आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीको ५ बुँदे सर्कुलर, सुदूरपश्चिममा दलको नेता परिवर्तन गर्दा गल्ती भएको ठहर

नेताहरूको कार्य विभाजन टुङ्गियो, को–कहाँ ?
बिहीबार, १७ फागुन २०८०, २२ : २४
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठकपछि मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको छ । सो पार्टीको फागुन १०, १३, १५ र १६ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटी बैठक बसेको थियो । 

बैठकको निर्णयअनुसार पार्टीले बिहीबार मातहतका कमिटीमा सर्कुलर पठाएको एक नेताले रातोपाटीलाई बताए । ती नेताका अनुसार  अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा सुदूरपश्चिममा पार्टीमा देखिएको समस्याबारे विशेष उल्लेख गरिएको छ । 

जसमा माओवादीले सुदूरपश्चिम प्रदेशसभा दलको नेता परिवर्तनको सन्दर्भमा सम्बन्धित तहको पार्टीको निर्णय विना प्रदेशसभा दलले गरेको दल नेता परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गरिएको छ ।  ‘सो निर्णयमा सहभागी कमरेडहरूलाई कडा आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ती नदोहो-याउनका लागि सचेत गराउने निर्णय गरियो’, माओवादीको सर्कुलरमा भनिएको छ । 

माओवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टलाई पार्टीकै एक समूहले पदबाट हटाएको थियो । सर्कुलरमा सचेत गराउने भनिए पनि सो गल्ती उल्ट्याउने निर्णय भने भएको छैन ।  गत माघ दोस्रो साता सुदूरपश्चिम संसदीय दलको नेता भट्टलाई हटाएर मानबहादुर धामीलाई बनाउने निर्णय भएपछि विवाद रहँदै आएको छ । यो विषयमा स्थायी कमिटी बैठकमा समेत छलफल भए पनि कारबाही भने कसैमाथि पनि नभएको हो ।

यस्तै बैठकले चार महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान मूलतः सफल भएको निष्कर्षसहित सबै प्रदेशमा खटिएका केन्द्रीय सदस्यहरूको सन्दर्भमा उत्कृष्ट काम गर्ने तीन जनाको नामावली हरेक प्रदेशबाट मागेको छ । यस्तै अभियानमा सहभागी नभएकाहरूको नामावली र उनीहरूको स्पष्टीकरण सहितको सिफारिस पनि प्रदेश इन्चार्जहरूले अविलम्ब केन्द्रीय कार्यालयमा पठाउनुपर्ने छ । 

यस्तै माओवादीले तराई–मधेस जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित)  चैत्र १५ गतेदेखि चैत्र मसान्तसम्म सञ्चालन गर्ने र २०८१ साल वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने जानकारीसहित सर्कुलर पठाएको छ ।  अभियानको नेतृत्व सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने र त्यसको व्यवस्थापन पनि सम्बन्धित प्रदेशहरूले गर्ने सर्कुलरमा उल्लेख छ । अभियानको रुट, नारा र कार्यक्रमिक रूपरेखाका बारेमा निर्देशिका जारी गरिने बताइएको छ । 

यस्तै बैठकबाट माओवादीले सङ्गठनात्मक कार्यबिभाजन पनि गर्ने निर्णय गरेको छ । जसअनुसार पूर्व १ नं प्रदेश (कोशी)  इन्चार्जमा केन्द्रीय उपमहासचिव हरिबोल गजुरेल, सह–इन्चार्ज केन्द्रीय सदस्य सावित्री कुमार काफ्ले चयन हुँदा मधेस प्रदेश इन्चार्जमा केन्द्रीय सचिव  लीलामणि पोख्रेल, सह–इन्चार्ज स्थायी समिति सदस्य विश्वनाथ शाह चयन भएका छन् । 

यसैगरी बागमती प्रदेश इन्चार्जमा केन्द्रीय उपाध्यक्ष  अग्नि सापकोटा, सह–इन्चार्ज स्थायी समिति सदस्य शशी श्रेष्ठ, गण्डकी प्रदेश इन्चार्जमा केन्द्रीय सचिव दीनानाथ शर्मा, सह–इन्चार्ज केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनी प्रदेश इन्चार्जमा केन्द्रीय सचिव चक्रपाणि खनाल, सह–इन्चार्ज स्थायी समिति सदस्य कुल प्रसाद के.सी. चयन भएका छन् । 

यस्तै कर्णाली प्रदेश इन्चार्जमा स्थायी समिति सदस्य  काली बहादुर मल्ल, सह–इन्चार्ज केन्द्रीय समिति सदस्य टेक बहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश इन्चार्जमा केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेल, सह–इन्चार्ज केन्द्रीय सदस्य  बिना मगर, उपत्यका विशेष प्रदेश इन्चार्जमा केन्द्रीय सचिव हितमान शाक्य, सह–इन्चार्ज स्थायी समिति सदस्य  जयपुरी घर्ती, सम्पर्क समन्वय प्रदेश इन्चार्जमा हालको लागि केन्द्रीय कार्यालयले हेर्ने र सह–इन्चार्ज स्थायी समिति सदस्य  यशोदा सुवेदी चयन भएकी छन् । 

यसैगरी सार्क प्रवास प्रदेश (भारत लगायतका दक्षिण एसियाली मुलुकहरू)  इन्चार्जमा केन्द्रीय सदस्य  लक्ष्मण पन्त, एसिया प्रवास प्रदेश (मध्यपूर्व लगायत एसियाका बाँकी मुलुकहरू) इन्चार्जमा केन्द्रीय उपाध्यक्ष  पम्फा भुसाल, पश्चिम प्रवास प्रदेश (युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, अस्ट्रेलिया) इन्चार्जमा केन्द्रीय सचिव सुरेन्द्र कुमार कार्की (राम कार्की) चयन भएका छन् । 

नेता जनार्दन शर्माको फरक मतका बिच बिना मगरलाई जिम्मेवारी कायमै राखिएको छ । तर, बागमतीमा नारायण दाहाललाई दिइएको छैन । नेता शर्माले स्थायी समिति बैठकमा आफ्नो फरक मत राखेका थिए । 

यसैबिच कार्य विभाजनका सन्दर्भमा बाँकी स्थायी समिति सदस्यहरूको विगतमा रहँदै आइरहेको प्रदेशहरूमा नै कार्यक्षेत्र कायम रहने भएको छ । उनीहरूको सोही प्रदेशको इन्चार्जहरूको नेतृत्वमा ठोस सांगठानिक कार्य विभाजन गर्ने सर्कुलरमा उल्लेख छ ।  साथै केन्द्रीय कार्यालयले तय गरे अनुसारको मोर्चा वा विभागीय प्रमुखको जिम्मेवारी कायम रहने पनि जनाइएको छ । 

यस्तै केन्द्रीय सदस्यहरूको कार्य विभाजन विगतमा रहँदै आइरहेको प्रदेशहरूमा नै कायम गरिएको छ । केन्द्रीय सदस्यहरूको ठोस कार्य विभाजन सम्बन्धित प्रदेशको इन्चार्जको नेतृत्वमा जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय पालिकाहरूमा जिम्मेवारी विभाजन गर्ने  बताइएको छ  । यस्तै तीन वटै तहमा रहेका जनप्रतिनिधिको कार्य विभाजन गर्दा संघीय संसद, प्रदेश सभा र स्थानीय पालिकाहरूमा नै जिम्मेवारी केन्द्रित गर्ने माओवादीले जनाएको छ । 

यस्तै विधान अधिवेशनबाट पारित भएको विधान सम्बन्धमा प्राप्त भएका सुझावहरू समेटेर आगामी फागुन २८ गते बस्ने स्थायी समितिको बैठकमा प्रस्तुत गरी अन्तिम रूप दिने निर्णय भएको छ । यस्तै पार्टी स्कुल विभागले तय गरेको कार्यतालिका अनुसार पार्टी स्कुल सञ्चालन गर्ने निर्णय भएको छ । 

सांसदको १ हजार शहीद प्रतिष्ठानलाई

यस्तै शहीद प्रतिष्ठान नेपालको लागि पार्टीबाट निर्वाचित सांसदहरूबाट प्राप्त हुने लेवीबाट प्रति सांसद प्रति महिना एक हजारको दरले कट्टा गरी शहीद प्रतिष्ठान नेपालको खातामा जम्मा गर्ने निर्णय भएको छ । 

यसैगरी शहीद प्रतिष्ठान नेपालको शाखा वा इकाईहरू प्रदेश र स्थानीय तहहरूमा गठन भएको अवस्थामा सोही तहको जनप्रतिनिधिबाट प्राप्त हुने लेवी मध्येबाट निश्चित रकम कट्टा गरी शहीद प्रतिष्ठान नेपालको खातामा जम्मा गर्न निर्देशन गर्ने निर्णय पनि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप