शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पुरानो पुस्ताको जिम्मेवारीलाई नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्छ : सुनिता डंगोल

शनिबार, ०३ चैत २०८०, १९ : ४६
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्ने बताएकी छन् । शनिवार काठमाडौँमा नित्या रञ्जना युनिकोडको विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।  

उनले पुरानो पुस्ताले पनि नयाँ पुस्तालाई सम्मान र प्रोत्साहन दिनुपर्ने बताइन् । डंगोलले आज राम्रो हुने बित्तिकै विगतलाई नबिर्सिन पनि आग्रह गरिन् । देशको राजनीति र विकासमा नयाँ पुस्ता आउन जरुरी रहेको समेत उनले बताइन् ।

राजनीतिमा आउने पुस्ताले पुरानाहरुलाई उत्तिकै सम्मान दिनुपर्ने उनको भनाई थियो । उनले रञ्जना लिपी जस्तै अन्य पुराना लिपीहरुको पनि संरक्षण गर्न आवश्यक रहेको बताइन् । पुराना लिपीहरु लोप हुँदै गएको भन्दै उपप्रमुख डंगोलले त्यसलाई ब्युँताउन हरेक स्थानीय सरकारको भूमिका रहने बताइन् ।

‘आज राम्रो गर्ने बित्तिकै हिजोलाई बिर्सिनु हुँदैन । हिजोको सम्मान गर्नुपर्छ । सँगै हिजोलाई सम्मान गर्ने क्रममा हिजोले पनि आजलाई सम्मान र प्रोत्साहन दिनुपर्छ । रेकग्नाइज गर्नुपर्छ । यो महशुस गरेपछि हामीले सम्पदा र संस्कृतिको क्षेत्रमा मात्रै नभइ हरेक क्षेत्रमा काम गर्न सक्छौँ’ उनले भनिन्– ‘नयाँ पुस्ताको नयाँ तरिका हुन्छ । पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ काँधले बोक्ने आँट पनि चाहिन्छ ।’ 

उनले हामीसँग भएका लिपीहरु मर्दै गएको समेत बताइन् । उनले भनिन्– ‘हामीसँग यति धेरै लिपीहरु छन् जुन अब मर्दै गएका छन् । त्यसलाई ब्युँताउने हो भने हरेक स्थानीय सरकारको भुमिका हुन्छ । आफ्नो भूमिका महशुस गर्नुपर्छ ।’

आजको सार्वजनिक गरिएको रञ्जना युनिकोड फन्ट विश्वका लागि निःशुल्क हुनेछ । सँगै देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध हुनेछ । यो सबैभन्दा उन्नत र राम्रोसँग डिजाइन गरिएको रञ्जना फन्ट रहेको बताइएको छ ।

जुन स्क्रिन, प्रिन्टिङ र वेबका लागि पनि अनुकूलित छ । आधुनिक युगमा लिपीको संरक्षण र प्रवद्र्धन गर्न क्यालिजात्रा फाउण्डेशन र भारतको फन्ट डिजाइन कम्पनी इके टाइपको सहयोगमा रञ्जना युनिकोड फन्टको विकास गरिएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप