सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था तथा सुशासन समिति बैठक

रवि लामिछानेबारे कांग्रेसको दोहोरो नीति : प्रतिनिधि सभामा अवरोध, संसदीय समितिमा स्वागत

बुधबार, १४ चैत २०८०, १९ : २२
बुधबार, १४ चैत २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा दोहोरो नीति लिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा बोल्न अवरोध गरिरहेको कांग्रेसले मिनी पार्लियामेन्टको रुपमा रहेको संसदीय समितिमा भने स्वागत गरेको छ ।

प्रतिनिधि सभामा सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिँदा कांग्रेसले सहकारी ठगीको विषय उठाएर संसद् अवरुद्ध गरेको थियो तर बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भने फरक दृश्य थियो ।

गृह मन्त्रालय अन्तर्गत समसामयिक विषयमा बोलाइएको छलफलमा कांग्रेस सांसदहरूले गृहमन्त्री लामिछानेलाई सफल कार्यकालको शुभकामना समेत दिए ।

कांग्रेस सांसद हृदयराम थानीले गृहमन्त्रीलाई बधाई तथा शुभकामना थिए । उनले लामिछाने सोही समितिको सदस्य रहँदा कांग्रेससँग धेरै कुरा मिल्ने गरेको बताउँदै मन्त्रालयमा पुगे पनि त्यस्तै अवस्था रहोस् भनेर शुभकामना दिए ।

सांसद थानीले भने, ‘विशेष गरेर अहिले गृहमन्त्री हुनुभएको माननीयज्यू यही समितिमा पनि हुनुहुन्थ्यो । धेरै कुरामा सहकार्य नै हुन्थ्यो । यहाँबाट त्यहाँ गएपछि विचार नमिल्ने नहोस् है माननीय गृहमन्त्रीज्यू । नेपालको वातावरण त्यस्तै छ, त्यही अनुसार नढल्नुस् । त्यही ठाउँमा उभिनुस् भन्ने मेरो आत्मीय शुभकामना पनि छ ।’

उनले सत्तामा जानकै लागि राजनीति गर्ने भएकाले लामिछाने मन्त्री हुनु स्वाभाविक नै भएको बताए । उनले तेस्रो दलले प्रधानमन्त्री पाएको जिकिर गर्दै धम्क्याउन घुर्क्याउन जाने प्रधानमन्त्री नै हुन सक्ने भन्दै कटाक्ष पनि गरे ।

सांसद थानीले शुभकामना दिँदै केही चुनौती पनि देखाए । उनले गठबन्धन सरकारले सबै कालखण्डका भ्रष्टाचार मुद्दा हेर्ने भनेको उल्लेख गर्दै सुन काण्डमा उच्च पदाधिकारीको सचिवालय नै मुछिएकाले यो देशको अवस्था के हुन्छ भन्दै प्रश्न गरे । उनले गिरीबन्धु टि स्टेटमा पनि भ्रष्टाचार भएको भन्ने कुरा आएकाले त्यसमा छानबिन गर्न सक्ने कि नसक्ने भनेर प्रश्न गरे ।

यस्तै, ललिता निवास प्रकरण, लडाकु शिविर घोटाला प्रकरण, वाइडबडी, यती र ओम्नी लगायतका धेरै मुद्दा रहेकाले त्यसमा छानबिन गर्न सक्ने कि नसक्ने भन्दै प्रश्न गरे । उनले धेरै मानिसले गृहमन्त्री लामिछानेप्रति अपेक्षा गरेको उल्लेख गर्दै सोधे– ‘अपराधीलाई त्यसै छोडदिनँ भनेको के हो ? समाएर छोड्छु भनेको ?’ उनले निर्मला पन्तको बलात्कारपछि भएको घटनाको छानबिन गर्छु भनेको स्मरण गराउँदै त्यसलाई कसरी अगाडि बढाउने भनेर प्रश्न गरे ।

थानीले कर्णाली प्रदेशमा भोकमरीको अवस्था रहेको बताउँदै जाजरकोटको भूकम्प पीडितलाई राहत दिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले गृहमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिए पनि गडबड गरे सोही समितिमा फेरि आफू गृहमन्त्रीमाथि पड्किने चेतावनीसमेत दिए ।

यस्तै कांग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले सुन तस्करीमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री र गृहमन्त्रीले तदारुकता देखाएको भन्दै प्रशंसा नै गरे । 

सांसद बडुले भने, ‘नयाँ सरकार बनेपछि एउटा तदारुकता भने देखियो, सुन तस्करीसँग सम्बन्धित छानबिन आयोग बन्यो, त्यसले आफ्नो प्रतिवेदन पनि बुझाएको छ । अहिलेको नेतृत्व प्रधानमन्त्री र गृहमन्त्री दुवैले एउटा तदारुकता देखाउनुभएको छ कि त्यसको कार्यान्वयनमा प्रमुखताका साथ अघि बढ्नुभएको छ ।’

यद्यपि छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको भन्दै उनले त्यो पनि सार्वजनिक भएमा त्यसको कार्यान्वयन कसरी भइरहेको छ भन्ने मापन गर्ने एउटा आधार हुन्थ्यो भन्ने तर्क गरे ।

प्रतिनिधि सभामा गृहमन्त्रीप्रति आक्रामक हुँदै बैठक अवरोध गरे पनि संसदीय समितिमा भने कांग्रेस सांसदहरूले उनीमाथि जवाफ खोज्दै प्रश्न सोधे र त्यसको उत्तर ध्यानपूर्वक सुने ।

सांसद बडूले गृहमन्त्री लामिछानेलाई लक्षित गर्दै भने, ‘गृहमन्त्री नहुँदा पनि त्यो प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने गर्नुहुन्थ्यो, मन्त्री भएपछि पनि सार्वजनिक गर्छु भन्नुभएको छ तर यो किन रोकिएको हो ? त्यसले कसरी कारबाही हुँदैछ भन्ने विश्वास बढाउँथ्यो होला । त्यसमा पनि विश्वास गरौँ, अक्षरसः त्यसमा छानबिन हुन्छ नै ।’

उनले आफ्नो दलको सांसद विनोद चौधरीमाथि छानबिन हुँदैछ भनेर सभामुखलाई कुन कानुन अनुसार पत्र दिइयो भनेर प्रश्न गरे । साथै सहकारी ठगीको विषय आफ्नो दलले संसदमा पनि उठाएको र छापा सञ्चार माध्यममा ग्यालेक्सी टिभीमा १० करोड गएको र रवि लामिछानेको नाममा पनि एक करोड गएको भन्ने कुरा आएको बताए ।

उनले भने, ‘छापा माध्यममा आए अनुसार पोखरा, बुटवल लगायतका केही सहकारीको सायद १० करोड रुपैयाँले ग्यालेक्सी टिभी सञ्चालनमा आएको र त्यो आउन हुने थियो कि थिएन भन्ने छानबिनको कुरा होला । त्यसमा १ करोड रुपैयाँ रवि लामिछाने भन्ने को व्यक्ति हुन्, थाहा छैन । रवि लामिछानेको नाममा जम्मा भएको भन्ने आयो । हामीलाई अचम्म लाग्यो, हाम्रो गृहमन्त्रीको नाम पनि त्यही छ ।’

त्यसको वास्तविकता के हो भन्नेबारे आफूहरूले संसदमा प्रश्न उठाइरहेको पनि उनले बताए । ‘यदि यो उहाँ नै हो भने यसमा छानबिन भइरहेको भनिएको छ । यो छानबिनलाई निष्पक्ष बनाउन उहाँले केही समय जिम्मेवारीबाट बाहिर गइदिए हुन्थ्यो भन्ने हामीलाई लागेको छ,’ उनले भने ।

बडूले छानबिनको दायरामा गएर सहयोग गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आग्रह गरे ।

कांग्रेस सांसदको प्रश्नमा गृहमन्त्रीको जवाफ– सहकारी ठगीमा मेरो कुनै संलग्नता छैन

संसदीय समितिमा गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम मुछिएको बारेमा प्रष्टिकरण दिए । उनले सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गरे ।  उनले आफ्नो नाम जोडेर उजुरी दिएको तर आफू कुनै सहकारीमा आबद्ध नभएको बताए ।

लामिछानेले भने, ‘सहकारीमा मेरो नाम मुछिएको विषय, जहाँ मेरो नाम भनिएको छ, त्यहाँ मेरो न हस्ताक्षर छ, न ल्याप्चे छ, केवाइसी भरिएको छैन । मेरो नाममा अदालतमा मुद्दा पनि छैन । म सरकारमा आउनु अघि नै प्रहरीमा कुनै तथ्यविना मेरो नाम हालेको कुरामात्रै हो ।’

उनले सांसद विनोद चौधरीमाथि बयान लिँदा उनको स्वतन्त्रता अतिक्रमण भएकोबारे सभामुखलाई जानकारी मात्र गराइएको उल्लेख गरे ।

उनले भने, ‘विनोद चौधरीमाथि अनुसन्धानको पत्र सभामुखलाई पठाएकोमा उहाँको बयान लिँदा उहाँको स्वतन्त्रता अतिक्रमण भएकोबारे जानकारी दिइएको हो ।’

उनले सुरक्षाकर्मीलाई कसैको प्रतिष्ठाका लागि अगाडि पछाडि लगाएर हुने दुरुपयोग स्वीकार्य नभएको समेत बताए । उनले भने, ‘हाम्रा सुरक्षाकर्मी कसैको प्रतिष्ठाका लागि, सुविधाको लागि उनीहरूको घरमा लुगा धोएर बस्दैनन् ।  कसैको प्रतिष्ठाका लागि अगाडि पछाडि लगाएर हुने दुरुपयोग स्वीकार्य छैन ।’

गृहमन्त्री लामिछानेले रात्रिकालीन सहर खुलाउन सुरक्षा व्यवस्था चुस्त हुनुपर्ने बताउँदै सुरक्षा दिन सकिने अवस्था छैन भने त्यसलाई अगाडि बढाउन नहुने बताए ।

कार्यक्षेत्र बाहिरको विषयमा छलफल चलाएको भन्दै एमालेको आपत्ति

यता सत्तापक्ष दल एमालेले भने राज्य व्यवस्था तथा सुशासन समितिमा कार्यक्षेत्र बाहिरको विषयमा छलफल चलाएको भन्दै आपत्ति जनाएको छ । एमाले सांसद पृथ्वी सुब्बा गुरुङ र रघुजी पन्तले समितिका सभापति रामहरि खतिवडाले समितिका सदस्यसँग छलफल नगरी एजेण्डा राखेको र समितिको अधिकार क्षेत्र बाहिरका विषयमा छलफल चलाएको भन्दै विरोध गरे । 

सांसद गुरुङले भने, ‘सभापतिको बैठक राख्ने तरिकाप्रति गम्भीर आपत्ति छ । समितिको विषय क्षेत्र के के हुन्, त्यसमा छलफल हुनुपर्छ । जताततै पसेर जे जे मन लाग्छ, त्यो विषयमा छलफल गर्ने होइन । जोसँग आफ्नो रिस छ, त्यो रिस पोख्ने थलो हो र यो ? हामीले यस्तो गर्ने हो ? हाम्रो समितिले सहकारीको विषय हेर्ने हो र ? लघुवित्तको विषय हेर्ने हो ?’

सभापतिले के विषयमा छलफल गर्ने हो, ट्वाक्क त्यही विषयमा छलफल गराउनुपर्ने उनको भनाइ थियो ।

अर्का सांसद कृष्णगोपाल श्रेष्ठले सभापति खतिवडाले उत्तरतिर हेरेर पूर्वतिर हिर्काउने मनासायका साथ बैठक राखेको भन्दै आपत्ति जनाए ।

उनले बैठक चलाउने तरिका नमिलेको जिकिर गर्दै भने, ‘पूर्वतिर हेरेर पश्चिमतिर हान्ने उद्देश्यका साथ यो बैठक गरिएको छ । सभापतिलाई केही ध्यानाकर्षण गर्नुपर्ने अवस्था छ । राज्य व्यवस्था तथा सुशासन समितिको इज्जत हुन्छ, एउटाले बिराउँछ, संसारलाई डुबाउँछ भनेजस्तो नहोस् ।’ आफ्नो अधिकार क्षेत्रभित्र रहेर मात्र छलफल र निर्णय गर्ने काम गर्नुपर्ने उनले बताए ।

एमालेका अर्का सांसद रघुजी पन्तले सभापति खतिवडालाई खल्तीबाट चिर्कटो निकालेर समितिको निर्देशन नसुनाउन चेतावनी दिए । समितिमा छलफलबाट भएको निर्णयमात्र मान्य हुने पन्तले उल्लेख गरे ।

बुधबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिमा ‘गृह मन्त्रालयबारे समसामयिक विषयमा भएको छलफलमा गृहमन्त्री लामिछाने, रक्षा मन्त्री हरिप्रसाद उप्रेती, गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल लगायतलाई बोलाएर छलफल गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप