शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो सातामा ‘महाजात्रा’

शुक्रबार, १६ चैत २०८०, १७ : २९
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।

आज शुक्रबारबाट प्रदर्शनमा आउने भरिएको एनिमेसन फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएपछि ‘महाजात्रा’ले देशभरकै स्टेशनमा निरन्तरता पाएको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका हलले उच्च शो दिएका छन् । 

फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । ‘पहिलो सातामा काठमाडौँ उपत्यकाका हलहरूमा दर्शकसँग साक्षात्कार गर्दा हामीले पाएको प्रतिक्रियाले थप हौसला मिलेको छ । उहाँहरूले मध्यान्तर अगाडि मनोरञ्जन लिनुका साथै मध्यान्तरपछि देखाइएको देशको समसामयिक विषयलाई रुचाउनुभएको छ । हामीले मनोरञ्जनसँगै दिनु खोजेको सन्देशलाई दर्शकले ग्रहण गर्नुभएको छ’, भट्टराईले भने । 

फिल्मले नेपालमा मात्र नभई विदेशमा पनि व्यापार गरिरहेको छ । पहिलो साता अस्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शोहरू ‘सोल्ड आउट’ भएका छन् भने संयुक्त राज्य अमेरिका र बेलायतमा नियमित बक्सअफिसमै प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार आयोजित शो ‘सोल्ड आउट’ हुनु र दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाउनुले फिल्म दोस्रो सातामा पनि नियमित प्रदर्शनमा छ । 

यस्तै, चैत १५ (मार्च २८) देखि मध्यपूर्वका देशहरूमा समेत ‘महाजात्रा’ को प्रदर्शनको सुरुआत गरेको छ । नेपालकै ठुलो सिनेमा हलको चेन क्युएफएक्सले ‘महाजात्रा’ लाई ‘सुपरहिट’ ट्याग दिएको छ । पहिलोपटक उक्त हलले नेपाली फिल्मलाई यसरी आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ घोषणा गरेको हो । क्युएफएक्सकी जेनरल म्यानेजर तृप्ति गिरीले केही समय अगाडिको निर्णय अनुसार फिल्मलाई वर्गीकरण गरिएको बताइन् । 

मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ६० शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ७ शो, लबिम मलमा ६ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ५ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ५ शो, वुटवलमा ५ शो, दमौलीमा ३ शो, नारायणघाटमा रहेको जलमामा ५ शो, विराटनगरमा ५ शो, विर्तामोडमा ६ शो, विरगंजमा २, इटहरीमा ५ शो दिएको छ ।

काठमाडौँमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ५ शो, गोङ्गबुमा रहेको बिएसआर मुभिजमा ६ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ६ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ६ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा ४ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ६ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा ३ शो, सितापाइलामा रहेको सिके सिनेमाजमा ५ शो, गोङ्गबुमा रहेको इन्फिनिटी मुभिजमा ५ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ५ शो र कालिमाटीमा ५ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ६ शो, बानेश्वरमा रहेको आइएनआईमा ५ शो र बुटवलमा रहेको आइएनआइमा ६ शो दिएको छ ।

आपत्कालीन रूपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाइएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप