आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

खगराज भट्ट भन्छन्– षड्यन्त्रमूलक ढंगबाट मलाई जिम्मेवारीबाट हटाइयो

बुधबार, १६ फागुन २०८०, २२ : ३०
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । सुदूरपश्चिम माओवादी केन्द्र संसदीय दलका नेता र पार्टी जिम्मेवारीबाट हटाइएका नेता खगराज भट्टले सुदूरपश्चिमको पार्टी र आफ्नो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । षड्यन्त्रपूर्वक गरिएको निर्णय आफूलाई मान्य नहुने उनले बताएका हुन् ।

बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले इन्चार्जको समेत जिम्मेवारी नदिएपछि उनी आक्रोशित भएका हुन् । उनले आफूलाई सुदूरपश्चिमका नेताहरूबाट नभई केन्द्रका नेताहरूको डिजायनमा जिम्मेवारी विहीन बनाइएको आरोप लगाए । रातोपाटीसँग कुराकानीमा उनले ती नेताहरूको नाम खुलाउन चाहेनन् ।

मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात प्रदेशको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारीसम्बन्धी प्रस्ताव ल्याएका थिए । प्रस्तावप्रति असहमति जनाउँदै भट्ट बैठकबाट बाहिरिएका थिए । त्यही प्रस्तावलाई बुधबार बसेको बैठकले अनुमोदन गरेको थियो । कार्यविभाजनसम्बन्धी निर्णयमा असहमति राख्दै उपमहासचिव जनार्दन शर्माले निर्णयप्रति फरक मत पेस गरेका छन् ।

प्रस्तुत छ भट्टसँग गरिएको कुराकानीको सम्पादित अंश:

अलिकति आलोचनात्मक चेत राख्ने मान्छेहरू नेतालाई मन पर्दैनन् । अलिकति हामी आफ्नो विवेकले पनि चल्न खोज्छौँ । धरातलीय यथार्थलाई पनि आत्मसात् गरेर जानुपर्छ भनेर खोज्छौँ । कार्यकर्ता र जनताको प्रभावलाई केन्द्रमा राखेर सोच्छौँ । अहिलेको राजनीतिमा चाकडी, दलाली प्रवृत्ति र त्यसलाई नै बढी सकारात्मक बुझ्ने नेतृत्व मनोविज्ञान हामीसँग छैन ।

मलाई सिध्याउने डिजाइन सुदूरपश्चिमको होइन, सिधै माथिबाट भएको हो । मलाई सिध्याउन धेरै लागेका छन् । अहिले नै म मान्छे तोक्ने निष्कर्षमा पुगेको छैन ।

मुख्यकुरा खगराजलाई अन्याय भयो भन्ने कुरा सबैलाई थाहा छ । सुदूरपश्चिमका आम जनता र कार्यकर्ताको मनोविज्ञान के होला ? खगराजको भविष्य नभएको पार्टीमा अन्य नेता तथा कार्यकर्ताको भविष्य के होला ?

पार्टीले स्थापित गरेको विधि र मान्यता ठुला नेतालाई लागु नहुने, सानालाई मात्र हुने भन्ने नहोला । अब पार्टीमा के हुन्छ भन्न सकिन्न । एकातिर सांसदलाई जिम्मेवारी नदिने नीति बनाइयो तर बागमतीमा सांसदबाट नै बनाउने प्रस्ताव आयो । यस्ता धेरै कुरा छन् ।

तत्काल बैठक बसेर यसको हल हुनेवाला पनि छैन । तत्कालै निर्णय गर्नुपर्ने नेतालाई कुनै बाध्यता म देख्दिन । यसको जवाफ कार्यकर्ता र जनताको बिचमा बसेर दिइने कुरा हो ।

मलाई दलको नेताबाट डिजाइनमा हटाइसकेपछि मुख्यमन्त्री बनाउँछु भनेर दिएको आश्वासन, त्यो कुनै पनि विश्वसनीय, तथ्यपरक होइन । दलको नेता अर्कालाई बनाउने अनि मुख्यमन्त्री मलाई बनाउने कुरा हुँदैन । जसलाई दलको नेता बनाउँछ, मुख्यमन्त्री उही हुन्छ । षड्यन्त्रमूलक तरिकाबाट हटाइएको निर्णय मलाई मान्य छैन ।

माथिबाट नै पार्टी बनाउने सोच रहेन भने तलबाट जति मेहनत गरेपनि त्यसको परिणाम आउँदैन । निष्क्रिय बस्ने मेरो विशेषता नै होइन । पार्टी त्याग्ने सोचाइ अहिले छैन । सुदूरपश्चिमका आम कार्यकर्ता र जनताको राय लिएर उपयुक्त समयमा आफ्नो स्टेप चाल्छु । यो मेरो व्यक्तिगत विषय होइन, सिंगो सुदूरपश्चिम माओवादी आन्दोलनको जीवन्त भविष्यको विषय हो । सुदूरपश्चिमको भावना, चाहनाको विषय पनि हो । उहाँहरूको राय सुझावको आधारमा जे आउँछ म त्यही गर्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप