बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सम्झनामा रम्तेल

जनयुद्धका प्रथम सहिद दिलबहादुरका बुबाआमाको के के छन् सरकारसँग माग ?

सोमबार, १४ फागुन २०८०, १५ : ५४
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । माओवादीले १० वर्षे जनयुद्धका पहिलो सहिदका रुपमा दिलबहादुर रम्तेलको नाम लिने गरेको छ । २०५२ साल फागुन १४ गते गोरखामा सुरक्षाकर्मीको गोली लागेर रम्तेलको मृत्यु भएको थियो ।

दिलबहादुर रम्तेलको स्मरणमा माओवादीले बर्सेनि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । तर उनै सहिद रम्तेलका बुबाआमा भने छोराको स्मृतिमा गोरखामै निर्माण गर्न लागिएको पार्कको बाँकी काम चाँडै सम्पन्न होस् भन्ने चाहन्छन् ।

दिलबहादुरका बुबा सेते रम्तेल अहिले ७७ वर्षका भए भने आमा सरीमाया रम्तेल ७० वर्षकी भइन् ।

उनीहरू छोरीसँग बारपाक सुलिकोट गाउँपालिकास्थित जाराङमा बस्दै आएका छन् । उनीहरुका जेठा छोरा छेपेटारमा र माहिला छोरा चितवनमा छन् ।

२९ वर्षअघि बालख छोरा गुमाएको भन्दै दिलबहादुरकी आमा सरीमायाले अहिलेसम्म पनि सो घटनाले पीडा दिइरहेको बताइन् ।

उनले सहिद परिवारले पाउने रकमबाहेक अन्य कुनै सेवासुविधा आफूहरुले अहिलेसम्म नलिएको जिकिरसमेत गरिन् । निर्माणाधीन पार्क, भवन निर्माण र पिच बाटो सरकारले बनाइदिए आफूहरुका लागि त्यो नै ठुलो सम्मान हुने उनको भनाइ छ ।

‘बाटो बनेको छैन । बजेट अभावका कारण सहिद स्मृति भवनको धुरीमात्र उभ्याइराखेको छ । पार्क पनि निर्माण भइसकेको छैन । गाउँपालिका अध्यक्षले गर्दैछौँ भन्नुहुन्छ । गर्दै होलान्’, विश्वास व्यक्त गर्दै उनले भनिन् ।

सहिद स्मृति भवन निर्माणका लागि १५ लाख छुट्याइए पनि बजेट अभावका कारण पूरा नभएको सरीमायाको दुखेसो छ ।

जग्गा जमिनका नाममा एक हलको बारी रहेको र त्यसैले जिनतिन निर्वाह गरिरहेको उनले जानकारी दिइन् । त्यही पनि जङ्गलको माझमा परेकाले दुम्सी र मृगले केही नराख्ने गरेको उनले बताइन् । 

यस्तै बुबा सेते रम्तेलले पनि आफू जिउँदो छँदै सरकारले स्मृति भवन, सहिद पार्क निर्माण र घरसम्म बाटो पिच गरिदिने आशा राखेका छन् ।

पार्टीले आफूलाई जिनतिन भरथेग गरेको भन्दै उनले बुढेसकालमा आफूलाई सरकारले हेरिदिए हुन्थ्यो भन्ने अपेक्षा व्यक्त गरे ।

छोराको २९ औँ स्मृति दिवसको अवसरमा रातोपाटीसँग कुराकानी गर्दै दिलबहादुरका आमाबुबाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको घरसम्म बाटो पिच गरिदिने प्रतिबद्धता जनाएको पनि स्मरण गरे ।

‘बालख छोरा गुम्यो । हामी ढल्ने बेला भइहाल्यो । त्यति स्मृति पार्क, सहिद भवन र घरसम्मको बाटो पिच भइदिए शान्ति मिल्थ्यो,’ उनीहरु भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप