सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्जबाट दिल्ली र लखनउका लागि बससेवा सुरु

बिहीबार, १० फागुन २०८०, २० : ५२
बिहीबार, १० फागुन २०८०

राँझा । नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्ली र उत्तरप्रदेश प्रान्तको राजधानी लखनउका लागि मैत्री बससेवा सुरु गरिएको छ ।  यसअघि, नेपालगञ्जबाट दिल्ली र लखनउसम्म नेपाल–भारत मैत्री बससेवा सञ्चालन गर्दै आइएको भेरी यातायात प्रालिसँग सहकार्य गरेर उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोण्डाले आजदेखि बस सेवा सञ्चालन गरेको हो । 

आज नेपालगञ्ज बसपार्कमा एक समारोहकाबीच लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री र उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोण्डाका क्षेत्रीय प्रबन्धक अङ्कुर विकासले बस सेवाको शुभारम्भ गरे । प्रदेशसभा सदस्य खत्रीले नेपाली बस मात्रै दिल्ली र लखनउ सञ्चालन हुँदै आएकामा अव भारतको उत्तर प्रदेश सरकारले समेत नेपालीलाई सेवा सहजताका लागि मैत्री बस सञ्चालन गर्नु खुसीको कुरा भएको बताए । 

उत्तर प्रदेश परिवहनका क्षेत्रीय प्रबन्धक विकासले सीमा क्षेत्रमा नेपाली यात्रुले पाउँदै आएको सास्तीलाई मध्यनजर गर्दै नेपालगञ्जबाटै सहज र सुलभ दरमा बस सेवा सञ्चालन गरिएको बताए । भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले भारतीय पक्षले भारतबाट बस सञ्चालन गरेपछि अब नेपाल–भारत मैत्री बस सेवाले सार्थकता पाएको बताए ।

उनले आफुहरुले हाल नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि सुविधा सम्पन्न बस सञ्चालन गरेर यात्रुलाई सुविधा प्रदान गर्दै आएको दाबी गरे ।  उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोन्डाले नेपालगञ्जबाट हाल लखनउ र दिल्लीका लागि दुईवटा बस सञ्चालन गर्ने सहमति भएको भेरी यातायात प्रालिका प्रबन्धक प्रमोद धितालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप