मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता समीकरण परिवर्तन

सिंहदरबारको दृश्य : मन्त्रालयका क्यान्टिन भरिभराउ, नयाँ मन्त्रीको प्रतीक्षामा कर्मचारी

नयाँ सत्ता समीकरणले सिंहदरबारमा कर्मचारीको खुसामद
सोमबार, २१ फागुन २०८०, १५ : २३
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । एकाएक सत्ता समीकरणमा बदलाव आएसँगै सिंहदरबारमा कर्मचारीतन्त्र तरंगित बनेको छ । मन्त्रालयहरूमा अब को मन्त्री आउने हुन् भन्ने चासो सिंहदरबारका कर्मचारीमा देखिन्छ । 

सोमबार रातोपाटीकर्मी सिंहदरबार पुग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहसचिवहरू एउटै कोठामा बसेर नयाँ सत्ता समीकरणले कर्मचारीतन्त्रमा पर्ने प्रभाव र असरका बारेमा गफिइरहेका भेटिए । उपसचिवहरू पनि कोठा कोठा चहार्दै ‘को आउने हुन् अब मन्त्री ?’ भन्दै मुखामुख गरेको भेटिए । सिंहदरबारस्थित नेपाली कांग्रेसको क्यान्टिन, केन्द्रीय खाजा घर, वन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र पर्यटन मन्त्रालयको  क्यान्टिनमा कर्मचारीहरूको भीड देखिन्थ्यो । 

कांग्रेसको क्यान्टिनमा ‘राजनीतिक तहमा के कुरा मिल्दैन, सरकार परिवर्तन भइहाल्छ, अनि गोटी हामी कर्मचारी हुनुपर्ने’ भन्दै कानुन मन्त्रालयका एक उपसचिवले गुनासो पेलिरहेका थिए । सरकार स्थिर नहुँदा कर्मचारीतन्त्र जहिल्यै अस्थिर हुने गरेको ठम्याई ती उपसचिवको थियो ।

 यता वन मन्त्रालयको क्यान्टिनमा भने नयाँ सत्ता समीकरणले फेरी कर्मचारीको सरुवाले व्यापकता पाउने चर्चा सुनिन्थ्यो ।

 सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रायः वनकै क्यान्टिनमा चिया खाजा खान जान्छन् । मन्त्री फेरिने बित्तिकै अब पहिलो सरुवा कर्मचारी प्रशासन महाशाखाको सहसचिवको हुन्छ,’ एक कर्मचारी भन्दै थिए,‘ सचिव पनि रहन्छन् वा रहँदैनन् भन्न सकिन्न ।’ 

गृह मन्त्रालयको क्यान्टिनमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री भएर आउने चर्चा थियो । ‘अब फेरि रवि गृहमन्त्री भएर आउने रे, मिडियाले त्यही लेखेका छन्,’ गृहको क्यान्टिनमा एक जना कर्मचारी भन्दै थिए,‘ साँच्चिकै रवि आए भने केही दिन गृह प्रशासनमा भागदौड मच्चिन्छ ।’ 

निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारीमा हस्तक्षेप नगरेको तर, अरूको कुरा सुनेर निर्णय लिएका कारण कर्मचारीले दुःख पाउने गरेको ती कर्मचारीको अनुभव थियो । 

उनले नाम उल्लेख नगर्ने सर्तमा रातोपाटीसँग भने,‘ हामीलाई जो मन्त्री आए पनि केही फरक पर्दैन, सिस्टमले काम गर्ने हो । तर, नारायणकाजीले पनि धेरै हस्तक्षेप गरेनन् है ।’ 

प्रशासकीय अदालतको भूइँतलामा रहेको केन्द्रीय खाजा घरमा कर्मचारीका आ–आफ्नै तर्क थियो । केही मुख्यसचिवको राजीनामाको विषयमा केन्द्रित देखिन्थे भने केही कांग्रेसका कारण गठबन्धन परिवर्तन भएको विश्लेषण गर्दै थिए । कांग्रेसले अर्थमन्त्रीलाई फिर्ता बोलाउँदै राष्ट्रिय सभामा माओवादीलाई साथ दिएको भए अहिले गठबन्धन परिवर्तन नै नहुने उनीहरूको भनाइ थियो । 

झुण्डझुण्ड बनाएर सिंहदरबार भित्रका क्यान्टिनमा गफिइरहेका कर्मचारीहरूले ‘नयाँ सत्ता समीकरण केका लागि रहेछ ?’ भन्दै एकले अर्कालाई प्रश्न समेत गरिरहेका देखिन्थे ।

भौतिक पूर्वाधार मन्त्रालयका केही उच्च पदस्थ कर्मचारीहरू भने विकास निर्माणले केही गति लिइरहेका बेला फेरि नयाँ सत्ता समीकरणले पर धकेलिने विषयमा गफिइरहेका भेटिए । एक सहसचिव भन्दै थिए, ‘पुरानै गठबन्धन थियो भने पनि हाम्रा मन्त्रीलाई त फेर्ने नै थिए, नयाँ सत्ता समीकरण बनेपछि मन्त्री परिवर्तन हुने भएपछि कारबाहीको कुरा हरायो ।’ 

सिंहदरबारमा कतिपय कर्मचारीका खुसामद पनि सुन्न लायक देखिन्थे । कोही हालका केही (नाम तोकेरै) मन्त्री खराब र कोही अब आउनेचाहिँ ठिक हुन् भन्दै गफ पनि दिइरहेका देखिन्थे । सिंहदरबारमा सोमबार काम भन्दा पनि बढी राजनीतिक समीकरणमा भएको परिवर्तनको चर्चा बढी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप