शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

म्याराडोनाले ‘ह्याण्ड अफ गड’ गोल गरेको रंगशालामा आगामी विश्वकपको उद्घाटन खेल

सोमबार, २२ माघ २०८०, १० : ५१
सोमबार, २२ माघ २०८०

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप फुटबल अमेरिका, मेक्सिको र क्यानडा गरी तीनवटा राष्ट्रले आयोजना गर्दैछन् । फिफा विश्वकपको २३औँ संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म सञ्चालन हुनेछ ।

उक्त विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीको एज्टेका रंगशाला र फाइनल खेल न्यु जर्सीको मेटलाइफ रंगशालामा खेलाइने विश्व फुटबल महासंघ (फिफा) ले जनाएको छ । उक्त विश्वकपमा पहिलो पटक ४८ राष्ट्रको सहभागिता रहने छ ।

मेक्सिकोले यसअघि दुईपटक सन् १९७० र सन् १९८६ मा फिफा पुरुष विश्वकपको सफल आयोजना गरिसकेको छ । अमेरिकाले पनि यसअघि सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । क्यानडाले भने यसअघि फिफा फिफा विश्वकप आयोजना गरेको छैन ।

क्यानडाको भूमिमा विश्वकपको पहिलो खेल सन् २०२६ को जुन १२ तारिखमा खेलाइने छ । उक्त खेल टोरन्टोमा हुनेछ । अमेरिकामा पनि आगामी विश्वकपको पहिलो खेल लस एन्जल्सस्थित सो–फी रंगशालामा जुन १२ तारिखमै खेलाइने छ ।

WC

आगामी विश्वकपको उद्घाटन खेल खेलाइने मेक्सिको सिटीको एज्टेका रंगशालासँग एउटा ऐतिहासिक प्रसङ्ग पनि जोडिएको छ । ८३ हजार दर्शक क्षमताको यही रंगशालामा महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाले ‘ह्याण्ड अफ गड’ गोल गरेका थिए ।

सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा म्याराडोनाले उक्त चर्चित गोल गरेका थिए । उक्त खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलले हराएको थियो । त्यो खेलमा अर्जेन्टिनाका लागि दुवै गोल म्याराडोनाले नै गरेका थिए ।

आगामी विश्वकपको फाइनल खेल खेलाइने मेटलाइफ रंगशालामा पनि यसअघि विश्वकपको खेल खेलाइसकिएको छ । ८२ हजार पाँच सय दर्शक क्षमताको उक्त रंगशालामा सन् १९९४ को विश्वकप खेलाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप