बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकासँगको व्यापारमा नेपाललाई ७० करोड नाफा, के जान्छ, के आउँछ ?

बुधबार, २४ माघ २०८०, १२ : २५
बुधबार, २४ माघ २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०-८१ को ६ महिनाको अवधिमा अमेरिकासँगको व्यापारमा नेपालले ७० करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा नेपालले उक्त नाफा आर्जन गरेको हो ।

यस अवधिमा नेपालले अमेरिकातर्फ ८ अर्ब ३३ करोड ९९ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । यस्तै, अमेरिकाबाट नेपालतर्फ ७ अर्ब ६३ करोड ६३ लाख रुपैयाँको वस्तु आयात भएको छ । यो तथ्यांकअनुसार अमेरिकासँगको व्यापारमा नेपाल नाफामा देखिन्छ ।

अमेरिकाबाट नेपालमा पेय पदार्थ, ह्वीस्कि लगायतका वस्तु आउने गरेको छ । यस अवधिमा ५ करोड ३१ लाख रुपैयाँ बराबरीको अल्कोहलिक पदार्थको आयात भएको तथ्याङ्क छ । यस्तै, साढे १४ लाख रुपैयाँको भोड्का, १ करोड ८४ लाख रुपैयाँभन्दा बढीको अन्य अल्कोहलसहितको पेय पदार्थ समेत आयात भएको छ ।

२७ करोड ५१ लाख रुपैयाँभन्दा धेरैको जनावरको खान्कीकारुपमा औद्योगिक उत्पादनबाट निस्केका वस्तुको समेत आयात भएको तथ्याङ्कले देखाएको छ । यसबाहेक, ४९ करोड ५७ लाख रुपैयाँको भटमास पिना आयात हुँदा ५ करोड रुपैयाँ बराबरको जनावरको खान्की समेत आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, अमेरिकाबाट नेपालमा १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कोइला र ६ करोडभन्दा बढीको बिटुमिन कोइला समेत भित्रिएको तथ्याङ्क छ । यस्तै, इन्धनकारुपमा प्रयोग हुने तेल, लुब्रिक्यान्ट तेल, मेडिकल ग्रेडको अक्सिजन, भेटेनरी भ्याक्सिन, औषधीजन्य वस्तु लगायतको वस्तु समेत आयात भएको तथ्याङ्क छ ।

यसैगरी, नेपालबाट डेरी प्रडक्ट, महँ, प्रशोधित फूल लगायतका वस्तुको निर्यात हुने गर्छ । यस्तै, ड्राइ भेजिटेबल, कफी लगायतका वस्तु समेत निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ । यसबाहेक, १ करोडको ग्रिन टी, ५१ लाखको चिया, डेढ करोड रुपैयाँभन्दा बढीको मसला समेत निर्यात भएको छ ।

यस्तै, १ करोडको मैदा निर्यात हुँदा ७२ लाखको यार्सागुम्बा समेत निर्यात भएको छ । ७ करोडभन्दा बढीको पास्ता, ६ करोडभन्दा बढीको तयारी खाना र १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको छुर्पी समेत अमेरिका निर्यात भएको छ । यसबाहेक अगरबत्ती, जडिबुटी, ह्याण्डब्याग लगायत वस्तु निर्यात हुँदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप