बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

एमालेको भागमा कर्णाली परेपछि माओवादीका सांसद भन्छन्- राजीनामा दिने त कुरा नै हुन्न

एमाले भन्छ- केन्द्रको निर्णय मान्ने हो भने मुख्यमन्त्रीले राजीनामा दिनेबाहेक अरू विकल्प छैन
सोमबार, १९ चैत २०८०, २१ : २८
सोमबार, १९ चैत २०८०

सुर्खेत । जसरी हुन्छ वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिनुपर्ने चर्को दबाबका बिचमा पनि केन्द्रीय सत्तारुढ गठबन्धनले कर्णाली एमालेको भागमा पारेपछि माओवादी प्रदेश तहका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराइसकेको अवस्थामा केन्द्रले गलत तरिकाले सोच्दै नसोचेर निर्णय गरेको माओवादी सांसदहरूको भनाई छ । 

मुख्यमन्त्री राजकुमार शर्माले भने मंगलबार विश्वासको मत लिने तयारी स्वरूप आइतबार नै प्रदेश सभामा पत्र दर्ता गराइसकेका छन् । केन्द्रमा फरक सहमति भएपछि अब के हुने भन्नेबारे पनि अन्यौलता कायमै छ । 

माओवादीभित्र कर्णालीको नेतृत्व पार्टीले नै पाउनुपर्ने आवाज उठ्दै आए पनि अन्ततः एमालेलाई नै दिनेगरी केन्द्रमा सहमति भएको हो । सरकारका प्रवक्ता, एवम् कानुन मन्त्री कृष्णबहादुर जिसी केन्द्रबाट बेसमय, गलत तरिकाले निर्णय आएको रातोपाटीलाई बताए । साथै उनले मुख्यमन्त्रीले विश्वासको मत लिएर नै छाड्ने दाबी पनि गरे । उनी भन्छन्,‘राजीनामा दिने त कुरा नै हुन्न, प्रदेश सभाको कार्यसुची अनुसार विश्वासको मत लिने कुरा भइसकेको छ ।’ 

यदि केन्द्रको निर्णय अनुसार अघि बढ्ने हो भने पनि विश्वासको मत लिइसकेपछि मात्रै अघि बढ्ने उनले बताए । अब विश्वासको मतका लागि निर्णय भइसकेपछि कुन नैतिकताले पछि हट्ने ? भन्दै जिसीले उल्टै प्रश्न गरे । संवैधानिक प्रक्रियाहरू अवलम्बन गरेर अघि बढिसकेपछि केन्द्रले निर्णय गर्दा प्रदेशको स्वायत्तता हरण हुने गरेर गर्नु राम्रो नभएको पनि उनको भनाइ छ । 

तपाईँहरुको भावना विपरीत निर्णय आयो ? कांग्रेससँग मिलेर जाने सोच माओवादीको छ वा छैन ? भन्ने प्रश्नमा जिसी अहिले नै त्यो विषयमा कुनै नसोचिएको बताउँछन् । केन्द्रले निर्णय दिँदा ढिलाइ गरेको उनले बताए । 

उनको भनाइ छ, ‘निर्णय दिँदा विश्वासको मतका लागि पत्र दर्ता गर्नु भन्दाअघि मुख्यमन्त्रीलाई जानकारी गराइनुपर्ने हो । केन्द्रले गर्ने कुरा आफ्नो ठाउँमा स्वाभाविक होला तर, प्रक्रियामा गइसकेकाले विश्वासको मतबाट दायाँ बायाँ हुँदैन ।’ 

माओवादी संसदीय दलका प्रमुख सचेतक, रिणसिं परियार पनि आफूहरूको आशा विपरीत निर्णय आएको बताउँछन् । अब मुख्यमन्त्री शर्मासामु राजीनामा दिने कि प्रदेशसभा फेस गर्ने ? दुईवटा विकल्प छन् । 

मुख्यमन्त्रीको सचिवालयका एक कर्मचारीले यो विषयमा अब भोलि बिहान नै छलफल हुने बताए । यता माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले भने केन्द्रको निर्णयलाई नै मानेर जानुपर्ने तर्क राखे । ‘निर्णय भएर सर्कुलर पनि आइसकेको छ,’ उनले भने, ‘निर्णय मान्नैपर्ने हुन्छ ।’ 

तर, एमालेका नेताहरू भने मुख्यमन्त्रीले भोलि नै राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने बताउँछन् । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले मुख्यमन्त्रीले राजीनामा दिई सहज वातावरण बनाउनुपर्ने बताए ।

उनले रातोपाटीसँग भने, ‘विश्वासको मत लिने कुरा हुँदैन, भोलि विश्वासको मत लिए फेरि छोड्ने, फेरि विश्वासको मत लिने यो बेकारमा किन गर्ने ? साँचो रुपमा केन्द्रको निर्णय मान्ने हो भने उहाँले राजीनामा दिने बाहेक अरू विकल्प रहँदैन ।’ 

निर्णय भइसकेको कुरालाई कार्यान्वयनमा लैजाने कुरा अहिले माओवादीमा निर्भर रहने पनि उनले बताए । यदि मुख्यमन्त्रीले विश्वासको मत लिने नै भएपछि चाहिँ के गर्नुहुन्छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘यदि उहाँले त्यसै गर्नुभयो भने हामी भोलि नै दलको बैठक बसेर निर्णय गर्छौँ ।’ 

यदि केन्द्रीय गठबन्धन अनुसार एमालेको नेतृत्वमा सरकार बनेको खण्डमा मुख्यमन्त्री यामलाल कँडेल बन्नेछन् । ०७४ मै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेश झरेका कँडेल त्यो बेला एमालेसँग २० सिट हुँदा पनि मुख्यमन्त्री बन्ने अवसरबाट चुकेका थिए ।

तत्कालीन नेकपा हुँदा बिचमा मुख्यमन्त्री बन्न उनले पटक–पटक विद्रोह पनि गरे । तर, उनी मुख्यमन्त्री बन्न सकेका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप