शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बेथिति

दुई वर्षअघि बन्द अन्नपूर्ण होटलमा कसको संरक्षणमा चल्दैछ क्यासिनो ?

बन्द गर्न महान्यायाधिवक्ता कार्यालय तगारो
बिहीबार, १७ फागुन २०८०, २० : ००
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । काठमाडौँको दरबारमार्गमा सञ्चालित पाँचतारे होटल ‘होटल डेला अन्नपूर्ण’ दुई वर्ष यता बन्द छ । तर होटल परिसरमा एटलान्टिक रिक्रियसन प्रा.लि को नाममा दर्ता भएको ‘क्यासिनो प्यालेस’ मज्जाले चलिरहेको छ, जहाँ ‘अनलाइन जुवा’ खेलाइन्छ ।

गत माघ १८ गते मध्यरातमा क्यासिनोमा छापा मार्दा क्यासिनोका निर्देशक ऋषभ पावा, मार्केटिङ निर्देशक गुलाब सिंह र केज मेनेजर गौरव चोपडाले अवैध जुवा खेलाइरहेको भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो ।  उनीहरू भारतीय नागरिक हुन् ।

उनीहरूमाथि राष्ट्र बैंक ऐन र अनलाइन जुवा सम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको छ । ललितपुरस्थित  ऋषभ बस्दै आएको हाउजिङ र क्यासिनो प्यालेसको अण्डर ग्राउण्डबाट प्रहरीले ठुलो परिमाणमा अमेरिकी डलर सहित १३ देशको मुद्रा पनि बरामद गरेको छ । १ करोड ८ लाख ९ हजार ४४५ रुपैयाँ विदेशी मुद्रा र नेपाली नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए । ५६ हजार ३२२ अमेरिकी डलर नै बरामद गरिएको छ ।

क्यासिनो प्यालेसका मुख्य सञ्चालक भने जनकपुरका विनय शाह हुन् । बौद्ध स्थित ह्यात रिजेन्सीको क्यासिनो ‘प्राइड इन्टरटेनमेन्ट प्रा.लि’ पनि उनैले सञ्चालन गरिरहेका छन् । अनुमति विपरित अनलाइन जुवा खेलाए पनि प्रशासनले ‘माया’ गरेर क्यासिनो प्यालेस चलाउन दिइरहेको छ ।

क्यासिनो नियमावली–२०७० अनुसार क्यासिनोलाई आवश्यक पूर्वाधारको सुविधा होटलले दिनुपर्छ । पार्किङ, स्विमिङ, रेस्टुराँ र फिटेनश क्लबसहित ८ प्रकारका सुविधा अनिवार्य हुन्छ । त्यस्ता सुविधा दिने गरी क्यासिनोले होटलसँग सम्झौता गर्नुपर्छ । क्यासिनोलाई नियमन गर्ने पर्यटन विभागका अनुसार अन्नपूर्ण होटल र क्यासिनो प्यालेस बिच त्यस्ता सुविधा उपलब्ध गराउनेबारे भएको सम्झौताको अवधि २०८९ सम्म छ । त्यसमाथि होटल बन्द भएपछि ती सुविधा अहिले उपलब्ध छैनन् । 

यही समस्याका कारण क्यासिनो प्यालेसको नवीकरण यस वर्ष गरिएन । विभागका महानिर्देशक चक्र बहादुर बुढाले रातोपाटीसँग भने–‘होटल सञ्चालन नहुँदा क्यासिनो संचालनबारे थप के गर्ने भन्ने छलफलमै छौँ ।’ 

हरेक पाँच वर्षमा होटल नवीकरण गर्ने प्रावधान छ, अन्नपूर्णको नवीकरण भने २०८२ जेठसम्मका लागि छ ।

होटलकी सञ्चालिका सिर्जना राण हुन् । होटल संघकी पूर्व अध्यक्ष राणाले सुरुमा मर्मत, सम्भार गर्न भनेर होटलको सेवा बन्द गरेकी थिइन् । अहिले  उनले होटलभित्र पानी चुहिने समस्याको समाधान नभएकाले लगानीकर्ता थपेर पुरै नयाँ संरचना बनाउन लागेको जानकारी गराएको पर्यटन विभागका एक अधिकृतले रातोपाटीलाई बताए । उसो त सेन्टङल मिडिया ग्रुप प्रा.लि., ह्याप्पी आवर प्रा. लि. र रक इन्टरनेशनल प्रा.लि. को पनि मापदण्ड पुगेको छैन । 

यी क्यासिनोले क्यासिनो नियमावली–२०७० आउनु पूर्व नै अनुमति लिएका थिए । ३ वटाको अनुमति लिएर १२ ठाउँमा क्यासिनो चलाउने गरी अदालतबाट अन्तरिम आदेश नै जारी भएको विभागका महानिर्देशक बुढाले रातोपाटीलाई बताए ।

‘अदालतमा विचाराधीन मुद्दाका कारण मापदण्ड नपुगेका क्यासिनोको नियमन पनि गर्न सकिएको छैन,’ उनले भने ।

  • बन्द गर्न राय माग्दा फाइल फिर्ता  

अन्नपूर्ण बन्द भए पनि क्यासिनो निर्बाध चलेकोबारे विभागमा उजुरी परेको छ । छानबिनको क्रममा क्यासिनोको नवीकरण रोकिएको छ । होटलले ‘सेवा मात्रै बन्द गरिएको’ जानकारी गराएपछि पर्यटन विभागले क्यासिनो सञ्चालनमा रोक लगाउनेबारे निर्णय लिन महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेकोमा राय नदिइ फाइल फिर्ता भएको छ ।

‘राय माग्ने प्रक्रिया पुगेन भनेर फाइल फिर्ता आएको छ,’ विभागका एक अधिकृत भन्छन् । क्यासिनो प्यालेस सँग २५ करोड चालु पुँजी छ । ४१५ जनाले रोजगारी पाएको भन्दै सञ्चालकले क्यासिनो बन्द नगर्न नियामक निकायसँग आग्रह गरेका छन् । 

  1. क्यासिनोका ३० लाइसेन्स 

नेपालमा साना र ठुला भनेर क्यासिनोलाई दुई प्रकारमा वर्गीकरण गरिएको छ । ठुला क्यासिनोले वार्षिक ५ करोड रोयल्टी तिनुर्पछ । नवीकरण शुल्क वार्षिक १ करोड २५ लाख रुपैयाँ तिर्नुपर्छ । ‘सानो’ भनेर वर्गीकरण गरिएका क्यासिनोले वार्षिक रोयल्टी रकम १ करोड ५० लाख र नवीकरण शुल्क ५० लाख रुपैयाँ राज्यलाई तिनुर्पछ । 

नेपालमा अहिले ३९ वटा क्यासिनो सञ्चालनमा छन् । तर लाइसेन्स भने ३० वटालाई मात्र दिइएको छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनको क्यासिनो र्‍याडको इजाजत रद्द भएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यति परिसरमा सञ्चालित क्यासिनो रोयल अहिले बन्द छ ।

सेन्ट्रल मिडिया ग्रुपले ४ वटा क्यासिनो सञ्चालन गरेको छ । ३० वटा लाइसेन्स लिएर देशभर ३९ वटा क्यासिनो सञ्चालित छन् । जुवा खेलाइने क्यासिनोमा नेपाली नागरिकले प्रवेश अनुमति पाउँदैनन् । नेपालीलाई प्रवेश गराएको पुष्टि भएमा लाइसेन्स रद्द हुने कानुनी व्यवस्था छ ।

सुरक्षा निकाय, पर्यटन विभाग र राजस्व अनुसन्धान विभागका अधिकारीहरू मात्र क्यासिनोमा प्रवेश गर्न पाउने व्यवस्था छ ।

  • इजाजत लिएका क्यासिनोहरुको विवरण : 
क्र.सं     कम्पनीको नाम    संचालित स्थान 
बेल्लिज नेपाल प्रा.लि मल्ल होटल, लैनचौर 
एटलान्टिक रिक्रियशन प्रा.लि  होटल डेला अन्नपूर्ण परिसर, दरबारमार्ग 
प्राइड इन्टरटेनमेन्ट प्रा.लि ह्यात रिजेन्सी, बौद्ध 
डेल्टइन नेपाल प्रा.लि होटल म्यारिट, नक्साल 
एसएचएल म्यानेजमेन्ट सर्भिसेज  प्रा.लि  होटल टाइगर वन परिसर, भैरहवा
        ’’ होटल सांग्रिला परिसर, लाजिम्पाट 
क्यासिनो रोयल  होटल याक एण्ड यति, दरबारमार्ग 
क्यासिनो र्याड होटल र्याडिसन, लाजिम्पाट
माजोङ इन्टरटेनमेन्ट प्रा.लि. सोल्टी होटल लिमिटेड परिसर, ताहाचल
१० ईम्पेरियल इन्टरटेनमेन्ट प्रा.लि होटल सोल्टी, नेपालगञ्ज 
११ भेगस रिक्रियशन नेपाल प्रा.लि होटल मेची क्राउन, झापा 
१२ ज्याकपोट ग्यामिङ्ग सेन्टर प्रा.लि. भ्यू होटल सिद्धार्थ, नेपालगञ्ज
१३ फोर क्वीन क्यासिनो इच्छा होटल, सिमरा
१४ सेन्ट्रल मिडिया ग्रुप प्रा.लि ओपेरा महेन्द्रनगर, होटल भिसुवा बीरगञ्ज, प्लाटिनम काठमाडौं, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट रुपन्देही 
१५ ह्याप्पी आवर प्रा.लि डायमण्ड प्यालेस महेन्द्रनगर, स्वीट ड्रिम नेपालगञ्ज, होटल लाकौल भैरहवा, होटल ढाका काँकडभिट्टा 
१६ रक इन्टरनेशनल प्रा.लि होटल साथी धनगढी, सुरज बीरगञ्ज, बोधी रेडसन भैरहवा र होटल रियाज काँकडभिट्टा 
१७ निर्भाना लक्जरी इन्टरटेनमेन्ट प्रा.लि. होटल निर्वाण सिद्धार्थनगर, भैरहवा
१८ बेजिल इन्टरटेनमेन्ट प्रा.लि होटल स्नेह प्रा.लि, नेपालगञ्ज
१९ भेन्यु रिक्रियसन प्रा.लि. होटल स्टारलाईट नीलदेवी प्रा.लि, नेपालगञ्ज 
२० क्यासिनो प्याराडाइज होटल नान्स परिसर, भैहरवा
२१ ओम क्रयम्बकम इन्टरटेनमेन्ट प्रा.लि कल्पतरु होटल एण्ड कौशिकी बैंकेट, नेपालगञ्ज 
२२ सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी प्रा.लि होटल सिटी प्यालेस, नेपालगञ्ज 
२३ वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रा.लि. होटल अलफ्ट, ठमेल
२४ गोल्डेन फिङ्गसर गेमिङ्ग जोन प्रा.लि. हिमाल वाटर पार्क एण्ड भिलेज होटल, बीरगञ्ज । 
२५ च्याम्पियन जोन प्रा.लि., बिराटनगर बिग होटल मोरङ्ग
२६ अपूर्व गेमिङ्ग जोन, रुपन्देही मौर्य होटल, रुपन्देही
२७ किङ्सबरी इन्टरटेनमेन्ट प्रा.लि. होटल द किङ्सबरी, बिर्तामोड
२८ दियालो गेमिङ्ग प्रा.लि. दियालो होटल, पर्सा 
२९ रत्ना सर्भिसेज प्रा.लि., बिराटनगर रत्ना होटल प्रा.लि, बिराटनगर 
३० ताज इन्टरटेनमेन्ट प्रा.लि, कास्की होटल माउण्ट कैलाश रिसोर्ट, पोखरा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप