९२ वर्षको खडेरी तोड्ने इजिप्टको दाउ, अस्ट्रेलियालाई बलियो डिफेन्सको भर
अन्तिम ३२ अन्तर्गतको खेलमा अस्ट्रेलिया र इजिप्ट भिड्दै छन्। नेपाली समयअनुसार राति शुक्रबार ११:४५ बजे सुरु हुने यो खेल अमेरिकाको टेक्सास राज्यको अर्लिङ्टनस्थित डलास स्टेडियम (एटी एन्ड टी स्टेडियम) मा खेलाइनेछ।
यस खेलको विजेताले अन्तिम १६ मा अर्जेन्टिना र केप भर्डेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल शनिबार बिहान मियामीमा हुनेछ।
अस्ट्रेलियाविरुद्ध इजिप्ट: हेड-टु-हेड
अन्तर्राष्ट्रिय फुटबलमा अस्ट्रेलिया र इजिप्ट हालसम्म दुई पटक मात्र आमनेसामने भएका छन्। दुवै टोलीले समान एक-एक खेल जितेका छन्। यी दुईबीचको कुनै पनि खेल बराबरीमा टुङ्गिएको छैन।
सन् १९८७ मा सियोलमा भएको प्रेसिडेन्ट्स कपमा उनीहरू पहिलो पटक भिडेका थिए। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि पेनाल्टी सुटआउटमा अस्ट्रेलियाले ४-३ को जित दर्ता गरेको थियो।

सन् २०१० मा कायरोमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इजिप्टले हारको बदला लियो। घरेलु मैदानमा द फारोस’ ले अस्ट्रेलियालाई ३-० ले पराजित गर्यो। अस्ट्रेलियाले अहिलेसम्म इजिप्टविरुद्ध ‘ओपन-प्ले’ बाट गोल गर्न सकेको छैन।
विगतका दुवै खेल मैत्रीपूर्ण वा आमन्त्रित प्रतियोगिता थिए। डलास स्टेडियममा हुने यो भिडन्तको महत्त्व भने निकै ठुलो छ। यस खेलले विश्वकपको अन्तिम १६ को यात्रा तय गर्नेछ।
- टोलीको लय
दुवै टोली समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन्। इजिप्ट अपराजित रहँदै यहाँसम्म आइपुगेको छ। अर्कोतर्फ अस्ट्रेलिया बलियो रक्षापङ्क्तिमा निर्भर देखिन्छ।
इजिप्टले बेल्जियमसँग १-१ गोलको बराबरी खेल्यो। त्यसपछि न्युजिल्यान्डलाई ३-१ ले पराजित गर्यो। अन्तिम खेलमा इरानसँग १-१ को बराबरी खेल्दै टोली अपराजित रहेको हो। न्युजिल्यान्डविरुद्धको ३-१ को जित इजिप्टको विश्वकप इतिहासकै पहिलो जित थियो। इजिप्टले समूह चरणका आफ्ना सबै खेलमा गोल गरेको छ।
अस्ट्रेलियाले टर्किएलाई २-० ले हराउँदै सानदार सुरुवात गर्यो। उक्त खेलमा अस्ट्रेलियाको बल पोसेसन मात्र २८.४ प्रतिशत थियो। त्यसपछि सकरुज अमेरिकासँग २-० ले पराजित भयो। अन्तिम खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्यो।
युवा गोलरक्षक प्याट्रिक बिच उत्कृष्ट लयमा छन्। उनले दुई खेलमा ‘क्लिन सिट’ राखेका छन्। यद्यपि, अस्ट्रेलियाको आक्रमण पङ्क्तिले पछिल्ला दुई खेलमा गोल गर्न सकेको छैन।

प्रमुख खेलाडी
- नेस्टोरी इरानकुन्डा (अस्ट्रेलिया): इरानकुन्डा अस्ट्रेलियाको आक्रमणका प्रमुख हतियार हुन्। वाटफोर्डबाट खेल्ने यी २० वर्षीय फरवार्डसँग तीव्र गति र शक्तिशाली प्रहार गर्ने क्षमता छ। टर्किएविरुद्धको प्रदर्शनले उनी जस्तोसुकै बलियो रक्षापङ्क्ति तोड्न सक्छन् भन्ने प्रमाणित गरिसकेको छ।
- प्याट्रिक बिच (अस्ट्रेलिया): यस प्रतियोगितामा बिच उत्कृष्ट लयमा देखिएका छन्। यी २२ वर्षीय गोलरक्षकले समूह चरणमा दुई क्लिन सिट राखे। उनको उत्कृष्ट बचाउ र हावामा बल नियन्त्रण गर्ने क्षमता नै अस्ट्रेलियाको बलियो रक्षापङ्क्तिको आधार हो।
- मोहम्मद सलाह (इजिप्ट): ह्यामस्ट्रिङको चोटका बाबजुद ‘इजिप्सियन किङ’ आफ्नो टोलीका मुख्य आधार हुन्। उनको गोल गर्ने क्षमता, खेल बुझ्ने शैली र नेतृत्वका कारण विपक्षी डिफेन्डरहरू उनलाई रोक्न सधैँ चनाखो हुनुपर्ने हुन्छ।
- ओमार मार्मुस (इजिप्ट): मार्मुस उत्कृष्ट लयसहित नकआउट चरणमा प्रवेश गर्दै छन्। उनको ड्रिब्लिङ र मैदानमा गर्ने मुभमेन्टले सलाहमाथि गोल गर्ने दबाब निकै कम गराउँछ।
रणनीतिक पाटो
अस्ट्रेलिया रक्षात्मक खेल्दै डिफेन्स लाइनको खाली ठाउँ साँघुरो बनाउने रणनीतिमा हुनेछ। यस प्रतियोगितामै अस्ट्रेलियाको रक्षात्मक रणनीति उत्कृष्ट मानिएको छ। बल खोस्नेबित्तिकै उनीहरू विङ्गतर्फ लामा पास दिएर काउन्टर अट्याक गर्नेछन्।
इरानकुन्डाले अघि बढेर खेल्ने इजिप्टका फुलब्याकहरूलाई ‘वान-अन-वान’ स्थितिमा बिट गर्ने प्रयास गर्नेछन्। अस्ट्रेलियाका लागि सेट-पिस अर्को महत्त्वपूर्ण हतियार हुनेछ। कर्नर र फ्रि-किकमा आउने बललाई हेडरमार्फत सदुपयोग गर्न डिफेन्डर ह्यारी सउटर अगाडि सर्नेछन्।
इजिप्टले ओभरल्यापिङ फुलब्याक प्रयोग गरी विङ्गमा ‘२ विरुद्ध १’ को स्थिति सिर्जना गर्नेछ। अस्ट्रेलियाको ३-म्यान सेन्ट्रल डिफेन्सलाई पोजिसनबाट बाहिर ल्याउनु यसको मुख्य उद्देश्य हुनेछ।
सलाह आफ्नो प्रिय देब्रे खुट्टाले बल प्रहार गर्न मैदानको भित्री भागतिर सर्नेछन्। यसले अस्ट्रेलियाको लेफ्ट-ब्याकलाई पोजिसनबाट बाहिर तान्नेछ र सेन्टरमा खाली ठाउँ बन्नेछ। बल गुम्नेबित्तिकै इजिप्टको मिडफिल्डले आक्रामक रूपमा प्रेसिङ गर्नेछ।
इजिप्टले पछिल्लो पटक सन् १९३४ मा राउन्ड अफ १६ खेलेको थियो। त्यस वर्ष १६ टोलीले मात्र सहभागिता जनाएका थिए। इजिप्ट अफ्रिकाबाट सहभागी हुने एक मात्र टोली थियो। यस पटक उनीहरू ९२ वर्षको खडेरी तोड्ने दाउमा छन्।
अर्कोतर्फ अस्ट्रेलिया भने कतार विश्वकप २०२२ मा पनि राउन्ड अफ १६ मा पुगेको थियो। त्यतिबेला उनीहरू लियोनेल मेस्सीको अर्जेन्टिनासँग पराजित भएका थिए। अर्जेन्टिनाले सोही वर्ष विश्वकपको उपाधि जितेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
-
हाइब्रिड गाडीको नाममा राजस्व छली
-
को हुन् त्रिविकाे उपकुलपतिमा नियुक्त भएका प्रा.डा. भोला थापा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण