शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालय सुधारको कार्ययोजना पेस गर्न शिक्षामन्त्रीको निर्देशन

शुक्रबार, २३ चैत २०८०, १८ : ३३
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय सुधार गर्ने कार्ययोजना पेस गर्न निर्देशन दिएकी छन् । विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्न कार्य योजना पेस गर्न उपकुलपति प्राडा केशरजंग बराललाई उनले निर्देशन दिएकी हुन् ।

विश्वविद्यालयको सहकुलपतिको हैसियतले उनले उपकुलतलाई निर्देशन दिएकी हुन् । विश्वविद्यालयको सेवा प्रवाह र सुशासनका सम्बन्धमा विभिन्न प्रश्न उठिरहेको भन्दै मन्त्री श्रेष्ठले पाँच बुँदे निर्देशन दिइएको बताइन् ।

शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले त्रिविमा देखा परेका विभिन्न समस्याबारे अवगत रहेको बताउँदै त्यसका लागि निर्देशन दिइएको बताइन् ।

प्रणालीगत सुधार, चुस्त र गुणस्तरीय सेवा प्रवाह, शैक्षिक क्यालेन्डर कडाइका साथ लागूगर्ने लगायतका विषयहरू समेटी विश्वविद्यालयको समष्टिगत सुधारको कार्य योजना तयार गरी यथाशीघ्र मन्त्रालयमा पेस गर्न भनेकी हुन् ।

उनले दिएको निर्देशनमा उत्तर पुस्तिका हराएको विषयमा गठित उच्चस्तरीय छानबिन समितिको काम कारबाहीको प्रगतिबारे प्रश्न गरेकी छन् । ३० दिनभित्र उक्त समितिले पेस गर्ने भनिएको प्रतिवेदन कार्यान्वयनको सुनिश्चितता सहित सम्बन्धित प्रक्रियामा संलग्न दोषी उपर कारबाहीको सुनिश्चितता कसरी हुने भनेर समेत प्रश्न गरेकी छन् ।

त्यस्तै स्नातकोत्तर चौथो सेमेस्टरअन्तर्गत अर्थशास्त्र विषयको प्रश्न पत्रमा एउटै प्रश्न दुई ठाउँ सोधिएको विषयमा समेत उनले प्रश्न गरेकी छन् ।

त्यस्तै इन्जिनियरिङ अध्ययन संस्थानतर्फ स्नातक तहमा ‘अटोमोबाइल’ विषयमा पुरानो सेमेस्टरबाट प्रश्न सोधिएको विषयमा समेत उनले प्रश्न गरेकी छन् ।

त्यस्तै शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा लागु गर्ने सम्बन्धमा के कस्तो कार्य योजना रहेको छ भने प्रश्न पनि उनले गरेकी छन् ।

विद्यार्थीहरूलाई प्रत्यक्ष मर्का परेको विषयमा संवेदनशील र जबाफदेही हुँदै विश्वविद्यालयले विद्यार्थीहरूसँग माफी मागेको छ कि छैन ? भनेर समेत उनले प्रश्न गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप