बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बनाउन छलफल सुरु

मङ्गलबार, २० चैत २०८०, ०९ : ५६
मङ्गलबार, २० चैत २०८०

बुटवल । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन हुने भएको छ । प्रदेशको नेतृत्व अब नेकपा माओवादी केन्द्रले लिने भएको हो । 

कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई हटाएर माओवादीको संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने तयारी गरेका छन् । महरा रोल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित हुन् । उनी यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । 

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रबाट सर्कुलेसन आएकाले आफूहरू नयाँ सरकार बनाउन आन्तरिक छलफलमा रहेका राताेपाटीलाई बताए । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत पाइसकेका छन् ।

यसैगरी नेकपा एमालेले कर्णाली, कोशी, गण्डकी प्रदेशमा सरकारको नेतृत्व गर्नेछ।  मधेसमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले नेतृत्व पाउने गरी गठबन्धनमा निर्णय भएको एक एमाले नेताले जानकारी दिए ।

माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि लुम्बिनी कांग्रेसका मुख्यमन्त्री चौधरी अल्पमतमा छन् । चैत २२ गतेभित्र मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्छ । तर, नयाँ गठबन्धनबाट माओवादीसहित नेकपा एमाले, जसपा, नेकपा एस र एक जना 'माओवादीनिकट' स्वतन्त्र प्रदेश सभा सदस्यलाई समेटेर सरकार बनाउने तयारी भइरहेको छ । 

नयाँ गठबन्धन दलहरूले नागरिक उन्मुक्तिले पनि माओवादी नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने दाबी गर्दै आएका छन् । तर, नागरिक उन्मुक्ति भने हालसम्म अनिर्णीत छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादीका सभामुखसहित ११, जसपाका ३, नेकपा एसका १ र एक जना माओवादीनिकट स्वतन्त्र प्रदेश सभा सदस्य छन् । नागरिक उन्मुक्ति सरकारमा सहभागी नभए पनि जसपा, नेकपा एस र स्वतन्त्रको समर्थनमा सरकार बनाउने गरी माओवादीले छलफल सुरु गरेको छ । अध्यक्ष बरालले अन्य दलहरूसँग छलफल गरेर बहुमतको हस्ताक्षरसहित बुधबारसम्म प्रदेश प्रमुख कहाँ जाने बताए ।

यता मुख्यमन्त्री चौधरीले पनि अन्तिमसम्म सरकार जोगाउने गरी प्रयास गरिरहेका छन् । कांग्रेस नेतृत्वको सरकारलाई लोसपा, जसपा, नागरिक उन्मुक्ति, जनमत, नेकपा एस र राष्ट्रिय जनमोर्चाको समर्थन छ । 

सङ्घीय सरकारमा नयाँ गठबन्धनमा सहभागी भएको जसपाले अहिलेसम्म पनि सरकार छोडेको छैन । चैत २२ गतेसम्म विश्वासको मत लिने समय भएकोले सोही गृहकार्यमा रहेको मुख्यमन्त्री कार्यालय सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप