मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता समीकरण परिवर्तनको साइड इफेक्ट

सत्ता समीकरण फेरिएपछि काठमाडौँ हानिए मुख्यमन्त्री जम्कट्टेल

साना दल फकाउन दौडधुप
मङ्गलबार, २२ फागुन २०८०, १५ : २९
मङ्गलबार, २२ फागुन २०८०

मकवानपुर । केन्द्रीस्तरमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल काठमाडौँ गएका छन् ।

गृह जिल्ला धादिङ रहेका मुख्यमन्त्री जम्कट्टेलले सोमबार चितवन हुँदै हेटौंडा आउने क्रममा सत्ता समीकरण परिवर्तनको बारेमा जानकारी पाएका थिए । चितवनमा एक औपचारिक कार्यक्रम उद्घाटन गरी सोमबार साँझ उनी हेटौंडा आएका थिए ।

हेटौंडामा आफ्नो टिमसँग सामान्य छलफल गरेर उनी मंगलबार बिहानै काठमाडौँ हानिएका छन् । काठमाडौँमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम छ ।

मुख्यमन्त्री जम्कट्टेलले आजै प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डलाई बागमती प्रदेशको राजनीतिक परिस्थिति, सांसद संख्या र सत्ता समीकरणका समस्याबारे मुख्यमन्त्री जम्कट्टेलले जानकारी गराउने छन् ।

साना दल फकाउन मुख्यमन्त्रीको दौडधुप

सरकार टिकाउने विषयमा मुख्यमन्त्री जम्कट्टेलले दौडधुप थालेका हुन् । नयाँ सत्ता समीकरण अनुसार सरकार टिक्न नसक्ने देखेपछि उनी साना दल फकाउन प्रयासरत छन् ।

बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५६ सांसदको साथ आवश्यक पर्छ । नयाँ समीकरण अनुसार बागमती प्रदेशमा एमाले र माओवादी केन्द्रको क्रमशः २७ र २१ जना सांसद छन् । यो अवस्थामा एकीकृत समाजवादीका ७ सांसदको समर्थन पाउने हो भने पनि ५५ सांसदको मात्र समर्थन हुन्छ । मुख्यमन्त्री जम्कट्टेललाई थप एक सांसदको समर्थन आवश्यक रहन्छ ।

एकीकृत समाजवादी सरकारमा नगइरहेको अवस्थमा मुख्यमन्त्री जम्कट्टेललाई थप संकट पर्ने स्पष्ट छ । एकीकृत समाजवादीले मुख्यमन्त्री जम्कट्टेललाई समर्थन गर्न नहुने बताउँदै आएको छ ।

सो समस्याका बिचमा मुख्यमन्त्री जम्कट्टेल एकीकृत समावादी र हाम्रो नेपाली पार्टीका सांसद फकाउन लागिपरेका छन् । सोमबार नै फोन सम्पर्क गरेर ती दललाई समर्थन फिर्ता नलिन आग्रह गरेका उनले काठमाडौँमै उनीहरुसँग थप छलफल गर्ने जनाइएको छ । उनले पावर सेयरिङका विषयमा समहति गर्न आफू तयार रहेको सम्बन्धित दलका नेतालाई बताइसकेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले बुधबार ती दलका नेताहरुसंग छलफल गर्ने जनाइएको छ ।

विकल्पसहित अघि बढ्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले सत्ता समीकरणका विषयमा तत्काल कुनै पनि कदम चाल्न उचित नहुने बताए । केन्द्रको निर्देशन प्राप्त भएपछि मात्र प्रदेश सरकारको विषयमा प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

सरकारको समीकरण, प्रदेशको अवस्थाको विषयमा गठबन्धनका शीर्ष नेताहरुलाई जानकारी गराउन आफू काठमाडौँ आएको उनले बताए । प्रदेश सरकारको विषयमा प्रधानमन्त्री प्रचण्डसहित अन्य दलका नेतासँग छलफल गर्ने जानकारी दिँदै उनले सत्ता समीकरणका विषयमा पहिलो प्राथमिकता भने नयाँ गठबन्धनलाई नै दिनुपर्ने प्रस्ट पारे ।

बागमती प्रदेशमा सरकार बनाउन नयाँ समीकरणले मात्र नपुग्ने भएकाले अन्य विकल्पसहित अघि बढ्नुपर्ने उनको भनाइ छ । उनका अनुसार बागमतीको अंकगणित अन्य प्रदेशको भन्दा फरक रहेकाले अहिले सरकारमा रहेका दलहरुको समर्थन पनि विकल्प हुन सक्ने बताए ।

सोही आधारमा बागमती प्रदेश सरकारमा रहेका कांग्रेस र एकीकृत समाजवादीका मन्त्रीका बारेमा अहिले नै कुनै निर्णय नलिइएको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप