आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकीको मुख्यमन्त्रीमा माओवादीको दाबी, असर पर्ने निर्णय नगर्न सरकारलाई चेतावनी

सोमबार, २८ फागुन २०८०, १४ : २२
सोमबार, २८ फागुन २०८०

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सत्ता घटक दल नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि आवश्यक पहल गर्ने अनौपचारिक निर्णय गरेको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन् । 

‘औपचारिक निर्णय गरिएन । तर मुख्यमन्त्री माओवादीले पाउनुपर्छ भन्ने दाबी हाम्रो छ,’ उनले भनिन्, ‘केन्द्रसँग निरन्तर संवाद भइरहेको छ । गण्डकी हामीले नै पाउने आश्वासन पाएका छौँ ।’

सोमबार नै गण्डकीको मुख्यमन्त्री एमालेले चारै वर्ष चलाउने सहमति भएको हल्ला बाहिरिएको छ । तर दलका नेता हरिबहादुर चुमानले अहिले माओवादीले नेतृत्व पाउनुपर्ने अडान राखेका छन् । माओवादीकै समर्थनमा २ कार्यकाल एमाले र २ कार्यकाल कांग्रेसले सरकारको नेतृत्व गरिसकेको छ । ‘हामीले कांग्रेसलाई पनि सघायौँ, एमालेलाई पनि सघायौँ । अब त स्वाभाविक रूपमा माओवादीले नेतृत्व पाउनुपर्छ,’ उनले भने, ‘केन्द्रले पनि हुन्छ भनेको छ । हामीले पाउनेमा ढुक्क छौँ ।’

तर एमाले दलका नेता खगराज अधिकारीले सत्ता समीकरण फेरिने बित्तिकै काठमाडौँ पुगेर सत्ता सञ्चालनको आन्तरिक गृहकार्य गरेर आएको बुझिएको छ । उनका अनुसार सरकारको नेतृत्व एमालेले नै पाउने लगभग पक्कापक्की छ । उनले आइतबार दलको बैठक राखेर केन्द्रमा भएको छलफलबारे सांसदहरूलाई ब्रिफिङ पनि गरे । ‘गण्डकीको नेतृत्व एमालेले नै गर्ने कुरा आयो । उहाँले त्यही ब्रिफिङ गर्नुभयो,’ अधिकारीको ब्रिफिङलाई उद्धृत गर्दै एक सांसदले भने ।

एमालेको बैठक बसेको भोलिपल्ट माओवादीले बैठक राखेर सरकार गठनमा सहजताका लागि दलहरूलाई आह्वान गरेको छ । एमालेकै शैलीमा माओवादीले पनि सबै संवाद र छलफलको अधिकार दलका नेतालाई दिएको छ भने सहज रूपमा नयाँ सरकार गठनका लागि आह्वान गरेको छ । यस्तै, सरकार अल्पमतमा परेकोले दीर्घकालीन असर पर्ने निर्णय गर्न एमालेले झैँ सचेत गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप