सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

टीआरसीलाई निष्कर्षमा पुर्‍याउने तयारी

सोमबार, २१ फागुन २०८०, ०५ : ३८
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्ग्याउन सोमबार बिहान कानुन समितिको बैठक बोलाइएको छ । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलमा दुवै नेता टीआरसी टुङ्ग्याउन सहमत भएको स्रोतको भनाइ छ । 

बालुवाटारमा नेताहरूबिच सहमतिको सङ्केत भए लगत्तै सोमबार बिहान ७ः४५ बजे समितिको बैठक बोलाइएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आइतबार बिहान पनि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा सभापति रवि लामिछानेबिच टीआरसीबारे छलफल भएको थियो । तर आइतबारको कानुन न्याय तथा मानवअधिकार समितिमा विधेयक पारित नभएपछि साँझ पुनः प्रचण्ड, ओली र लामिछानेबिच बालुवाटारमा छलफल भएको हो । 

साँझ अध्यक्ष ओली महासचिव शंकर पोखरेल समेत लिएर बालुवाटार पुगेका थिए । त्यस्तै माओवादीका वर्षमान पुन पनि बालुवाटार छलफलमा सहभागी भएका थिए । ‘साँझको छलफलमा पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) संसद्बाट सहमतिका आधारमा अगाडि बढाउने विषयमा छलफल भयो, लगभग सहमति पनि भयो । केही भाषा मिलाएर भोलीको समिति बैठकले विधेयक पारित गर्छ’, बालुवाटार स्रोतले भन्यो । 

टीआरसी विधेयक संसद्बाट सर्वसम्मत पारित गराउने कसरतमा सत्तारुढ माओवादी केन्द्र रहेको छ । सोही अनुसार माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले प्रमुख दलहरूसँग सहमतिको प्रयास निरन्तर गर्दै आएका छन् ।

यसैबिच प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले नेपालमा विस्तृत शान्ति सम्झौता (२०६३ मङ्सिर ५) बाट सुरु भएको शान्ति प्रक्रियाको औपचारिक यात्राले पूर्णता प्राप्त गर्ने बताएका छन् । मल्लले आइतबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार सरोकारवाला सबै पक्षलाई साथमा लिएर टीआरसीलाई तार्किक निष्कर्षमा पुर्‍याउन अहोरात्र खटिरहेको बताए ।

‘मुलुकमा शान्ति, प्रगति र विकास चाहने जो कोहीले पनि सरकारको यस कदमलाई सहयोग गरौँ। राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति निर्माण गरौँ। जुन प्रक्रियाबाट आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो, त्यो प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु सम्पूर्ण परिवर्तनका पक्षधर शक्तिहरूको दायित्व हो’, मल्लले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप