बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय
कविता के हो, कस्तो हुनुपर्छ कविता ?
कविता विमर्श

कविता के हो, कस्तो हुनुपर्छ कविता ?

समकालीन कविता अभिधामूलक पनि छन्, तीनमा विम्ब र प्रतीकहरूको प्रयोग कम छ
शनिबार, २४ चैत २०८०

कविता साहित्यको सबैभन्दा प्राचीन विधा हो । यो सबैभन्दा धेरै लेखिने विधा पनि हो । सुरुदेखि नै कविता धेरै लेखिँदै आइएको छ । आरम्भमा कविताको रचना मौखिक रूपमा गरिन्थ्यो र गाइन्थ्यो । गाएरै एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिन्थ्यो । लिपिको आविष्कारपछि मात्र कविता लेखिन थालेको हो । आज पनि गाउँघरमा मौखिक रूपमा कविता रच्ने र गाउनेहरू पाइन्छन् । 

प्राचीन समयमै कविताका विविध रूपहरू अस्तित्वमा आएका हुन् । आज पनि ती अस्तित्वमा छन् । फुटकर कविता नै आज बढी लेखिँदै छन् । लघु आकारका गद्य कविता अहिले सबैभन्दा बढी लेखिने कविता हुन् । छन्दमा पनि कविता लेखिँदै छ । 

नेपाली साहित्यको आरम्भ कविताबाटै भएको थियो । अहिले पनि धेरैले कलम चलाउने विधा यही हो । नेपाली साहित्यमा कविता नै सबैभन्दा बढी लेखिएको छ । सङ्ख्याका दृष्टिले सबैभन्दा धेरै कवि नै छन् । वर्तमानमा पनि कविता नै सबैभन्दा बढी लेखिँदै छ । 

कविता साहित्यका अन्य विधाभन्दा भिन्न छ । यही भिन्नता नै यसको विधागत विशिष्टता पनि हो । कविता विशिष्ट संरचनाका कारण मात्र अन्य विधाहरूभन्दा भिन्न छैन, यथार्थको आभ्यान्तरीकरण र प्र्रकटीकरणका दृष्टिले पनि भिन्न छ ।

मुक्तिबोधका अनुसार कविले जीवन र जगत्लाई ज्ञानात्मक संवेदनासहित बोध गर्छ र संवेदनात्मक ज्ञानसहित अभिव्यक्ति दिन्छ । विचार, भावना, संवेदना, जीवन अनुभव, उद्देश्य आदिजस्ता कविको आन्तरिक जगत्का अवयवसँग एकीकृत भएर बाह्य यथार्थले कवितामा अभिव्यक्ति पाउँछ । कवितामा स्रष्टा बाहिरबाट भित्रतिर प्रवेश गर्छ र सिर्जना गर्छ । अन्य विधामा स्रष्टा भित्रबाट बाहिरतिर लाग्छ र रचनामा यथार्थको प्रतिविम्बन गर्छ । बाह्य यथार्थसँगको कविको साक्षात्कार, द्वन्द्व र बोधबाटै उसको आन्तरिक जगत् समृद्ध बन्छ । यसबाट प्राप्त हुने जीवन अनुभवको कविता सिर्जनामा महत्त्वपूर्ण भूमिका रहन्छ । 

amar giri (1)

जीवन अनुभव नै मूलतः कविता सिर्जनाको आधार हो । संवेदनात्मक गहिराइ, अनुभूतिको सूक्ष्मता एवंं तीव्रता, कल्पनाको विशिष्टता र सौन्दर्य यही जीवन अनुभवसँग जोडिएका छन् । साँचो कविता जीवनसँग मुठभेड मात्रै चाहन्न, जीवन रहस्यको उद्घाटन पनि चाहन्छ भन्ने भारतीय समालोचक परमानन्द श्रीवास्तवको भनाइलाई यसै सन्दर्भमा हेर्न सकिन्छ । स्रष्टाको आत्मप्रदेश यस दृष्टिले जति समृद्ध बन्छ, सुन्दर कविताको सिर्जनाको सम्भावना पनि त्यतिकै रहन्छ । जीवन अनुभवको विपुलता र वैभवमै कविताको सौन्दर्य अडिएको छ । जीवन अनुभव विचार, प्रतिबद्धता, मूल्य, आदर्श र उद्देश्यबाट निरपेक्ष भने रहन्न ।  

कविताको अन्तर्वस्तुमा विचार, भावना, संवेदना, उद्देश्य, यथार्थ आदि पर्छन् । अन्तर्वस्तुले निश्चित रूपमाा अभिव्यक्ति पाउँछ । अन्तर्वस्तुको नवीनताले नयाँ रूपलाई पनि जन्म दिन्छ । सुन्दर कवितामा पाइने शिल्पगत नवीनता अन्तर्वस्तुको नवीनतासँग जोडिएको हुन्छ । अन्तर्वस्तुको नवीनता जीवन र जगत्बोधको प्रक्रियामा प्राप्त जीवन अनुभवको नवीनता र विपुलतासँग जोडिन्छ । अनुभूतिका नयाँ नयाँ झिल्का संंवेदनात्मक गहिराइ र कल्पनात्मक उचाइ प्राप्त गर्दा कविता विशिष्ट बन्छन् । जीवन र जगत्प्रतिको अनुराग, मानवीय गरिमा र सौन्दर्यप्रतिको गम्भीरता, सुन्दरको आकाङ्क्षा, विभेदहरूको अन्त्य र परिवर्तनको स्वप्नले नै कवितालाई सुन्दर बनाउँछन् । कविता जीवन, धर्ती, त्यसका सुखदुःख, स्वप्न–सङ्घर्षहरूसँग जोडिएर नै जीवित रहँदै आएको छ । 

कविता सुन्दर अन्तर्वस्तुका कारण नै प्रिय रहँदै आएको छ र रहनेछ । मनुष्यले कविताको रचना जीवनका अनुभवहरूको प्रकाशन र आनन्दका निम्ति मात्र गरेको थिएन, जीवन र जगत्को रूपान्तरणका निम्ति पनि गरेको थियो ।

उद्दाम जीवनशक्ति, जीवनको सूक्ष्म र विस्तृत चित्रण, उद्दात्त मूल्य, सुन्दर जीवन दृष्टि र आलोचनात्मक विवेकले नै कवितालाई उच्च बनाउँछन् । सुन्दर कवितामा पाइने विशेषता हुन् यी । सुन्दर कविता सधैँ असमान र कुरूप संसारका विरुद्ध उभिन्छ र प्रकाशको गीत गाउँछ । 

अन्तर्वस्तुको नवीनता र सुन्दर भावले मात्र पनि कविता सजीव हुँदैनन् । सजीव हुनका निम्ति यसको कलात्मक प्रकटीकरण पनि चाहिन्छ । कविताका संरचनागत उपकरणहरूको यसमा ठुलो भूमिका हुन्छ । कविताको अन्तर्वस्तुलाई प्रभावकारी संरचनामा व्यक्त गर्न सक्दा नै त्यसले मनुष्यको हृदयसँग संवाद गर्न सक्छ । क्रिस्टोफर कडवेलले कवितालाई माझिएको भाषा भन्नुको तात्पर्य पनि यही थियो । कवितालाई माझिएको भाषा बनाउन यसको संरचनामा ध्यान दिनुपर्छ ।

  • बनोट र बुनोट

कविताको संरचनामा बनोट र बुनोट पर्छन् । बनोट कविताको स्थूल संरचनासँग सम्बन्धित रहेको छ । बुनोट सूक्ष्म संरचनासँग जोडिएको छ । बनोट अन्तर्गत कविताका आख्यानात्मक, नाटकीय र प्रगीतात्मक संरचनाहरू पर्छन् । बुनोट कविताको भाषासँग सम्बन्धित छ ।  सामान्य भाषिक बुनोट लक्ष्य आधारित ओजस्वी कथन हो । विशिष्ट भाषिक बुनोट उक्तिवैचिœय, व्यङ्ग्यपूर्ण कथन, विपर्यास र विचलनका साथै विम्बविधान, प्रतीकविधान र अलङ्कारविधानको समष्टि हो । कवितामा विशिष्ट भाषिक बुनोटको महत्त्वपूर्ण स्थान रहन्छ । अन्तर्वस्तुको उच्च कलात्मक अभिव्यञ्जनामा यसकै भूमिका प्रमुख हुन्छ । सुन्दर कविताका निम्ति शब्दसङ्गति, अर्थसङ्गति र लयसङ्गति चाहिन्छ । 

रिचर्डस् भाषिक सङ्गतिमा जोड दिन्छन् । कवितामा शब्दहरू सङ्गतिपूर्ण अनुक्रममा रहनुपर्छ र तिनले एकअर्कालाई सघाउनुपर्छ । कवितामा भाव सङ्गति र लय सङ्गति पनि चाहिन्छ । कवितामा अन्तःसङ्गीतको प्रवाहमा व्यवधान वा विच्छेदको स्थिति निर्माण हुन हुन्न । पास्तरनाक कवितामा लयलाई अत्यधिक महत्त्व प्रदान गर्छन् । अन्य काव्य चिन्तकले पनि लयलाई अत्यधिक महत्त्व दिँदै आएका छन् । लय कविताको विशिष्ट चिनारी हो । 

कवितामा सोझो कथन त्यति उपयुक्त मानिन्न । कवितालाई अभिधामूलक होइन, व्यञ्जनामूलक भाषाले जीवन्त बनाउँछ । कविताले थोरैमा धेरै भन्न सक्नुपर्छ । समकालीन कविता अभिधामूलक पनि छन्, तीनमा विम्ब र प्रतीकहरूको प्रयोग कम पाइन्छ । यस्ता कैयौँ कविता राम्रा पनि छन् । नामवर सिंह सत्यको उद्घाटनमा विम्बलाई कविहरूले बाधक ठान्न थालेको उल्लेख गर्छन् र सपाट भाषामा पनि कविता लेखिँदै छ भन्छन् । उनको कथनमा सत्यको अंश पनि छ । तर कविता ध्वयनात्मक नै राम्रो हुन्छ । आवेगलाई कविताले ध्वयनात्मक रूपमै प्रभावकारी ढङ्गले अभिव्यक्ति दिन सक्छ । 

amar giri (5)

संरचनाको भूमिका कवितामा महत्त्वपूर्ण रहे पनि यसले मात्रै कवितालाई जीवन्त बनाउँदैन । कविता अन्तर्वस्तुका दृष्टिले सुन्दर हुनैपर्छ । होइन भने त्यो कागजको फूलजस्तै हुन्छ । कविताको रूप वा संरचनालाई प्रधान ठान्नेहरू पनि छन् । यो रूपवादी, कलावादी दृष्टिकोण हो । यो साहित्यको समाजपरक र सौन्दर्यपरक भूमिकाका विरुद्धमा उभिन्छ । 

कविता सुन्दर अन्तर्वस्तुका कारण नै प्रिय रहँदै आएको छ र रहनेछ । मनुष्यले कविताको रचना जीवनका अनुभवहरूको प्रकाशन र आनन्दका निम्ति मात्र गरेको थिएन, जीवन र जगत्को रूपान्तरणका निम्ति पनि गरेको थियो । सौन्दर्यको महत्त्व मनुष्यको आभ्यान्तरिक जगत्को परिष्कारसँग जोडिएको छ । काव्यानन्दले निर्वाह गर्ने भूमिका यही हो । कविताको पठनबाट प्राप्त हुने आनन्दलाई कविताको संज्ञानात्मक र शिक्षात्मक पक्षसँग अलग गर्न सकिन्न । 

वर्तमानमा सयौँ नेपाली स्रष्टाहरू कविता सिर्जनामा सक्रिय छन् । साहित्यका अन्य कुनै विधामा यति धेरै स्रष्टा सक्रिय पाइन्नन् । कविता लेख्न सजिलो ठानेर सुरुसुरुमा धेरै यसतिर लाग्छन् । समय क्रममा कैयौँले लेख्न छाड्छन् । धेरै लेखनबाट बारिहिँदा पनि कविता सिर्जना गर्नेहरूको सङ्ख्या नै सबैभन्दा धेरै हुन्छ । 

  • समकालीन नेपाली कवितामा प्रश्न

समकालीन नेपाली कवितामा विभिन्न उमेर समूहका कवि सक्रिय छन् । सयौँ कवि कविता सिर्जनामा सक्रिय रहे पनि राम्रो लेख्नेहरूको सङ्ख्या थोरै छ । राम्रो र कमजोर दुवै लेखनका बारेमा गहिरो विमर्श भएको पाइँदैन । 

राम्रो भनेको कति राम्रो हो ? यसका विशेषता के हुन् ? परम्परादेखि यो कहाँनेर भिन्न छ र कहाँनेर जोडिन्छ ? समकालीन यथार्थको प्रतिविम्बन कवितामा कसरी भएको छ ? के हुँदा कविता सजीव हुन्छ ? के समकालीन कविता कतिपयले भन्ने गरेजस्तो उस्तै–उस्तै छन् वा कविहरू आफ्नो निजतासहित राम्रा रचना सिर्जना गरिरहेछन् ? धेरै रचनाहरू किन कमजोर छन् ? कतै साहित्यिक पर्यावरण प्रदूषित हुँदै त छैन ? कवितामा भूमण्डलीकरण, बजारवाद, उपभोक्तावाद आदिको कस्तो प्रभाव परेको छ ? अध्ययन एवं साधनाको स्थिति कस्तो छ ? अन्तर्राष्ट्रिय रूपमा हेर्दा हाम्रा कविता कहाँनेर छन् ? आदिजस्ता प्रश्नमाथि गम्भीर विचार विमर्श भएको पाइँदैन । गम्भीर विमर्शको अभाव पनि कमजोर रचनाहरू धेरै लेखिनुको एउटा महत्त्वपूर्ण कारण हो । 

amar giri (2)

कविता सिर्जनामा सक्रिय कैयौँमा विधागत चेतना नै पाइँदैन । कैयौँ कविमा न गहिरो अध्ययन पाइन्छ न त परिष्कृत हुँदै जानुपर्छ भन्ने बोध नै; न स्पष्ट दृष्टिकोण पाइन्छ न त अनुभवको परिपाक नै; न कविताको स्थापत्यप्रति सचेतता पाइन्छ न त कलात्मक उपकरणहरूको प्रयोगप्रति गम्भीरता नै; न कथनको नयाँपनप्रति जागरुकता पाइन्छ न त साधना नै; न गहिरो जीवनबोध पाइन्छ न त कुरूपसँग मुठभेड गर्ने साहस नै । सिर्जनाप्रतिको गम्भीरतामा रहेको कमीका कारण यस्तो स्थिति निर्माण भएको देखिन्छ । कवितामा मात्र होइन, सिङ्गो नेपाली साहित्यमै यस्तो स्थिति विद्यमान छ । 

मुक्तिबोधले स्रष्टाका निम्ति तीनवटा कुरा निकै महत्त्वपूर्ण छन् भनेका छन् । तत्त्वका निम्ति सङ्घर्ष, सक्षम अभिव्यक्तिका निम्ति सङ्घर्ष र दृष्टि विकासका निम्ति सङ्घर्ष उनले भनेका महत्त्वपूर्ण कुराहरू हुन् । राम्रो लेखनका निम्ति स्रष्टाले यी तीनवटै कुराका निम्ति सङ्घर्ष गर्नुपर्छ । अध्ययन, साधना र जीवन सङ्घर्ष यसका निम्ति आवश्यक हुन्छन् । 

अध्ययनको परिधि विशाल छ । यसभित्र शास्त्र, सिर्जना, जीवनजगत्, इतिहास, संस्कृति, भूगोल आदि सबैको अध्ययन पर्छन् । साधनाले निरन्तर परिश्रमलाई बुझाउँछ । सङ्गीतकार चायकोबस्की आफूलाई श्रमले बनेको मानिस भन्थे । यही धारणा वैज्ञानिक एडिसनको थियो । महाकवि देवकोटा जगत्मा पसिना र विवेकलाई ठुलो ठान्थे । साधनाले सफल बनाउन ठुलो भूमिका खेल्छ । तर कैयौँ स्रष्टामा अध्ययन र साधनाका निम्ति जाँगर नै पाइन्न । 

amar giri (3)

अग्रज र समकालीन स्रष्टाका राम्रा रचना पढ्दा मात्रै धेरै हुन्थ्यो तर त्यति जाँगर पनि उनीहरूमा देखिन्न ।  आत्मसङ्घर्ष वैयक्तिक विषय मात्र होइन, सामूहिक विषय पनि हो । यो दृष्टिकोण, आदर्श, मूल्य, पक्षधरता, सामाजिकता आदिसँग सम्बन्धित छ । कुरूपको विरोध र सुन्दरको समर्थनमा आत्मसङ्घर्षको प्रक्रियाबाटै अघि बढिन्छ । 

कवितामा सोझो कथन त्यति उपयुक्त मानिन्न । कवितालाई अभिधामूलक होइन, व्यञ्जनामूलक भाषाले जीवन्त बनाउँछ । कविताले थोरैमा धेरै भन्न सक्नुपर्छ । समकालीन कविता अभिधामूलक पनि छन्, तीनमा विम्ब र प्रतीकहरूको प्रयोग कम पाइन्छ ।

राम्र्रा कविता प्रतिभाका परिणाम मात्र होइनन्, अध्ययन र साधनाका परिणाम पनि हुन् । कविता लेखनका लागि प्रतिभाले मात्र पुग्दैन । राम्रो रचना लेख्नका निम्ति निरन्तर बोध, आत्मसङ्घर्ष र कठोर श्रमको प्रक्रियाबाट गुज्रनैपर्छ । नयाँ र राम्रो लेख्न नसकिरहेकाका निम्ति मात्र यी कुरा महत्त्वपूर्ण छैनन्, सबैका निम्ति महत्त्वपूर्ण छन् । 

  • पुराना केही कविताका अन्तर्वस्तु 

महाकवि देवकोटाको ‘पागल’, गोपालप्रसाद रिमालको ‘आमाको सपना’, भूपि शेरचनको ‘हामी’, पारिजातको ‘मानुषी’, विजय मल्लको ‘छोरीलाई मानचित्र पढाउँदा’ जस्ता सुन्दर कविता सजिलै जन्मिएका होइनन् । यी कविता उनीहरूको अध्ययन, साधना, आत्मसङ्घर्ष, समयबोध, कलाचेत, सामाजिक प्रतिबद्धता, मानवीय सरोकार, परिवर्तनको आग्रहका परिणाम हुन् । 

amar giri (4)

यी कविता पढ्दा कविहरूले नवीन अन्तर्वस्तुलाई कसरी उच्च कलात्मक अभिव्यक्ति दिएका छन् भन्ने थाहा हुन्छ । भाषाशैली, लय, भाव, सबै दृष्टिले यी कविता प्रभावकारी छन् । यी कवितामा सशक्त अनुभूति, कल्पना र व्यङ्ग्य पाइन्छ; गहिरो जीवनबोध र मानवता पाइन्छ; कुरूपको आलोचना र सुन्दरको आग्रह पाइन्छ । कथ्य उत्कृष्ट विम्बविधानमा अभिव्यक्त भएका कारण यी कविता सम्प्रेष्य रहेका छन् । यी कविताले अहिले पनि हामीलाई गहिरो गरी स्पर्श गर्छन् । आफू बाँचेको समयलाई सम्बोधन गर्ने यी कविता आभ्यान्तरीकृत यथार्थको कलात्मक अभिव्यक्तिकै कारण आज पनि उत्तिकै सुन्दर लागेका हुन् । 

कविले आफू बाँचेको समयको यथार्थलाई आभ्यान्तरीकरण गरेर दिने काव्यात्मक अभिव्यक्तिले नै कवितालाई दीर्घजीवी बनाउँछ । कविता सिर्जनामा सक्रिय तर कविताको सौन्दर्य एवं अध्ययन र साधनाप्रति उदासीन स्रष्टाहरूले यस तथ्यलाई हृदयङ्गम गर्न सक्दा धेरै राम्रो हुन्थ्यो । अरुले पनि यस यथार्थलाई गम्भीरतापूर्वक लिँदा अझ राम्रा कविता लेख्न सहयोग पुग्थ्यो । कवि कर्मप्रति गम्भीर कविहरू अझ गम्भीर बन्नुपर्ने समय हो यो । राम्रा कविता प्रशस्त लेखिएका छन् । तर निकै राम्रा कविता कम लेखिएका छन् । कविहरूले विशिष्ट निजात्मकता चाहेजसरी निर्माण गर्न नसकेको समय हो यो । 

अति प्रचार मोह, बढ्दो उपभोक्तावाद, कलाको वस्तुकरण, बढ्दो बजारवाद र विमानवीकरण चुनौतीका रूपमा खडा भएको स्थितिमा कविताका बारेमा कविहरू अझ गम्भीर हुन आवश्यक छ । एकातिर समकालीन नेपाली कविताको सम्यक् मूल्याङ्कन आवश्यक छ र यसका निम्ति विमर्शलाई अझ बढाउन जरुरी छ, अर्कातिर स्रष्टाहरू स्वयं आफ्नो लेखनप्रति गम्भीर बन्न आवश्यक छ । यसका निम्ति सबल र दुर्बल पक्षहरूको मूल्याङ्कनमा स्रष्टाहरू स्वयं पनि सक्रिय बन्नुपर्छ । आत्ममूल्याङ्कन परिस्कार निम्ति आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया