शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

'तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनमा संशोधन आवश्यक'

आइतबार, ०२ वैशाख २०८१, १० : ३०
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनलाई संशोधन गर्नुपर्ने बताएकी छिन् ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को समुद्घाटन कार्यक्रममा डङ्गोलले सवारी दुर्घटना रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिँदै त्यसमा नागरिकको तहमा सचेतना पुर्‍याउनुपर्ने तथा कानुनी रूपमा ऐन समय सान्दर्भिक बनाउनुपर्ने बताएकी हुन् । 

सरकारले युएनको ग्लोबल रोड सेफ्टीमा २०३० सम्ममा ५० प्रतिशत सवारी दुर्घटना कम गर्ने भनेर गरेको प्रतिबद्धता स्मरण गराउँदै डङ्गोलले सडक दुर्घटना घट्नुको साटो तथ्याङ्कमा बढेको उल्लेख गर्दै प्रतिबद्धता कार्यान्वयनको पक्ष बलियो बताउनुपर्ने बताइन् । 

उनले भनिन्, ‘नीतिगत रूपमा हेर्दा सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ तीस वर्ष अगाडिको ऐन लिएर हामी आज सडक सुरक्षाको कुरा गर्दै छौँ । यो ऐन हामीले अब संशोधन गर्नुपर्छ । अहिलेको आवश्यकता र तीस वर्ष पहिलेको आवश्यकता उस्तै छैन ।’

ऐन बनेको तीस वर्षमा सडकमा सवारी साधनको सङ्ख्या ठुलो सङ्ख्यामा बढेकाले पनि समयअनुसार अघि बढ्दै ऐनमा पुनर्विचार गर्नुपर्ने धारणा उनको छ । गत आर्थिक वर्षमा मात्रै सडक दुर्घटनामा २३ सय ७६ जनाले ज्यान गुमाएको विवरण उल्लेख गर्दै उनले सडकमा चालकले नियम विरुद्ध ओभरटेक गरेर जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताइन । ट्राफिक व्यवस्थापनमा हुने कमीकमजोरीलाई सुधार गर्दै ट्राफिक प्रहरी अझ जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप