मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ

बुधबार, २१ चैत २०८०, १२ : ५९
बुधबार, २१ चैत २०८०

बरहथवा । सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख अनिलराज गिरीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटना शङ्कास्पद देखिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा वृद्धाको हत्या भएको शङ्का लागेकाले अनुसन्धानका लागि एक युवकलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

मृतक वृद्धाको अनुहारमा चोट देखिएको र नजिकै रगत लागेको अवस्थामा काठको टुक्रा पनि बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले सिसी क्यामेराका आधारमा अनुसन्धान गर्दा अन्दाजी २८/३० वर्षका युवक पक्राउ परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

अनुसन्धान नसकिएकाले युवकको परिचय गोप्य राखिएको प्रहरीले जनाएको हो । वृद्धाको शव शवपरीक्षणका लागि जिल्लास्थित प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप