शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति प्रक्रिया टुङ्ग्याउने कामलाई बार्गेनिङको विषय नबनाऔँ : सांसद पौडेल

आइतबार, १८ चैत २०८०, १३ : ३०
आइतबार, १८ चैत २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुङ्ग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले संसद् भित्रका दलहरू सत्तापक्ष र प्रतिपक्षमा पालोफेरो हुने गरेका भन्दै संविधानले निर्दिष्ट गरेका कानुनहरू बनाउने कुरामा सबै एकै ठाउँमा हुनुपर्ने बताएका हुन् । 

उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगसँग सम्बन्धित विधेयकलाई छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्ने बताए । त्यस्तै शिक्षा ऐन, निजामती कर्मचारी ऐन, वन, प्रहरी र भूमिसँग सम्बन्धित ऐनलाई पनि छिटोभन्दा छिटो ल्याउनुपर्ने बताए ।

उनले भन्नुभयो – ‘कानुन मन्त्रालयले ११७ वटा विधेयकको तयारी गरेको सुन्नमा आएको छ । यो भन्दा पहिलाको सदनको कुरा हेर्दा निकै दुःख लाग्दो गरी एकाध बाहेक हामीले आपसमा कटाक्ष गर्ने बाहेक हामीले महत्त्वपूर्ण काम गर्न सकेनौँ । यो सदन र यसपछि हुने सदनहरूले कानुन मन्त्रालयले तयार पारेका यस प्रकारका ऐनहरूलाई टुङ्गो लगाएर देशलाई एउटा निश्चित प्रणालीमा लिएर जानुपर्ने इतिहासको आवश्यकता बनिसकेको छ । टीआरसी सँग सम्बन्धित कानुन बनिसकेको छैन । हामी दलका प्रतिनिधिहरू यही सदनभित्र बस्दा कहिले कुन त कहिले कुन खण्डमा गएर बस्छौँ । तर संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरू बनाउने प्रसङ्गमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी छानबिन आयोग पनि यत्तिकै अल्झिएर बसेको छ । हामी यसलाई छिटै टुङ्गो लगाउनुपर्ने छ । यसको निम्ति कसैले पनि बार्गेनिङको विषय नबनाऔँ । यो कानुन लगायत अन्य थुप्रै कानुनहरू पनि हामीले गर्नुपर्नेछ । शिक्षा ऐन, निजामती ऐन ल्याउन सकेका छैनौँ । वन ऐन, प्रहरी ऐन, भूमि ऐन जस्ता कानुनहरू हामीले ल्याउन नसक्दा खेरी तीन तहको सरकारको संरचना व्यवस्थित रूपमा जनताका बिचमा कार्य सम्पादनमा अगाडि बढेर नागरिकलाई विश्वस्त दिलाउन सकेका छैनन् । यी सरकारलाई प्रभावकारी बनाउन कानुहरूको आवश्यकता छ । सदन कटाक्ष गर्ने थलो नबनोस् । सदन परिणाममुखी थलो बनोस् ।’

उनले संसद्लाई कटाक्ष गर्ने थलो नबनाई जनतामा परेका समस्या समाधान गर्ने परिणाममुखी थलो बनाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप