मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकीमा गठबन्धनको सरकार : तीन विकल्पमाथि छलफल

आइतबार, २५ चैत २०८०, १० : ४८
आइतबार, २५ चैत २०८०

पोखरा । गण्डकी प्रदेशमा केन्द्रीय सत्ता गठबन्धन दलको संयुक्त बैठक बसेको छ । नेकपा एमाले र नेकपा माओवादीको संयुक्त बैठक बसेर सरकार गठनको विकल्पबारे छलफल चलाइएको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ सम्मको समयसीमा दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न भनेका छन् । तर उक्त समयसम्म नयाँ मुख्यमन्त्रीले दाबी पेस गर्ने सम्भावना निकै कम छ । किनकि गण्डकीमा केन्द्रीय गठबन्धनलाई बहुमत जुटाउन निकै सकस देखिन्छ ।

गण्डकीमा एमाले र माओवादीको मात्रै सरकार बन्न सक्दैन । सरकार गठनका लागि कम्तीमा ३१ सांसदको समर्थन चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धनसँग सभामुखसहित ३० सांसद छन् ।

यो गठबन्धनलाई सरकार बनाउन राप्रपाको समेत समर्थन आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार बनाउन प्रयासरत गठबन्धनलाई राप्रपाले ‘ग्रीन सिग्नल’ दिइसकेको छैन ।

बैठकपछि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सबै विकल्पमा छलफल गरिएको बताए । उनका अनुसार एमाले, माओवादी र राप्रपाको संयुक्त सरकार बनाउने र दीपक मनाङेलाई पनि फकाउने विषयलाई पहिलो प्राथमिकता दिइएको छ ।

यस्तै, एमाले, माओवादी र मनाङेको दलगत समर्थनमा मुख्यमन्त्री दाबी गर्ने अर्को विकल्पमा पनि छलफल चलेको छ । तर माओवादीका सभामुख भएकाले यति गर्दा पनि ३१ सांसद जुट्न सक्दैन । सबैको हस्ताक्षर प्रदेश प्रमुखले मागे सभामुखको राजीनामासम्मको कल्पना गरिएको छ ।

सभामुख कृष्ण धिताल भने सभामुखको राजीनामाले गण्डकीमा सत्ता सङ्कटको निकास ननिस्किने बताउँछन् । ‘मैले राजीनामा दिएर पनि हुने केही होइन । उपसभामुख पनि एमालेकै हुनुहुन्छ । ज्येष्ठ सदस्य पनि एमालेकै हुनुहुन्छ । अनि बहुमत कसरी पुग्छ त ?,’ उनले भने, ‘यस्ता छलफलमा अहिले कुनै तुक छैन । फरक ढङ्गबाट छलफल गर्नुपर्छ । राप्रपा विना सरकार गठन सम्भव छैन ।’ उनले राजीनामाका विषयमा दलहरूले आफूसँग प्रस्ताव नै नगरेको बताए ।

गठबन्धनले एकीकृत समाजवादीबाट राजीनामा दिएर सुरेन्द्रराज पाण्डे सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई फकाउने प्रयत्न गरिरहेको छ । यस्तै, राप्रपालाई २७ गतेअघि नै समर्थन गर्न पनि आग्रह गरेका छन् । तर राप्रपाले २७ गतेअघि कुनै निर्णय नलिने बताइसकेको छ ।

छलफलमा सहभागी नेताहरूले मनाङेसँगको छलफल सकारात्मक भएको बताएका छन् ।

एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बैठकमा अहिलेसम्म भएको राजनीतिक घटनाक्रमको विकासबारे जानकारी गराएको बताए । उनले एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार बनाउने गरी तयारी भइरहेको बताए ।

‘नेताहरूले एमाले दलको नेताज्यूको नेतृत्वमा सरकार बनाउने भनेर ब्रिफिङ गर्नुभएको छ,’ उनले भने, ‘केही योजना बनिरहेको छ । हामी छलफलमै छौँ ।’

सरकार कसरी बनाउने भन्ने निष्कर्ष ननिकालेका दलहरूले २७ गते अघि नै नयाँ सरकार बन्ने दाबी भने गरिरहेका छन् । सत्ता गठबन्धन दलहरूमा गण्डकीको नेतृत्व एमालेले लिने सहमति भए पनि माओवादी दलका नेता चुमान त्यसलाई स्विकार्दैनन् । उनले केन्द्रबाट कुनै निर्णय नभएको दाबी गरे । चुमानले मुख्यमन्त्री बन्ने पालो आफ्नै भएकाले सोही अनुसार नेताहरूले केन्द्रमा छलफल गरिरहेको सुनाए ।

  • गठबन्धन दलमा छलफल भएको विकल्प

एमाले–माओवादी–राप्रपा–मनाङे : ३२ सिट (सभामुख बाहेक)

एमाले–माओवादी–राप्रपा : ३१ सिट (सभामुख बाहेक)

एमाले–माओवादी–मनाङे : ३१ सिट (सभामुखको राजीनामा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप