शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बारम्बार ऐश्वर्या रायको नाम लिएपछि प्रश्नको घेरामा कंग्रेस नेता राहुल गान्धी

शुक्रबार, ११ फागुन २०८०, १५ : १३
शुक्रबार, ११ फागुन २०८०

नयाँ दिल्ली । कांग्रेसका पूर्व अध्यक्ष तथा लोकसभा सांसद राहुल गान्धी आजभोलि भारत जोडो न्याय यात्रामा व्यस्त छन् । यस यात्राका क्रममा राहुल गान्धीले आरक्षण, बेरोजगारी र उद्योगपतिसँगको सम्बन्धलाई लिएर मोदी सरकारलाई निशाना बनाइरहेका छन् । हालै एउटा विज्ञप्तिमा राहुलले ओबीसी समुदाय र गरिबबारे उल्लेख गरेका थिए ।

यसैबिच राहुल २०२४ को जनवरी २२ मा अयोध्यामा भएको श्री राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमबारे दिएको अभिव्यक्तिका कारण चर्चामा आएका छन् । श्री राम मन्दिरको कार्यक्रममा तपाईँहरूले कोही गरिब, पिछडिएको, दलित वा आदिवासीलाई देख्नु भएन होला तर अमिताभ बच्चन, ऐश्वर्या राय र गौतम अडानी लगायतका बलिउड स्टार र धनाढ्य उद्योगपतिहरू देख्नु भयो होला भनेर यात्राका क्रममा राहुलले कयौँ पटक भनेका थिए । रोचक कुरा चाहिँ के थियो भने राम मन्दिरको प्राण प्रतिष्ठामा ऐश्वर्या राय र गौतम अडानी दुबै गएका थिएनन् । राहुलको यो बयानप्रति केन्द्रीय मन्त्री स्मृति इरानी र गायिका सोना महापात्राले आपत्ति जनाएका छन् । 

राहुल गान्धीले ऐश्वर्या रायको बारेमा कहिले भने ?

फेब्रुअरी १२ मा राहुल गान्धीले छत्तीसगढको कोरबामा भनेका थिए, ‘तपाईले राम मन्दिरको उद्घाटन त देख्नु भयो होला । के तपाईले त्यसमा कोही गरिब मान्छे देख्नुभयो ? मैले त अमिताभ बच्चनलाई देखेँ । ऐश्वर्या राय देखिन् । अडानी पनि देखिए । अम्बानीलाई देखे । सबैका सबै व्यवसायीहरू थिए । मैले त एक जना पनि गरिब देखिन । मैले त्यहाँ एक जना किसान, मजदुर, बेरोजगार, चिया बेच्ने वा सानो पसले देखिन । सबैका सबै अर्बपतिहरु देखिन्थे ।’

यसपछि पनि राहुल गान्धीले यात्राका क्रममा कयौँ पटक सञ्चार माध्यमहरूले आफ्नो कुरा नदेखाउने, २४ सै घण्टा नरेन्द्र मोदीजी देखिने बताए । यति बेला पनि उनले ऐश्वर्याको नाम लिएका थिए । ‘ऐश्वर्या राय देखिनेछिन् । मोदीजीको छेउछाउमा अमिताभ बच्चन घुमिरहेका देखिनेछन् ।’ अझ अगाडि उनले भनेका थिए । यात्राको बेलामा एक पटक राहुलले पनि भनेका थिए, ‘भारतीय सञ्चार माध्यममा गरिबलाई न देखाउनू । देखाउनै पर्छ भने ऐश्वर्या राईलाई नाच्दै गरेको देखाउनु पर्छ ।’

यात्राको क्रममा राहुल गान्धीले एक युवकलाई बोलाएर माइक समाउन दिन्छन् । अनि फेरि भन्छन्, ‘तिमीले अर्काको बगली कसरी मार्ने जान्नु छ । उ यता हेर पाकिस्तान । उता हेर चीन । उ हेर ऐश्वर्या राय । यसरी यताउताको कुराहरु देखाएर तपाईहरुको बगली मार्ने काम भइरहेको छ ।’ राहुल गान्धीका यस्तो टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रियाहरू आइरहेका छन् ।

के भन्छन् स्मृति इरानी र सोना महापात्रा ?

स्मृति इरानी अमेठीकी सांसद हुन् । २०१९ को लोकसभा चुनावमा इरानीले यस सिटबाट राहुल गान्धीलाई पराजित गरेकी थिइन् । राहुल गान्धीले ऐश्वर्याबारे दिएको बयानको विषयमा स्मृति इरानीले एक निजी च्यानलसँग कुराकानी गरेकी थिइन् । यसक्रममा स्मृति इरानीले भनिन्, ‘यो निकै घटिया हो । मैले आजसम्म राहुल गान्धीको लागि यो शब्द प्रयोग गरेकी छैन । जसले आफ्नो बुबाको साथीको बुहारीलाई त छाड्दैन भने त्यस्तो व्यक्तिबाट के आश गर्नु । राहुल गान्धीबारे म घटिया मात्रै भन्छु । तैपनि उनले माफी त माग्नेवाला छैनन् ।’ यस विषयमा सोनिया गान्धी र प्रियंका गान्धीले समेत राहुललाई केही नभनेको भन्दै स्मृति इरानी छक्क परेकी छिन् ।

330415a0-d13d-11ee-b091-6bb6678d7bcf

‘जो व्यक्तिले आफ्नो परिवारका निकट रहेका व्यक्तिलाई समेत सम्मान गर्दैन भने उसले देशमा अरु कसैको दिदीबहिनी वा छोरीप्रति के सम्मान देखाउला ? यदि सोनिया गान्धीले मैले बोलेको सुनिरहेकी छिन् भने म यही च्यानल मार्फत उनलाई भन्न चाहन्छु कि यो निकै घटिया कुरा हो ।’

राहुलको भनाइमा गायिका सोना महापात्राले पनि टिप्पणी गरेकी छिन् । सोनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘केही राजनीतिज्ञहरूले फाइदा उठाउन आफ्नो भाषणमा महिलालाई अपमान गरिरहेका छन् । प्रिय राहुल गान्धी, पक्कै पनि अतितमा कसैले तपाईको आमा र बहिनीलाई यसैगरी अपमानित गरेको हुनुपर्छ । तपाईलाई राम्रोसँग थाहा हुनुपर्ने हो । अनि हो, ऐश्वर्या राय निकै राम्रोसँग नाच्छिन् ।’

आफ्नो सोसल मिडिया ह्यान्डलबाट कनौटक बीजेपीले पनि ऐश्वर्या रायबारे दिएको बयान मामिलामा राहुल गान्धीको निन्दा गरेका थिए । ऐश्वर्या रायले सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेकी थिइन् । उनले कयौँ हलिउड फिल्ममा पनि अभिनय गरेकी छिन् । विदेशमा भारतको नाम चम्काउने ऐश्वर्याको अपमान राहुल गान्धीले कसरी गर्न सक्छन् भन्दै नेटिजनसले पनि आपत्ति जनाइरहेका छन् ।

बच्चन परिवारको गान्धी परिवारसँग निकटता

गान्धी परिवार र बच्चन परिवारको सम्बन्ध निकै पुरानो छ । तर, पछिल्ला केही वर्षयता यी सम्बन्धमा दुरी देखिन थालेको छ । इन्दिरा गान्धी र तेजी बच्चन त्यतिबेलादेखि साथी थिए जब इन्दिराको बिहे पनि भएको थिएन । त्यसपछि दुवै परिवारका बच्चाहरूबिच गहिरो मित्रता कायम रह्यो । उनीहरू फरक फरक विद्यालयमा पढे पनि छुट्टीहरू सँगै बिताउने गर्थे । राजीव गान्धीसँग बिहे नभएको बेलामा इटालीबाट फर्केपछि सोनिया केही दिन बच्चन परिवारसँग बसेकी थिएन । सोनिया गान्धीको विवाहको धेरै संस्कारमा बच्चन परिवारमै पूरा गरिएको थियो । इन्दिरा गान्धीको आदेशमा सोनियालाई भारतीय जीवनशैलीसँग परिचित गराउने व्यक्ति तेजी बच्चन थिइन् ।

राजीव गान्धीको विवाह भएको बेलामा इन्दिरा गान्धी सफदरजंग रोडमा रहेको एउटा घरमा बस्न आएकी थिइन् । बच्चन परिवारको घर नजिकै १३, विलिंग्डन क्रिसेन्टमा थियो । विवाहका केही रीतिरिवाजहरू बच्चन निवासमा सम्पन्न गरिएको थियो । दुई परिवारबीचको मित्रता यस्तो थियो कि ‘कुली’ फिल्मको सुटिङको बेलामा घाइते भएर अमिताभ ब्रीच क्यान्डी अस्पतालमा पुगे । उनलाई भेट्न राजीव गान्धी अमेरिकादेखि आएका थिए । इन्दिरा गान्धी पनि दिल्लीबाट त्यहाँ पुगेकी थिइन् । इन्दिरा गान्धीको अन्त्येष्टिमा अमिताभ बच्चन राजीव गान्धीको एकदमै नजिक उभिरहेका थिए । इन्दिरा गान्धीको मृत्यु पछि अमिताभ बच्चनले राजीव गान्धीको आदेशमा इलाहाबादबाट चुनाव लडे र हेमवती नन्दन बहुगुणा जस्ता दिग्गज नेतालाई पराजित समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप