सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

१४ महिना १९ दिनमा तेस्रो पटक प्रधानमन्त्रीको अग्निपरीक्षा, यस्तो छ हिसाबकिताब

सोमबार, २८ फागुन २०८०, १४ : ३३
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

सोही प्रयोजनका लागि प्रधानमन्त्री प्रचण्डले आइतबार संसद् सचिवालयलाई पत्र पठाइसकेका छन् । फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । यद्यपि तीमध्ये एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ । देवराज घिमिरे सभामुख भएकाले मत दिन पाउने छैनन् । टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उनले पनि मत दिन पाउने छैनन् ।

अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी जम्मा १५१ मत छ । यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ । राप्रपासँग १४, जपासँग ६, लोसपासँग ४, नाउपासँग ४, नेमकिपासँग र राष्ट्रिय जनमोर्चासँग एक÷एक सांसद छन् भने स्वतन्त्र तीन सांसद छन् । 

२०७९ पुस १० गते एमालेको प्रस्तावमा तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पहिलो पटक उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका थिए । यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए । 

त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संसदमा उपस्थित कुल संख्याको ९९.२५ प्रतिशत मत पाएका थिए ।

तर तीन महिना नपुग्दै राष्ट्रपतिको निर्वाचनपूर्व गत वर्ष फागुन १२ गते एमालेसँग सहकार्य तोडेका प्रचण्ड पुरानै गठबन्धनमा फर्किए ।

एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । उपस्थित संख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो । दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले ६४.१८ प्रतिशत मत पाए ।

त्यतिबेला उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप