शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको हो : गंगानारायण श्रेष्ठ

शनिबार, ०३ चैत २०८०, १४ : ४४
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न लागेको बताएका छन् । शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नै नेकपा(माओवादी केन्द्र) सँग एकता गर्न लागेको बताएका हुन् । 

उनले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्ने कुरा सत्य नभएको बताए । उनले नेसपाले गत मङ्सिर ६ गते नै केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको बताए ।

श्रेष्ठले दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनाव अगाडी नै सहमति भएको र पार्टी एकताको सर्तसहित आफूहरूले माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेको बताए । उनले आफूहरू पार्टी एकता गर्ने डेढ वर्ष अगाडीको सहमति अनुरूप अगाडि बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताए ।

‘अहिले त हामीले नेपाल समाजवादी पार्टी र नेकपा(माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक बसेको हो । यहाँ नेपाल समाजवादी पार्टीको फलानो गुटको बैठक बसेको त होइन नि । नेपाल समाजवादी पार्टीको बैठक बसेको हो । नेपाल समाजवादी पार्टीमा फलाना अध्यक्षको पक्षमा कति, अर्का अध्यक्षको पक्षमा कति भन्ने प्रश्न होइन’ श्रेष्ठले भने, ‘यहाँ अल्पमतको कुरा, बहुमतको कुरा, यो पक्ष त्यो पक्ष होइन । नेपाल समाजवादी पार्टी । सिंगो नेपाल समाजवादी पार्टी एकतामा जाने हो ।’ 

सहअध्यक्ष श्रेष्ठले आफूहरूले नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर चुनाव लडेकाले कानुनी रूपमा आफूहरू माओवादी केन्द्रको सांसद भएको बताए । आफूहरूले कुनै सत्ता स्वार्थको लागि पार्टी एकता गर्न नलागेको भन्दै उनले विगतको पार्टी एकता गर्ने निर्णयमा इमानदार र प्रतिबद्ध भएर लागेको बताए । उनले पार्टी अध्यक्ष महिन्द्र राय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म बागमती प्रदेश सरकारको मन्त्री भए पनि त्यो विगतमै भएको बताए । सत्ताको लागि एकता गर्न लागिएको भन्नेहरू पार्टी एकताको विरोधी भएका उनको भनाई छ । 

‘पार्टीगत हिसाबले नेपाल समाजवादी पार्टीको हामी नेता हौँ । तर कानुनी हिसाबले, संसदीय दलमा आवद्ध भएको हिसाबले हामीले एकल चुनाव चिन्हमा चुनाव लडेको कारण नेपाल समाजवादी पार्टीको नभएर नेकपा(माओवादी केन्द्र)को संसदीय दलको सदस्य हौँ । हामी चुनाव जितेर माओवादी केन्द्रको संसदीय दलको सदस्य भइसके पछाडि महेन्द्रजी यहाँ मन्त्री हुनुभयो । अहिले पुनर्गठनमा पर्नुभएन’ उनले भने– ‘मैले मन्त्री पद जोगाइदेऊ बाबा भनेर म माओवादी केन्द्रसँग हारगुहार गर्न गएको त छैन । राजनीतिक ढंगले हामीले जुन निर्णय गर्‍यौँ नि पार्टी एकता गर्ने, त्यो निर्णयमा इमानदार भएर, प्रतिबद्ध रहेर हामी अगाडि आइराखेका छौँ ।’ 

सहअध्यक्ष श्रेष्ठले नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरूलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताए । 

‘दुई पार्टी सँगसँगै अरू पार्टीहरूलाई पनि एकताको निम्ति तयार गर्दै लैजानुपर्छ भनेर पनि हाम्रो छलफल चलेको छ । तिथि मिति नै घोषणा गर्ने खालको अवस्था त नहोला । छिटोभन्दा छिटो पार्टी एकता टुंग्याउँछौँ’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप