचिव यादवले जानकारी दिए ।

‘केन्द्रीय समितिमा रिक्त रहेको २१ जना सदस्य छनोटका लागि पाँच सदस्यीय कार्यदल बनेको छ । यसले जनवर्गीय सङ्गठनमा रहेका सक्रिय/निष्क्रिय सदस्यहरू छानविन गर्नेछ’, उनले भने ।

महाधिवेशनको म्याद एकवर्ष थप्ने केन्द्रीय समिति बैठकको निर्णय अनुमोदन गरेको उनले बताए । यादवका अनुसार यीबाहेक विधानमा अन्य विषय यथावत् राखिएको छ । समावेशीसहित केन्द्रीय अद्यावधि गरेपछि निर्वाचन आयोगलाई जानकारी गराइने छ ।

जसपाबाट गत वर्ष असारमा विभाजन भई बनेको नेसपाले फागुनको पहिलो साता अधिवेशन गर्ने विधानमा उल्लेख गरेको थियो । तर विधानअनुसार निर्धारित समयमा अधिवेशन नहुने भएपछि केन्द्रीय समितिले विधान संशोधन गरेको थियो । माओवादीसँग एकताका लागि जेठसम्म महाधिवेशन स्थगित गर्ने समेत बैठकले निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप