शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

माओवादीले चैत–वैशाखमा कहाँ कहाँ गर्दै छ अभियान ?

मङ्गलबार, १५ फागुन २०८०, १७ : ३३
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले आगामी चैत र वैशाखमा हुने अभियानको खाका तयार गरेको छ । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले चैत र वैशाखमा दुई चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । 

सोहीअनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अभियानको खाका तयार गरेको हो । पहिलो चरणको अभियान अन्तर्गत चैत १ देखि १५ गते तराई मधेस जागरण अभियान सञ्चालन हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार दोस्रो चरणमा हिमाल, पहाड र तराइ राष्ट्रिय एकता अभियान वैशाख १ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । 

यसअघिको विशेष रूपान्तरण अभियान, संगठन सुदृढीकरण र पार्टी रूपान्तरणका लागि कार्यकर्तामा केन्द्रित रहे पनि आगामी अभियान जनतामा केन्द्रित रहने सापकोटाको भनाइ छ । 

‘नयाँ जिम्मेवारी र अभियानका साथ आगामी चैत र वैशाखमा तराई मधेस जागरण अभियान र हिमाल, पहाड र तराइ एकता अभियान सञ्चालन गर्दैछौ । यसअघि पार्टी रूपान्तरण र संगठन सुदृढीकरणका लागि कार्यकर्तामा केन्द्रित भएका थियो । अबको अभियान जनता केन्द्रित रहनेछ । यसले पार्टीलाई थप बलियो बनाउने हामीले विश्वास लिएका छौँ’, उनले भने । 

अभियानको समग्र विषय र कहाँ कति जना सहभागी हुने तथा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा बुधवार बस्ने बैठकले ठोस निर्णय गर्ने उनले बताए । 

पार्टीले तयार गरेको खाका अनुसार पहिलो चरणको जागरण अभियान चैत १ गते पूर्वमा झापाको चन्द्रगढीबाट सुरु भएर १५ गते सुदूरपश्चिमको महेन्द्र नगरमा गएर टुङ्गिने छ । 

यस्तै दोस्रो चरणको उत्तर–दक्षिण एकता अभियानको रुट मोटामोटी तय भए पनि कताबाट सुरु गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन । 

तराई मधेस जागरण अभियानको रुट खाका (चैत्र १ – १५)

यो १५ दिने अभियान चन्द्रगढी हुँदै विराटनगर, इनरुवा,  राजविराज, सिराहा, जनकपुर, जलेश्वर, मलङ्गवा, गौर, कलैया, वीरगन्ज, सिमरा, हेटौडा, भरतपुर, कावासोती, सुस्ता, परासी, भैरहवा, तौलिहवा कृष्ण नगर, गढवा, लमही, कुसुम, फत्तेपुर, गुलरिया, राजापुर,  टिकापुर, धनगढी र महेन्द्रनगर पुगेर समापन हुनेछ । 

हिमाल पहाड तराई राष्ट्रिय एकता अभियानको रुट खाका (वैशाख १–१५)

यसैगरी माओवादीले हिमाल, पहाड, तराइ एकता अभियान सञ्चालन गर्ने रुट पनि टुंगो लगाएको छ । जसअनुसार दार्चुला–अत्तरिया अन्तर्गत दार्चुला, गोकुलेश्वर, पाटन, अमरगढी र अत्तरिया रहेको छ ।

यस्तै गमगढी–कोहलपुर अन्तर्गत गमगढी, सिञ्जा, नारमा, मान्म, राकम, सुर्खेत, छिन्चु र कोहलपुरमा अभियान हुनेछ । पुनै–तुलसीपुर अन्तर्गत दुनै, त्रिवेणी, राडी, नलगाड, चौरजहारी, बागचौर, सितलपाटी, कपुरकोट र  तुलसीपुर रहेको माओवादीले तयार गरेको खाकामा उल्लेख छ । 

यस्तै रुकुमकोट– घोराही अन्तर्गत तकसेरा, काक्री, रुकुमकोट, थवाङ, पुतलाचौर, घर्तीगाउँ, होलेरी र  घोराहीसम्म अभियान सञ्चालन हुनेछ भने जोमसोम–कावासोती अन्तर्गत जोमसोम, लेते, तातोपानी, बेनी, बागलुङ, कुश्मा, पुर्तीघाट र  रामपुरमा सञ्चालन हुनेछ ।  

त्यस्तै मनाङ–पोखरा अन्तर्गत चामे, धारापानी, वेशिसहर, पालुङटार, डुम्रे र पोखरामा अभियान सञ्चालन हुनेछ । रसुवागढी– चितवन माडी अन्तर्गत रसुवागढी, स्याफ्रुवेशी, धुन्चे, कालिकास्थान, त्रिशूली, गल्छी, गजुरी, मुग्लिङ, राजनगर र माडी रुट तय भएको माओवादीको भनाइ छ।   

यसबाहेक तातोपानी(सिन्धुपाल्चोक)– बर्दिवास अन्तरगत तातोपानी, बाह्रबिसे, दोलालघाट, धुलिखेल, भकुण्डेबेसी, नेपालथोक, खुर्कोट, सिन्धुलीगढी, सिन्धुलीमाडी र बर्दिबासमा अभियान सञ्चालन हुनेछ । 

सोलु–मिर्चैया अन्तर्गत भने सल्लेरी, ओखलढुंगा, मानेभज्याङ, घुर्मी, कटारी र मिर्चैयामा अभियान सञ्चालन हुनेछ ।  यस्तै संखुवासभा–इटहरी अन्तर्गत नुमबजार, खाँदवारी, चैनपुर, धनकुटा, धरान र इटहरीमा अभियान सञ्चालन हुने माओवादीको खाकामा उल्लेख छ । 

यस्तै फुङ्लिङ– बिर्तामोड झापा अन्तर्गत फुङलिङ, कावेलीवजार, गोपेटार, फिदिम इलाम, कन्यम र बिर्तामोडमा अभियान सञ्चालन हुनेछ । तर, यो रुटमा सुरुमा कहाँबाट कहाँबाट अभियान थाल्ने भन्नेबारे भने बैठकले निर्णय गर्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप