सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

सरकारको सहभागिताबारे रास्वपामा प्रश्न : रवि र स्वर्णिमको जवाफ

सोमबार, २८ फागुन २०८०, १९ : ३७
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सरकारमा सहभागिताबारे छलफल भएको छ । सोमबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सरकारको सहभागिता प्रमुख एजेण्डा बन्यो ।

फागुन २२ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारमा उपप्रधानसहित चार मन्त्री लिएर रास्वपा सहभागी भएको छ ।

रास्वपाका उपसभापतिसमेत रहेका श्रममन्त्री डिपी अर्यालले बैठकमा सरकारको सहभागिता र प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल भएको बताए । यही फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर फागुन २१ मा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीसहितको नयाँ समीकरण बनेको छ । नयाँ समीकरण बन्दा एक वर्षपछि सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा फेरि प्रचण्डको सरकारमा सहभागी भएको छ ।

सरकारको सहभागिता, प्रक्रिया र मन्त्री छनोटका विषयमा केन्द्रीय सदस्यले बैठकमा प्रश्न उठाएका थिए । केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार अधिकांश नेताहरूले सरकारको सहभागिताबारे पार्टीमा पर्याप्त छलफल नभएको गुनासो गरेका थिए । ‘निर्णय प्रक्रियामा हामी लोकतान्त्रिक बनौँ । कुनै निर्णय गर्दा पार्टीमा पर्याप्त छलफल हुनुपर्‍यो भन्ने विचार अधिकांश साथीहरूले राख्नुभयो ,’ उनले भने ।

रास्वपा केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले मन्त्रिमण्डल समावेशी नभएको गुनासो गरेका थिए । उनले भने, ‘हामी सहभागी यत्रो मन्त्री मण्डलमा एक जना पनि दलित नहुनु विडम्बना भयो । जे भइरहेको छ गलत भइरहेको छ ।’

पछाडि परेको समुदायलाई यसरी अनदेखा गर्नु राजनीतिक रुपमा ठुलो त्रुटि भएको उनको भनाइ थियो । ‘हाम्रो राजनीतिक चेतना कहाँनिर छ भनेर यसले देखाउँदैन र ? अरूले गलत गरे हामी राम्रो गर्छौँ भनेर आएका हौ नि । नेतृत्वले समावेशितालाई किन अनदेखा गर्‍यो ?,’ उनको प्रश्न थियो ।

raswapa

बैठकमा केन्द्रीय सदस्य गणेश कार्कीले रास्वपा सरकारमा गएको आफूले समाचारमार्फत थाहा पाएको भन्दै प्रश्न उठाएका थिए । ‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएछ, समाचारहरूबाट थाहा पाएँ । चुनाव अगाडिका हाम्रा रणनीति, हामीबाट सार्वजनिक भएका विचार र व्यक्तव्यहरू, हाम्रा वाचापत्र र केही अगाडिसम्म पनि अब यिनिहरुलाई बोक्दैनौँ भनेको थियौँ । अहिले उनीहरु नै किन बोक्नुपर्यो ?,’ उनको प्रश्न थियो ।

पार्टी ‘रोक्ने भनिएकाहरूलाई नै बोक्ने कित्ता’मा समाहित भएको उनको आरोप थियो । ‘त्यस्तो के बाध्यताले ‘रोक्ने भनिएकाहरूलाई नै बोक्ने’ कित्तामा समाहित नभई जनमुखी काम गर्नै सकिन्न भन्ने निष्कर्षमा पुगियो ? यो प्रश्नको जवाफ मसँग छैन,’ कार्कीको भनाइ थियो ।

सत्ता—स्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने खेलमा पार्टी लाग्नु राम्रो नभएको उनले बताए । ‘सत्ता—स्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेर आमनागरिकहरू निराश मनस्थितिमा रहँदा हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ। तर हामीले हामी पनि उनीहरूजस्तै छौँ भन्न ‘आफ्नो कान किन आफैँ चिर्न थाल्यौँ , हैन र ?,’ उनको प्रश्न थियो ।

प्रचण्ड नेतृत्वमा कांग्रेस हटाएर एमाले हुँदैमा केही फरक नपर्ने कार्कीको तर्क थियो । ‘पुरानाकै नेतृत्वमा सरकार बन्दा कुन आशाको सञ्चार हुन्छ ? यो नखोजी एमालेसँग अँगालो हाल्दै किन बालुवाटार गयौँ ?,’ उनी भन्छन्, ‘ मन्त्री नभई केही गर्नै नसकिने भाष्य निर्माण गर्ने खोजेको हो ।’

दस्ताबेजमा गरेको गत ५ वर्षको राजनीतिक समीक्षा केवल मतदातालाई झुक्याउने प्रपञ्च मात्रै  बन्ने पुगेको उनको भनाइ थियो ।

‘हाम्रो पार्टीको चरित्र हिजो हामीले नै आलोचना गरेका पार्टीहरू भन्दा भिन्न के भयो ?, कार्कीले प्रश्न गर्दै भने, ‘धेरै प्रश्नहरू दिमागमा खेलिरहेका छन्, गरिकहरूले सोधिरहेका छन् । सरकारमा सहभागी हुने कुरामा मेरो असहमति छ ।’

फागुन २१ गते पनि कार्कीले पार्टी कार्यालयमा यही आशयको असहमति पत्र दर्ता गराएका थिए । बैठकमा केन्द्रीय सदस्य रमेश प्रसाईँले पनि सरकारमा सहभागी हुँदा राम्रो सन्देश नगएको बताएका थिए । ‘अहिले हामी सरकारमा सहभागी हुँदा राम्रो सन्देश गएको छैन । हामी गलत समयमा सरकारमा गयौँ । हामी सरकारमा सहभागी भएको हाम्रो शुभचिन्तकलाई चित्त बुझेको छैन,’ प्रसाईँले भने ।

केही केन्द्रीय सदस्यले सरकारमा जानु नै गलत भएको बताएपनि अधिकांशले राम्रो काम गरेर देखाउनुपर्नेमा जोड दिएका थिए ।

केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ सभापति लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले दिएका थिए । लामिछानेले पार्टीभित्र र बाहिरी उठेका प्रश्नको जवाफ कामबाटै दिने बताएका थिए । ‘सरकारमा सहभागी हुनेबारे तपाईँले सन्देह राख्ने कुरा ठिकै छ । सबै कुराको जवाफ काममार्फत दिन्छौँ,’ लामिछानेको जवाफ थियो ।

मन्त्री छनोटमा विषय विज्ञतालाई प्राथमिकता दिँदा समावेशिता छुटेको लामिछानेको स्वीकारोक्ति थियो । ‘मान्छे हेरेर मन्त्रालय होइन मन्त्रालय हेरेर मान्छे छानिएको हो । सबैलाई स्वीकार्य मान्छेलाई नै मन्त्री छानिएको छ ,’ उनले भने ।

बैठकमा उपसभापति वाग्लेले पार्टी सरकारमा सहभागी हुनको कारण सुनाउँदै भनेका थिए, ‘त्रिशंकु संसदमा हामी निर्णायक शक्ति हौं । अहिले नयाँ गठबन्धन बन्दा हामी निर्णायक छौँ । चेस खेल्न बसिसकेपछि गोटी नचाल्ने भन्ने हुँदैन।'

२०८४ सालको चुनावलाई मिसन बनाएको दलले त्यसअघि केही काम गरेर सन्देश दिनुपर्ने भएकाले सरकारमा गएको वाग्लेको तर्क थियो ।

सरकारमा सहभागितालाई केन्द्रीय कमिटी बैठकले स्वागत गरेको भन्दै सबैले सहयोग गर्ने र सफल बनाउन सिंगो केन्द्रीय समिति लाग्ने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले बताइन् ।

रास्वपाबाट सरकारमा सहभागी मन्त्रीलाई सहयोग गर्न पार्टीले संयन्त्र बनाउने निर्णय भएको उनको भनाइ थियो । मन्त्रालय र पार्टीबिचको पुलका रुपमा काम गर्न एउटा संयन्त्र बनाउने निर्णय भएको छ । बैठकले सरकारको कामबारे समीक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति  वाग्ले र महामन्त्री मुकुल ढकाललाई जिम्मेवारी तोकेको छ ।

उनीहरूले पार्टीका मन्त्रीहरूसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्नेछन् ।  ‘सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरेको छ,’ ढकालले भने ।

सरकार, संसद्, संगठनमा सल्लाहको आधारमा सहयोगी टीमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय भएको उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप