आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार : भारतीयहरूले इन्स्टाग्रामबाट बनाएका थिए लुटपाटको योजना

यसअघि पनि बैंक लुटपाटमा संलग्न सिंह गोवामा सेक्युरिटी गार्ड
शनिबार, ०३ चैत २०८०, १७ : २१
शनिबार, ०३ चैत २०८०

रौतहट । रौतहटको भारतीय सिमानासँग जोडिएको दक्षिणी भेग परोहा नगरपालिकास्थित खाप चौकमा शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि भएको गोली प्रहार घटनामा पक्राउ परेका तीनजना भारतीय अपराधीलाई शनिबार प्रहरीले सार्वजनिक गरेको छ। घटनामा संलग्न तीन जना भारतीय अपराधीलाई स्थानीयको सहयोगमा शुक्रबार रौतहट प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी एलिजा गिरीका अनुसार मनी ट्रान्सफरमा स्वचालित पेस्तोल र कटुवा बोकेर आएका तीन जना भारतीय अपराधीहरूले काउन्टरमा बसेका सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली प्रहार गर्दै हतियारको बलमा रकम लुटेका थिए । लुटेको रकम लिएर निस्कने क्रममा नितेशले अवरोध गरेपछि आपराधिक समूहले गोली प्रहार गर्दा साहको कञ्चटमा लागेको थियो।

घाइते नितेशलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्यूरो परवानीपुरमा पठाइएको थियो। उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार गर्न पठाइएकोमा उनको आँखामा समस्या देखिएकोले तिलगंगा अस्पताल काठमाडौँ रेफर गरिएको छ । साहको अवस्था स्थिर रहेको प्रवक्ता डीएसपी गिरीले बताइन्।

अपराधीहरू घटना लगतै सीमापारी भाग्ने आशङ्कामा तत्कालै सीमा क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएकोमा स्थानीयहरूले लखेट्दै गरेको अवस्थामा दशगजा क्षेत्रबाट तिनै जना अपराधीलाई नियन्त्रणमा लिएको गिरीले बताइन् ।

FB_IMG_1710588259405

भारत विहार राज्यको पूर्वी चम्पारण मोतिहारी जिल्लाको चिरैया थाना दिपही गाउँका १९ वर्षीय मुनिष भन्ने मुनिफकुमार यादव, सोही ठाउँ का १८ वर्षीय राधा भन्ने राजकुमार पासवान र २० वर्षीय चुनुकुमार सिंह भन्ने चन्द्रभान सिंहलाई पक्राउ गर्न सफल भएको प्रवक्ता गिरीले पत्रकार सम्मेलनमा जानकारी गराइन्।

उनीहरूले प्रयोग गरेको भारतीय नम्बर बीआर ०६ सीएल ९७९६ अपाचे मोटरसाइकल, एक राउन्ड खोका, एक थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा प्रयोग हुने ८ एमएम कैलिवर भएको गोली थान १, ७.६२ एमएम को गोली अर्ध स्वचालित पेस्तोल थान एक र सोमा लाग्ने म्याग्जिन एक थान र सोको गोली ५ राउन्ड र फायर भएको गोली एक थान तथा लुटपाट गरिएको एक लाख २५ बरामद भएको बताइन् । 

FB_IMG_1710581800292

पक्राउ परेका तीनैजना अपराधीलाई ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी गिरीले बताइन् ।

यसरी बनेको थियो लुटपाटको योजना

साहले सञ्चालन गरेको शिव मनी ट्रान्सफरमा लुटपाट गर्न आज आज भन्दा तीन महिना अगाडि नै योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले लिएको बयानमा यसको मुख्य नाइके चन्द्रभान सिंह रहेको पाइएको छ । 

प्रहरीका अनुसार सिंहले केही महिना अगाडि शिव मनी ट्रान्सफरको निगरानी गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिंहको बयान छ,‘त्यस दौरान मनी चेन्जरमा गार्ड नभएको देखे, पैसा कुन कुन बेला बढी आउने रहेछ त्यो वाच गरे । कुन समयमा लुटपाट गर्ने सबै रेकी गरिसकेपछि पुनः काममा फर्के ।’ 

प्रहरीका अनुसार आजभन्दा करिब ३ महिना अगाडि भारतीय नागरिक सिंहले शिव मनी ट्रान्सफरको रेकी गरेका थिए । 

को हुन् चन्द्रभान सिंह ?

चन्द्रभान सिंह भारतको गोवामा एउटा क्लबमा सेक्युरेटी गार्डको काम गर्दै आएका थिए । उनले बिहारको मुंगेरबाट १४ हजार भारुमा स्वचालित पेस्तोल र कटुवा पेस्तोल किनेका थिए ।

सिंह बिहारमै एउटा बैंक लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परी कारागारमा थिए । मात्र तीन महिनाअघि रिहा भएपछि पुनः गोवा पुगेर काम सुरु गरी १५ दिन अघि मात्रै घर फर्किएको अनुसन्धानबाट खुलेको प्रवक्ता गिरीले बताइन्। 

गोवा बसाइकै क्रममा पक्राउ परेका अन्य दुई जनासँग इन्स्टाग्राममा सम्पर्क गरेर लुटपाटको योजनाबारे छलफल गरी पाँच दिन अघि घर आएर उनीहरूले पुन: शिव मनी ट्रान्सफरको रेकी गरेका थिए । शुक्रवारको घटनामा मुनिफकुमार यादव र चन्द्रभान सिंहले हतियार लिएर मनि ट्रान्सफरमा प्रवेश गरेको देखिन्छ । पासवान भने खाली हात भित्र गएको त्यहाँ रहेको सिसिटिभी फुटेजमा देखिएको छ।

सिसिटिभीमा दुई जनाले हतियार बोकेको देखिएको तर पक्राउ परेपछि उनीहरूको साथबाट एउटा हतियार मात्र फेला परेपछि पुनः दशगजा क्षेत्रमा सर्च गर्दा बाँसघारीमा पाँच राउन्ड लोड गरिएको स्वचालित पेस्तोल बरामद भएको डीएसपी गिरीले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

पत्रकार सम्मेलनमा रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले घटना पश्चात् आफ्नै कमान्डमा सीमा क्षेत्रमा नाकाबन्दी गर्दा अपराधीहरूलाई समात्न सफल भएको दाबी गरे। चुनौतीपूर्ण घटना भएपनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा सीमावर्ती क्षेत्रबाट उनीहरूलाई समात्न सफल भएको उनको भनाई थियो । त्यस्ता घटना पुनः दोहोरिन नदिन सीमावर्ती क्षेत्रमा आउने जाने माथि कडा निगरानी शुरु गरिएको एसपी श्रेष्ठले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप