मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश सरकार

भागबण्डा नटुङ्गिदै सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेलको दौडधुप

सोमबार, ०५ चैत २०८०, ०९ : २६
सोमबार, ०५ चैत २०८०

मकवानपुर । बागमती प्रदेशको सत्ता गठबन्धनलाई सरकार टिकाउन आवश्यक बहुमतको अभाव छ । सरकार निर्माण र निरन्तरताका लागि सत्ता गठबन्धनलाई हम्मेहम्मे पर्ने अवस्था देखिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल बहुमत जुटाउन दौडधुपमा लागेका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि आफ्नो पक्षमा माहोल बनाउन भूमिका केन्द्रित गरिरहेको छ । ११० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक पर्छ । तर, सत्ता गठबन्धनसँग ५५ सांसदमात्र छन् ।

सत्ता गठबन्धनले समर्थनको अपेक्षा गरेको हाम्रो नेपाली पार्टीले पनि आफ्नो कित्ता प्रस्ट पारेको छ । सो दलले मुख्यमन्त्रीमा दाबी गर्दै कुनै पनि गठबन्धनमा नरहने स्पष्ट पारेको छ । जसका कारण सत्ता गठबन्धन थप दबाबमा परेको छ ।

सरकारमाथि सङ्कट परिरहेको अवस्थामा मुख्यमन्त्री जम्कट्टेलले सत्ता टिकाउन निरन्तर साना दलहरूसँग भेटघाट गर्दै आएका छन् । यद्यपि सत्ता गठबन्धनभित्र प्रदेश सरकारको भागबण्डा टुङ्गिन भने बाँकी छ ।

मुख्यमन्त्री जम्कट्टेलले शनिबारमात्र २ सांसद रहेको हाम्रो नेपाली पार्टी, १३ सांसद रहेको राप्रपा, ३ सांसद रहेको नेमकिपाका नेतालाई भेट गरेका थिए । उनीहरूसँगको भेटमा मुख्यमन्त्री जम्कट्टेलले सरकारको समर्थन र विश्वासको मतका लागि आग्रह गरेका थिए ।

  • मन्त्रीको कमाण्डमा टोली परिचालन

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेलले मन्त्री कै कमाण्डमा टोली परिचालन गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले आफ्नो नेतृत्वको सरकार टिकाउन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’को कमाण्डमा टोली खटाएका हुन् ।

दुलालको कमाण्डमा रहेको टोलीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकाल छन् भने काठमाडौँमा रहेका सांसदहरूले सरकार निरन्तरताका विषयमा भूमिका बढाउँदै लगेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सरकार टिकाउन प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पनि पहल बढाएकी छन् ।

उनीहरूले प्रदेशसभाका दलहरूसँग भेट गर्ने, सरकारमा ल्याउन पहल गर्ने र ती दलले उठाएका मागका सन्दर्भमा छलफल गर्ने तथा मुख्यमन्त्री जम्कट्टेलसँग भेट गराउने भूमिका निर्वाह गरिरहेका छन् ।

शनिबारसम्म उनीहरूले प्रदेशका अधिकांश दलसँग भेट गरिसकेका छन् भने सत्ता गठबन्धनका दलहरू बिच न्यूनतम साझा कार्यक्रमको विषयमा पनि छलफल गरिरहेका छन् ।

  • अहिले कै सरकारले निरन्तरता पाउँछ : प्रमुख सचेतक ढकाल

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्न प्रसाद ढकालले वर्तमान सरकारले नै निरन्तरता पाउने बताए । उनले सत्ता गठबन्धनले भागबण्डा गर्दा बागमतीको हकमा मुख्यमन्त्री जम्कट्टेलले नै सरकारको नेतृत्व गर्ने बताए ।

सत्ता गठबन्धनमा भागबण्डा हुँदा माओवादी केन्द्रको भागमा परेको समयावधि हिसाब गरेर मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएर अघि बढ्ने उनको भनाइ छ । बागमती प्रदेशमा सत्ता गठबन्धन दलहरू बिच कुनै पनि समस्या नरहेकाले सरकार निरन्तर चल्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

‘सत्ता गठबन्धनको केन्द्रीय तहमा छलफल सुरु भएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शीर्ष नेताहरूको व्यस्तताका कारण छलफल सुरु हुन सकेको छैन । बागमतीमा मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वको सरकारले निरन्तरता पाउँछ,’ उनले भने ।

माओवादी केन्द्रले निश्चित समयसम्म सरकारको नेतृत्व पाउने जिकिर गर्दै उनले अहिले राजीनामा गरेर पछि फेरि जम्कट्टेलको नेतृत्वमा सरकार गठन गर्नु उत्तम नहुने प्रस्ट पारे । त्यसैले अहिले कै सरकारलाई निरन्तरता दिएर निश्चित समयपछि सरकारको नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

उनका अनुसार सरकारको निरन्तरताका विषयमा सत्ता गठबन्धन र अन्य दलहरूसँग निरन्तर छलफल भइरहेको छ । भागबण्डा टुङ्ग्याए लगत्तै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने र सरकारको न्यूनतम साझा कार्यक्रम जारी गरी अघि बढ्ने तयारी अनुसार छलफल भइरहेको प्रमुख सचेतक ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप