आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपा राष्ट्रिय राजनीतिको ‘किङमेकर’ बनेको छ : स्वर्णिम वाग्ले

शनिबार, १० चैत २०८०, १६ : ४६
शनिबार, १० चैत २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उपसभापति डा. स्वर्णिम वाग्लेले २० जना सांसदले नै प्रतिनिधि सभालाई चलायमान बनाइरहेको बताएका छन् । वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति प्रष्ट पार्नलाई आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले ८८४ जनामध्ये २० जना सांसदले मात्रै प्रतिनिधिसभालाई चलायमान बनाएको बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी धेरै बोलेको भन्दै आलोचना सुरु भएको छ,’ उनले भने, ‘तर, देशभरमा ८८४ जना सांसद भएको र रास्वपामा २१ जना मात्रै छन् ।’ यसमध्ये पनि एक जना उपसभामुखको हैसियतमा देशलाई सेवा गरिरहेकाले २० जना मात्रै सांसद रास्वपामा रहेको उनले बताए ।

८८४ जना सांसदमध्ये रास्वपाको २० जना मात्रै रहेको र बाँकी सांसदले के गर्दैछन् भनेर सोधखोज गर्नुपर्ने डा. वाग्लेले बताए । रास्वपाले ८४ सम्म कुर्न भने पनि कुशासनको दण्डहीनताले उक्त अवधिसम्म युवा नै नरहने सम्भावना देखेपछि पार्टी सरकारमा गएको बताए । ‘यसपछि पार्टीका सभापतिले विभिन्न नेताहरूसँग २–३ महिनाअघि देखि संवाद बनाएको हो,’ डा. वाग्लेले भने ।

यसक्रममा लामिछानेले कुर्सीलाई मात्र नरोजेर काम गर्न खोजेको वाग्लेले बताए । प्रधानमन्त्रीको कुर्सीमा बसेर काम नगर्नेभन्दा जोखिम मोलेर काम गर्ने पद लामिछानेले रोजेको वाग्लेले बताए । यतिबेला देशमा दण्डहीनताको महामारी आइरहेकाले यी सबै विषयलाई ठिक पार्नका लागि पार्टी सरकारमा गएको समेत वाग्लेको भनाई छ ।

‘अहिले ४–५ जना मन्त्रीले नै यसरी काम गर्छौँ कि, जनताले भन्नेछन् रास्वपाका सबै मन्त्री भए भने यो देश कस्तो होला,’ वाग्लेले भने, ‘यही कारण पनि सरकारमा जान खोजेका हौँ ।’ यस्तै, प्रधानमन्त्रीले मुलुककै ठुलो राजनीतिक दललाई लत्त्याएर चौथो ठुलो दललाई रोज्नुको कारण खोज्न पनि सरकारमा जाने निर्णय गरेको वाग्लेको भनाई छ ।

‘विश्वासको मत लिएकै दिनदेखि गृहमन्त्री लामिछानेले आफ्नो काम सुरु गर्नुभएको छ,’ वाग्लेले थपे, ‘सोही दिन आरती शाहको मुद्दालाई सुल्झाउनुभएको छ ।’ यसबाहेक, मिटरब्याज पीडित र सहकारी समस्या झेलिरहेकाहरूको फाइल समेत टकटक्याउन थालेको वाग्लेले बताए । यसबाहेक, कृष्णबहादुर महराजस्तो हाइप्रोफाइललाई समेत कानुनको घेरा भित्र ल्याइएको वाग्लेले बताए ।

‘सत्तारुढ दलका उपाध्यक्षलाई समेत कानुनको दायरामा ल्याउन सकिन्छ,’ वाग्लेले भने, ‘नेपालका एक मात्र अर्बपति विनोद चौधरीलाई बयानमा उभ्याइयो । उहाँमा मलाई कसले छुने भन्ने खालको भनाई देखिन्थ्यो ।’ तर, विधिको शासनलाई रास्वपाले पछ्याउनेमा दुई मत नरहेको वाग्लेले बताए ।

उनले सरकारमा जाँदै गर्दा बाहिर निस्कने बाटो समेत तय गरिएको बताए । काम गर्न नसकेमा सरकारबाट निस्कने बताउँदै थपे, ‘पैसा नखुवाएरै र भनसुन नगरेरै काम गर्न सकिने रहेछ भन्ने सन्देश रास्वपाको मन्त्रीहरूले दिएका छन् ।’ रास्वपाले सरकारमा रहँदा कागज मिलाएर गरिने नीतिगत भ्रष्टाचारमा पनि सतर्क रहनुपर्ने उनले बताए ।

‘यो प्रकारको रोग हाम्रो पार्टीमा आउन दिनुहुँदैन,’ वाग्लेले भने, ‘तैरिनै पर्ने स्थितिमा भ्रष्टाचार गर्नुपर्ने अवस्था आएको अन्य पार्टीमा देखेका छौँ । हामी त्यस्तो गर्न हुँदैन ।’ यसबाहेक, रास्वपालाई राष्ट्रिय राजनीतिले ‘किङमेकर’का रूपमा पाएको बताउँदै वाग्लेले भने, ‘सुरुसुरुमा खिसिट्यूर गर्ने काम हुन्थ्यो । यो हाम्रो पर्फमेन्सका आधारमा हो ।’ यस्तै, नेपालको सबैभन्दा विश्वसनीय पार्टीका रूपमा रास्वपा मात्रै रहने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप