सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन

बिहीबार, १० फागुन २०८०, १३ : ४९
बिहीबार, १० फागुन २०८०

चितवन । भरतपुर वडा नम्बर १७ मा एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुवै थरीका बोरिङको उद्घाटन गरेकी हुन् ।

भरतपुर महानगरपालिकामा भूमिगत सिँचाइ कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले सिँचाइको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको उल्लेख गरिन् ।

भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाइले कृषकको मुहारमा खुसी आएको महसुस गरेको प्रमुख दाहालको भनाई थियो । ‘पहिलाको सुख्खाग्रस्त ठाउँमा हराभरा भएका छन्,’ उनले भनिन्, ‘एक बाली हुने ठाउँमा ४ बाली हुन थालेको छ । अहिले कृषकहरू खुसी भएको पाएका छु । १२ महिना भरत पुरलाई सिञ्चित गर्ने गरी महानगरले काम पनि गरिरहेको छ।’

भरतपुरमा भूमिगत सिँचाइ, नारायणी लिफ्ट सिँचाइ र केरुङगा घोल सिँचाई परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा १२ महिना प्रशस्त सिँचाई गर्न सकिने प्रमुख दाहालले जानकारी दिइन् । पश्चिम चितवनका सिँचाइको अभावमा पहिला बाझा रहने खेतहरू अहिले सिँचाइका कारण धान, मकै, गहुँबाहेक तोरी, तरकारी र अन्य बेमौसमी खेतीहरू उत्पादन हुने क्रम सुरु भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै भूमिगत सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाइका कारण भरतपुरको उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएको जानकारी दिए । सिँचाइको उपभोग गरी वार्षिक ६ लाख रुपैयाँको मकै बिक्री गरेर मनग्य आम्दानी गर्ने पश्चिम चितवनका कृषकले रिर्पोटिङ गरेको सो अवसरमा प्रमुख स्याङ्बोले बताए ।  

भरतपुरमा प्राकृतिक रूपमा मात्र सिँचाई गरी बाली लगाउने अवस्थाको भने अन्त्य भएको उनको तर्क थियो । भरतपुर १७ का कृषक सन्त चौधरीले धान, मकै, गहुँ उत्पादन हुँदै आएको खेतीमा अब भने तरकारी खेती पनि हुने भएकाले उत्साहित भएको बताए ।

भरतपुरमा भएका ट्युबवेलले कुल ६१२० बिघा क्षेत्रफलमा सिँचाइका सुविधा प्राप्त गरेका छन् । यो बाहेक नारायणी लिफ्ट सिँचाई आयोजना र केरुङ्गा जल सिँचाई आयोजनामार्फत भरतपुरका कृषकले सिँचाई सुविधा लिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप