सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी सेवा सुविधा लिने व्यक्तिले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

मङ्गलबार, २७ चैत २०८०, १८ : ४२
मङ्गलबार, २७ चैत २०८०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले सरकारी सेवा सुविधा लिने व्यक्तिले आफ्ना बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाको चैत २५ गते बसेको बैठकले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले आफ्ना बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालय प्रतिको विश्वास अभिवृद्धिका लागि उक्त निर्णय गरेको जनाएको छ । गाउँपालिकाले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा सबैको समान पहुँच, सहभागिता तथा अपनत्व बोध गराई विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय गुणस्तर सुनिश्चित गर्न जरुरी रहेको ओल्याएको छ ।

‘आम जनताको सामुदायिक विद्यालय प्रतिको विश्वास अभिवृद्धिका लागि बलेफी गाउँकार्यपालिकाको मिति २०८०/०१/२५ को निर्णयअनुसार यस गाउँपालिकाका सबै जनप्रतिनिधिहरू, कर्मचारी, विद्यालय व्यवस्थापन समितिको पदाधिकारी/सदस्यहरू तथा शिक्षकहरूले आफ्ना बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ गाउँपालिकाको सूचनामा उल्लेख छ ।

गाउँपालिकाले सूचना मार्फत सामुदायिक विद्यालयहरूको शैक्षिक, भौतिक, व्यवस्थापकीय लगायत समग्र पक्षहरूको सुदृढीकरण गरी गुणस्तरीयता कायम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङका अनुसार अघिल्लो शैक्षिक सत्रमा नै कार्यान्वयन गर्ने योजना अनुसार अघि बढेपनि व्यवहारिक नहुने भएकाले रोकिएको हो । शैक्षिक सत्रको बिचमा कार्यान्वयन गर्दा व्यवहारिक नहुने भएकाले २०८१ बाट कार्यान्वयन गर्ने गरी अघि बढाएको उनले बताए ।

suchana

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप