आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गुजरातले सात विकेटले हरायो हैदराबादलाई

आइतबार, १८ चैत २०८०, १९ : १८
आइतबार, १८ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । जारी प्रतियोगितामा तेस्रो खेल खेलेको गुजरातको यो दोस्रो जित हो । एक खेलमा भने गुजरात पराजित भएको थियो ।

गुजरातले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको थियो । दोस्रो खेलमा भने गुजरातको टोली बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्ससँग उसैको घरेलु मैदानमा ६३ रनले पराजित भएको थियो । 

यसैगरी जारी प्रतियोगितामा तेस्रो खेल खेलेको हैदराबादको यो दोस्रो हार हो । हैदराबादले पनि यसअघि खेलिएको दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । हैदराबाद आफ्नो पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग चार रनले पराजित भएको थियो । दोस्रो खेलमा भने हैदराबादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको थियो ।

अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार टस जिती पहिले ब्याटिङको निर्णय लिएको हैदराबादले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले १९.१ ओभरमा तीन विकेट गुमाएर एक सय ६८ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । 

गुजरातका लागि साई सुदर्शनले ४५ रनको योगदान गरे । उनले केवल ३६ बलको सामना गरी एक छक्का र चार चौका प्रहार गरे । डभिड मिलरले पनि अविजित ४४ रन बनाए । उनले केवल २७ बलमा दुई छक्का र चार चौका हिर्काए । 

यसैगरी कप्तान शुभमन गिलले टोलीको खातामा ३६ रन थपे । उनले २८ बलमा एक छक्का र दुई चौका प्रहार गरे । ओपनर ऋद्धिमन साहले पनि टोलीको खातामा २५ रन थपे । उनले केवल १३ बलमा दुई छक्का र एक चौका प्रहार गरे । विजय शंकर १४ रनमा अविजित रहे । हैदराबादका बलर सहबाज अहमद, मायांक कारकन्डे र प्याट कमिन्सले एक-एक विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको हैदराबादका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेख्य पाली खेल्न सकेका थिएनन् । अभिषेक शर्माले २९ रन बनाएका थिए । उनले २० बलमा दुई छक्का र दुई चौका हिर्काएका थिए । 

अब्दुल समादले पनि टोलीको खातामा २९ रन थपेका थिए । उनले केवल १४ बलमा एक छक्का र तीन चौका प्रहार गरेका थिए । विकेटकिपर ब्याट्सम्यान हेनरिच क्लासेसनले १३ बलमा दुई छक्का र एक चौकाको मद्दतले २४ रन बनाए । 

सहबाज अहमदले टोलीको खातामा २२ रन थपे । ओपनर ट्राभिस हेड १९ र अर्का ओपनर मयांक अग्रवाल १६ रन बनाउँदै पेभेलियन फर्किए । गुजरातका बलर मोहित शर्माले तीन विकेट लिए । अजमतुल्लाह ओमरजाई, उमेश यादब, रासिद खान र नुर अहमदले पनि एक-एक विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप