मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

शिक्षामा बढी चासो राख्ने सुमनालाई शिक्षा मन्त्रालयकै जिम्मेवारी

बुधबार, २३ फागुन २०८०, १८ : ३८
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ संसदमा, संसदीय समितिमा सबैभन्दा बढी प्रश्न गर्नेमा पर्छिन् ।  जल्दाबल्दा विषयमा गहन अध्ययनसहित सरकार तथा सरोकारवाला निकायमाथि उनको तिखो प्रश्न जान्छन् ।

तीक्ष्ण तार्किक क्षमता भएकी सुमनाको काँधमा यतिबेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनलाई शिक्षा मन्त्रालयको मन्त्रीको जिम्मेवारी दिइएको हो । अब उनले जसरी प्रश्न गर्छिन्, त्यही आधार काम गर्छिन् वा गर्दिन त्यो हेर्न बाँकी छ । रास्वपाबाट पहिलो पटक उनले मन्त्री बन्ने अवसर पाएकी हुन् । 

संसदको शिक्षा समिति बैठकमा उनले राष्ट्रसेवक कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा जोड दिँदै आएकी छन् । त्यस्तो नगर्दासम्म सार्वजनिक शिक्षा सुधार हुन नसक्ने उनको दाबी छ । 

त्यस्तै उनले शिक्षकले मासिक रूपमा तलब पाउने व्यवस्था गर्नुपर्ने र निजामती कर्मचारीको तुलनामा शिक्षकको तलब १ रुपैयाँ भएपनि बढी हुनुपर्नेमा उनको जोड छ । शिक्षा क्षेत्रबारे राम्रोसँग बुझेकी सुमनालाई शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगती अन्त्य गर्ने मौका मिलेको हो । 

suman shrestha

  • को हुन् सुमना ? 

उनी समानुपातिक तर्फकी सांसद हुन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य समेत हुन् । समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा उनी निकै सक्रिय छन् । उनले विधेयकमाथि गहन अध्ययन गर्दै विधेयक निर्माणकर्तासँगै सरोकारवालामाथि समेत गहकिलो प्रश्न उठान गर्दै आएकी छन् । 

२०४१ साल असोज १५ गते जन्मिएकी सुमना २०७९ सालको निर्वाचनमा आदिवासी जनजाति कोटाबाट समानुपातिक तर्फकी सांसद बनेकी थिइन् । टोखा स्थित एक अपार्टमेण्टमा बस्दै आएकी उनले पोल्याण्डका नागरिक पावल लुकास स्काविन्स्कीसँग बिहे गरेकी थिइन् । उनका श्रीमान् भने हाल  बेलायतमा बस्दै आएका छन् । 

आफूलाई पारदर्शी बनाउने क्रममा उनले आफ्ना हरेक गतिविधिबारे जानकारी दिन वेबसाइटकै विकास गरेकी छन् । उनले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेकी हुन् । त्यसअघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी थिइन् । 

२०७२ सालअघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुपमा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटी ग्रुपमा काम गरेकी थिइन् । २०७२ सालमा नेपालमा महाभूकम्प गएपछि उनी नेपाल फर्किएकी थिइन् । 

भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रमसँग बोस्टन कन्सल्टिङ ग्रुपले उनलाई नेपाल पठाएको थियो । भूकम्पपछि प्रवासी नेपालीहरूमार्फत प्राप्त भएको सहायता सामग्री सङ्कलन र वितरणमा संयोजन गरेकी थिइन् । काष्ठमण्डप पुनः निर्माणसम्बन्धी उपसमितिमा समेत बसेर उनले काम गरेकी थिइन् भने रानीपोखरी बचाउ अभियानमा सक्रिय रहेकी थिइन् । 

कोरोना महामारीका बेला समेत नेपाली नागरिकलाई कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न अमेरिकी सरकारलाई त्यहाँको सिनेटमार्फत अनुरोध गरेकी थिइन् । 

उनी एक सफल उद्यमी पनि हुन् । उनले कारपुल काठमाडौँ (Carpool Kathmandu) र मेडिकेसन फर नेपाल (Medication For Nepal)  लगायतका परियोजनाको सुरुवात गरेकी थिइन् । नाकाबन्दीका कारण देखा परेको इन्धनको समस्यामा नागरिकलाई थोरै भए पनि राहत दिने गरी कारपुल नेपाल सुरु गरिएको थियो । महाभूकम्प पछिको अवस्थामा औषधिजन्य आवश्यकतालाई पूर्ति गर्ने उद्देश्यले मेडिकेसन फर नेपाल सुरु गरिएको थियो ।  

गणितमा पनि स्थानविज्ञान (टोपोलोजी) र ज्यामितिमा उनको विशेषज्ञता छ । उनले व्यवस्थापन परामर्श दाताका रूपमा काम गरिसकेकी छिन् । उनले कोसी कोल्याबोरेटिभ (Kosi Collaborative), नोवाला बायोटेक (Novala BioTech) बटुका क्रिमरी (आइसक्रिम पार्लर) लगायतका उद्यम स्थापना गरेकी छिन् ।

उनले राजनीतिमा आफ्नो पाइला चालिरहँदा तीन वटा प्राथमिकता राखेकी छन् । पहिलो रोजगारीको सिर्जना गर्ने (विशेषतः प्रविधिको क्षेत्रमा), दोस्रो नेपालको विकासको मुद्दामा प्रवासी नेपालीहरुलाई संलग्न गराउने र तेस्रो राजनीतिज्ञहरूको राजनीतिक उत्तराधिकारीको योजना सञ्चालन गर्ने हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप