शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकको एउटै तथ्याङ्क नहुँदा नीति निर्माणमा समस्या भयो : सांसदहरू

‘धनी हुनु भनेको पाप गरेको जस्तो भाष्य स्थापित भएको छ’
बुधबार, २८ चैत २०८०, १३ : ५६
बुधबार, २८ चैत २०८०

काठमाडौँ । सांसदहरूले नेपालमा भित्रिने विदेशी पर्यटकहरूको तथ्याङ्क एउटै हुन नसक्दा नीति नियम बनाउन समस्या भइरहेको बताएका छन् । निजी क्षेत्रले दिने तथ्याङ्क र सरकारी तथ्याङ्क पनि फरक फरक हुने गरेकाले नीति निर्माणमा समस्या पर्ने बताएका हुन् । 

मंगलबार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै सांसदहरूले वार्षिक रूपमा नेपाल भित्रिने विदेशी पर्यटकहरूको एउटै तथ्याङ्क हुँदा नीति निर्माण सोहीअनुसार बन्ने जिकिर गरे । 

कार्यक्रममा बोल्दै  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले डेढदेखि दुई वर्षमा १० लाख पर्यटक आइरहेको मुलुकमा ३५ लाख आउँछ भन्ने गरेको भन्दै यस्ता गलत तथ्याङ्कले नीति निर्माणमा समस्या पर्ने बताए । उनले नेताहरूले पनि गलत तथ्याङ्क प्रस्तुत गर्ने र व्यवसायीहरूले पनि गलत तथ्याङ्क प्रस्तुत गर्ने हो भने नेता र व्यवसायीहरूमा फरक नहुने बताए ।  

उहाँले भन्नुभयो, ‘इयुको सेफ्टीको बारेमा ठुलो कन्फ्युजन छ जस्तो लागेको छ । हामीले सुनिरहेको यो छुट्याउनुपर्‍यो, लेजिस्लेशन अड्कियो भन्ने छ । मेरो अध्ययनले त्यो फ्याक्ट हो भन्ने कतै प्रमाणित भएको छैन ।’

कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद एकनाथ ढकालले पनि सही तथ्याङ्क प्रस्तुत गरेमात्रै नीति निर्माणमा सहयोग पुग्ने बताए । उनले व्यवसायीहरूको लगानी सुरक्षित गर्न आवश्यक ऐन, कानुनहरू निर्माणमा प्राथमिकता दिने कुरामा सरकार सदैव रहने बताए । 

उनले भने, ‘टुरिजमको जिडिपीमा योगदान कति हो भन्ने कुरामा पनि सरकार पनि कन्फ्युजन छ । हामी तथ्याङ्कको आधारमा निर्णय दिन सक्ने अवस्था नै छैन । हाम्रो तथ्याङ्क कति सत्य हो भन्न सक्ने अवस्था छैन । राज्यले नियन्त्रण नभई नियमन गर्ने कुरामा राष्ट्रिय सहमति नै छ । राज्य त्यति नियन्त्रण गर्न गइरहेको छैन । फ्लाइटको टिकटमा राखेको जुन भ्याटको कुरा छ, त्यो हटाउनै पर्छ । हामीले आवाज पनि उठाएका छौँ । आउने बजेटमा यसको व्यवस्था हुन्छ । पर्यटनलाई सेवा प्रदायक व्यवसायको रूपमा नभई उद्योगको रूपमा मान्यता दिनुपर्छ ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले नेपाल एयरलाइन्सलाई सरकार र सार्वजनिक मोडलमा सञ्चालन गर्न आवश्यक रहेको बताए । सरकारले ५१ प्रतिशत राख्ने अन्य सार्वजनिक र स्टेकहोल्डहरुसँग साझा गर्ने विषयमा अघि बढ्न आवश्यक रहेको जिकिर गरे । 

उनले भने, ‘हामीले आईकाओको रिपोर्ट मागेको लिखित रूपमा ९ महिना भयो तर मन्त्रालयले उपलब्ध गराएको छैन । मन्त्रालयलाई क्यानले उपलब्ध नगराउने रहेछ । नेपाल एयरलाइन्सको बरु न्यु एयरलाइन्स शुरु गरौँ, ५१ प्रतिशत सरकार अरू पब्लिक लगायत अरू स्टेक होल्डरहरू । बरु नेपाल एयरलाइन्सलाई नै कम्पनीमा ट्रान्सफर गरेर त्यसलाई नै ५१ प्रतिशत सरकारले राखेर स्ट्राटेजिक पार्टनरसिपमा जाने की ? अरू शेयर पब्लिकमा लैजाने हो की । होटललाई उद्योगमा लैजाने कुरामा म सहमत छु ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले राज्यले कसैका मागहरू पनि नसुन्ने भन्दै राज्यलाई झकझक्याउन होटलहरु बन्द गरेर आन्दोलनमा उत्रिन सुझाव दिए । उनले पर्यटन क्षेत्र नेपालको लागि धेरै नै महत्त्वपूर्ण रहेको भन्दै सबैले मिलेर काम गर्नुको विकल्प नरहेको जिकिर गरे ।

उनले भने, ‘हामी कसैले पनि राज्यले यस्तो गर्दा हुन्छ भनेर हुनेवाला छैन । तपाईंहरूलाई हामीले कसरी सहयोग गर्ने ? हामी तपाईंहरूलाई सहयोग गर्न तयार छौँ । पर्यटन क्षेत्र नेपालको लागि धेरै नै महत्त्वपूर्ण छ । देश नै गोलमाल छ, लामो ऐनहरु, कानुनहरू बनाउन खोजेर हुँदैन । सबै कुरा ऐन, कानुन बनाएर संसद्मै लैजानुपर्छ भन्ने छैन, कतिपय कुराहरू मन्त्रीपरिषद्बाट पनि हुन्छन् । हामी मन्त्री र सरकारलाई दबाब दिनेछौँ ।’

कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले निजगढ विमानस्थल नेपालका लागि आवश्यक रहेको बताए । उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले सञ्चालन गर्न आवश्यक पहल लिन नसकेको जिकिर गरे । 

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले राज्य व्यावसायिक विद्रोही नभएको बताए । उनले राज्यलाई व्यवसायको वातावरण बनाउन झकझकाइरहनुपर्ने बताए । उनले शङ्का लागेकै भरमा व्यवसायीहरूलाई दोषी ठहर गर्न नहुने बताए । उनले नेपालमा व्यवसाय गरेर सम्पन्न बन्नु पाप हो जस्तो गरी भाष्य सिर्जना गरिएको जिकिर गरे ।

उनले भने, ‘आफ्नो मेहनतले व्यवसाय गर्ने मान्छेहरू र आर्थिक रूपमा सम्पन्न हुनु भनेको यो देशमा पाप हो जस्तो लाग्छ । त्यसले राज्यलाई लुटेकै होला भन्ने छ । व्यवसाय र अलि मेहनत गरेर कमाएको मान्छे धनी हुनु भनेको राज्यको नजरमा पाप गरेको जस्तो भाष्य समाजमा स्थापित भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप