मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री जम्कट्टेलको पुस्तक ‘क्रान्तिकारी मजदुर आन्दोलन’ को विमोचन

शुक्रबार, ११ फागुन २०८०, १६ : ०२
शुक्रबार, ११ फागुन २०८०

हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा लिखत क्रान्तिकारी मजदुर आन्दोलनको विमोचन गरिएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तकको विमोचन गरेका हुन् । 

२३ औं मजदुर बलिदान दिवसको अवसर पारेर मुख्यमन्त्री जम्कट्टेलले पुस्तकको विमोचन गरेका हुन् । मजदुर आन्दोलनमा लामो समय सङ्घर्ष गरेका उनले आफ्ना अनुभव र मजदुरका समस्याहरूलाई पुस्तकमा समावेश गरेका छन् । जनयुद्धमा मजदुर आन्दोलनले खेलेको भूमिका, व्यवस्था परिवर्तन र मजदुरका अवस्थाका संगालोलाई पुस्तकमा समावेश गरिएको उनले बताए ।

व्यवस्था परिवर्तन अघि र हाल मजदुरहरूको अवस्थाका निकै परिवर्तन आएको उनको भनाई छ । पुस्तकमा माओवादी केन्द्रको विचार सिद्धान्तलाई माथि उठाउन मजदुरहरूले खेलेको भूमिकाबारे चर्चा गरिएको उनले बताए ।

मजदुर आन्दोलनलाई वर्ग संघर्षसँग जोड्ने आँखीझ्यालको रूपमा रहेको उनको भनाई छ । पेशागत आन्दोलनलाई राजनीतिक आन्दोलनसँग जोड्न र राजनीतिक आन्दोलनले श्रमिकहरूको पेसागत माग पूरा गर्न दबाब सिर्जना गर्न अखिल नेपाल ट्रेड युनियन महासंघ स्थापना गरेर अघि बढ्दा जनयुद्धको बलमा मजदुरहरूको धेरै माग पूरा गराउन सफल भएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

जनयुद्धको जगमा नेपाली क्रान्तिकारी मजदुर वर्गले सामाजिक सुरक्षाको अधिकारलगायत अन्य थुप्रै अधिकार प्राप्त भएको उनले बताए । राजनीतिक फेरबदलसँगै संघर्षको कार्यदिशा र संघर्षको स्वरूप बदलिने गरेको उनको भनाई छ ।

पुस्तकमा जनयुद्ध र शान्ति प्रक्रियापछिका विभिन्न समयमा घटित राजनीतिक घटनाक्रम, वर्गसंघर्ष, अन्तरसंघर्ष र मजदुरवर्गका पेसागत सवालसँग जोडिएका लेख, रचना, प्रतिवेदन, अन्तर्वार्ता तथा वक्तव्यहरूको समेटिएको उनले बताए । पुस्तकमा समेटिएका लेख–रचनाहरू राजनीतिक परिवेश अनुसार लेखिएको उनले बताए ।

‘तत्कालीन परिवेशलाई पुस्तकमा समेटिएका छन् । पुस्तकका लेखलाई तत्कालीन परिवेशबाट नै बुझ्नुपर्ने हुन्छ । पुस्तकको मूल उद्देश्य अखिल नेपाल ट्रेड युनियन महासंघको इतिहासलाई संस्थागत गर्नु हो’ उनले भने ।

अखिल नेपाल ट्रेड युनियन महासंघमा २०४९ मा आबद्ध भएका मुख्यमन्त्री जम्कट्टेल तत्कालीन समयमा ललितपुरको महालक्ष्मी स्थान तीखेदेवलमा रहेको काभ्रे आइरन इण्ड्रस्टीको एकाइ समितिबाट संगठित भएका थिए । उनी मजदुर संगठन ललितपुरको अध्यक्ष, अखिल नेपाल औद्योगिक मजदुर संघको केन्द्रीय अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय कोषाध्यक्ष र २०६० असारबाट २०७४ माघसम्म अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षको जिम्मेवारीमा रहेर काम गरे ।

२०६८ मा पार्टीभित्रको अन्तर्संघर्षको कारणले उनलाई अध्यक्षबाट हटाएर करिब ८ महिना स्वर्गीय पोस्टबहादुर बोगटीलाई संयोजक बनाइयो । सो अवधिबाहेक उनले निरन्तर महासंघको नेतृत्वमा रहेर काम गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप