शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

नाउपाले प्रचण्डलाई विश्वासको मत दिएपछि झस्किए मुख्यमन्त्री, बर्दिया पुगे रेशम

बुधबार, ३० फागुन २०८०, २२ : १९
बुधबार, ३० फागुन २०८०

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएसँगै सुदूरपश्चिम प्रदेश सरकारमाथि अविश्वासको बादल मडारिन थालेको छ ।  सत्तासीन नाउपाको दरिलो विश्वासका साथ सत्ता जोगाउने कसरतमा रहेका मुख्यमन्त्री कमलबहादुर शाह सो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि झस्किएका हुन् ।

योसँगै उनी नेतृत्वको सरकार सङ्कट पर्ने देखिएको छ । नाउपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने आङ्कलन गरिन थालिएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै नाउपाका पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र पार्टी संरक्षक रेशमलाल चौधरीबिच भनिएको असमझदारी पनि किनारा लाग्दै गएको आङ्कलन गर्न थालिएको हो ।

रेशमलाल चौधरी र प्रम प्रचण्डबिच बुधवार नै नयाँ राजनीतिक समीकरणलाई एक किसिमले गति दिनेसम्मको समझदारी बनेको नाउपाका एक नेताले बताए ।

नाउपाका संरक्षक चौधरीको भनाइलाई उद्धृत गर्दै प्रदेश सरकारका मन्त्री समेत रहेका नाउपाका ती नेताले सुदूरपश्चिममा मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र एक राज्यमन्त्री सहितको खाका बारेमा छलफल भएको पुष्टि गरे । साथै उनले लुम्बिनी प्रदेशमा पनि भौतिक पूर्वाधार मन्त्री, अर्थमन्त्री र केन्द्रमा एक मन्त्रीबारे प्रचण्डसँग मोटामोटी छलफल भएको उल्लेख गरे ।

बुधवार नै काठमाडौँबाट बर्दिया पुगेका पार्टी संरक्षक चौधरीले पार्टीका एकथरी नेताहरूसँग संवाद अघि बढाएको बुझिएको छ । संवादमा रहेका एक जना नेताका अनुसार केही समय अझै स्थिर बस्ने र अगाडि बस्ने विषयमा छलफल भएको हो ।

ती नेताले भने, ‘यसबारे (नयाँ समीकरण) पहिले पनि हामीबिच छलफल भएको हो । दुईटै अवस्थामा कसरी जानेबारे पनि छलफल भएको हो । हामी प्रदेश सरकारमै रहेकोले मन्त्रिपरिषद् विस्तारमा सहभागी भएका हौँ ।’

मुख्यमन्त्रीको आकस्मिक बैठक

नाउपादेखि सशंकित मुख्यमन्त्री शाहले बुधवार साँझ आफ्ना पार्टीका सांसदहरूसँग विभिन्न विकल्पबारे आन्तरिक छलफल गरेका छन् । मुख्यमन्त्री कार्यालयमा शाहले करिब २ घण्टा आफ्ना सांसदहरूसँग सरकार अल्पमतमा परेको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

छलफलमा कांग्रेस प्रमुख सचेतक धामीसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मानबहादुर रावल, प्रकाश बम, गीता चौधरी, तुलसी देवकोटा र मेघराज खड्का उपस्थित रहेको बुझिएको छ ।

मुख्यमन्त्री शाहले नाउपालाई ल्याउँदा पनि सरकार जोगिने सम्भावना कम रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । निरन्तरको छलफल र वार्तापछि नाउपाका ४ जना सरकारमा सहभागी भएको उनले जानकारी दिएका थिए ।

मुख्यमन्त्री कार्यालयमा जम्मा भएका सबैजसो सांसदले जसरी पनि नाउपालाई मनाउन र सत्ता जोगाउन सुझाव दिएको बताइएको छ ।

मुख्यमन्त्री शाहले नाउपाले विश्वासको मत दिने सम्भावना कम भएको भन्दै राजीनामा दिने विषयमा पनि आफ्ना सांसदहरूसँग सल्लाह मागेका थिए । तर, सांसदहरूले भने तत्काल राजीनामा नदिन बरु मुख्यमन्त्री नै नाउपालाई दिएर भए पनि गठबन्धन जोगाउन सुझाव दिएको एक नेताले बताए ।

सुदूरपश्चिममा निर्णायक रहेको नाउपाले मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिने बित्तिकै सरकार ढल्ने निश्चित छ । यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् ।

नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।

विश्वास कायमै राख्न मुख्यमन्त्री शाहले नाउपाका सांसदहरुलाई लिएर फागुन २५ र २८ गते गरी दुई पटक मन्त्री मण्डल विस्तार गरेका छन् । शाहले ७ जना सांसद रहेको नाउपाका ५ जना सांसदलाई मन्त्री बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप