शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मृत भेटिए बोइङका गोप्य सूचना चुहाएका पूर्वकर्मचारी

मङ्गलबार, २९ फागुन २०८०, ११ : ०३
मङ्गलबार, २९ फागुन २०८०

वाशिङ्टन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङका पूर्व कर्मचारी मृत भेटिएका छन् । कम्पनीले बनाएका विमानको मापदण्ड र स्तरबारे गोप्य सूचनाहरू चुहाएका जोन बर्नेट अमेरिकामा मृत अवस्थामा फेला परेका हुन् । सन् २०१७ मा सेवा निवृत्त हुनु अघि बर्नेटले ३२ वर्षसम्म बोइङमा काम गरेका थिए ।

मृत्यु हुनुअघिका दिनहरूमा उनले कम्पनीका विविध गोप्य सूचनाहरू चुहाइरहेका थिए । सोमबार चार्लेस्टन काउन्टीका अधिकारीले उनको मृत्युको पुष्टि गरेका छन् । मार्च ९ मा बर्नेट मृत फेला परेको र उनको मृत्युबारे प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।  बर्नेटको मृत्युको खबरले आफू दुःखी भएको एउटा विज्ञप्तिमा बोइङले भनेको छ ।

सन् २०१० मा उत्तर चार्लेस्टन स्थित ७८७ ड्रिमलाइनर बनाउने बोइङको कारखानामा उनी गुणस्तर म्यानेजर थिए । कामको चाप बढेकै कारण डेडलाइन पूरा गर्न उक्त कारखानाका कर्मचारीहरूले जानीजानी विमानमा कमसल खालका पूर्जाहरू हालेको बीबीसीसँगको कुराकानीमा बर्नेटले सन् २०१९ मा भनेका थिए । विमानको अक्सिजन प्रणालीमा पनि गम्भीर समस्या रहेको उनको भनाई थियो । उनका अनुसार आकस्मिक समयमा विमानको हरेक चार ब्रिदिङ मास्क मध्ये एउटाले काम नगर्न सक्थ्यो ।

प्रोडक्सन लाइनमा काम ढिला नहोस् भनेर कर्मचारीहरूले थोत्रा विमानबाट कमसल खालको  पार्ट्स झिकेर नयाँ  विमानमा हालेका थिए । यसबारे आफूले म्यानेजरहरूलाई सतर्क गराएको भए पनि कुनै कारबाही नभएको उनको भनाई थियो । यस मामिलामा उनलाई वकिलहरूले केरकार गरिरहेका थिए । शनिबार बर्नेटसँग थप सोधपुछ हुनेवाला थियो । तर होटलको कार पार्कमा ट्रकभित्र उनी मृत भेटिए । बोइङ र यसको मुख्य आपूर्तिकर्ता स्पिरिट एरोसिष्टममाथि कडा छानबिन भइरहेकै समयमा बर्नेटको मृत्युको खबर आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप