शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

हङ्कङलाई हराउन नेपालले ११५ रन बनाउनु पर्ने

सोमबार, ०३ वैशाख २०८१, १४ : २०
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा हङ्कङले नेपाललाई जितका लागि एकसय १५ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन बनाएको हो ।

हङ्कङलाई ठूलो योगफल बनाउनबाट रोक्न नेपाली टोलीका बलर अविनाश बोहराले तीन विकेट लिएका थिए । उनले चार ओभरमा २९ रन खर्चिए । दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले पनि दुई–दुई विकेट हात पारे । करण केसीले पनि एक विकेट लिए ।

हङ्कङका लागि ओपनर अन्शी रथले सर्वाधिक ३४ रन बनाए । जिसन अलीले १४ रन बटुले । कप्तान निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । हङ्कङले अतिरिक्त रुपमा आठ रन पायो ।

जारी प्रतियोगितामा नेपालले खेलेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई आठ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । २.१ ओभरमा कोट्जी आउट हुँदा हङ्कङले १२ रन बनाएको थियो ।

हङ्कङले दोस्रो विकेटका रुपमा कप्तान निजाकत खानलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान निजाकतलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका थिए । ५.४ ओभरमा निजाकत आउट हुँदा हङ्कङले ३७ रन बनाएको थियो ।

हङ्कङले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अन्शी रथलाई गुमाएको थियो । उनललाई गुलसन झाले उत्कृष्ट रन आउट गराएका थिए । पेभेलियन फर्किनुअघि अन्शीले २६ बलमा एक छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए । ८.२ ओभरमा उनी आउट हुँदा हङ्कङले ६२ रन बनाएको थियो ।

हङ्कङको चौथो विकेट ललित राजवंशीले लिएका थिए । ललितले हङ्कङका अनुभवी ब्याट्सम्यान बाबर हायातलाई आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए । पेभेलियन फर्किनुअघि चौको नम्बरका ब्याट्सम्यान बाबर हायातले ६ रन बनाएका थिए । ९.२ ओभरमा उनी आउट हुँदा हङ्कङले ६८ रन बनाएको थियो ।

हङ्कङको पाँचौँ विकेट पनि ललित राजवंशीले नै लिएका हुन् । उनले हङ्कङका पाँचौँ नम्बरका ब्याट्सम्यान ईजाज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । ललितले लिएको यो दोस्रो विकेट थियो । ११.२ ओभरमा ईजाज आउट हुँदा हङ्कङले ७६ रन बनाएको थियो ।

हङ्कङको छैटौँ विकेट अविनाश बोहराले लिएका थिए । उनले हङ्कङका छैटौँ नम्बरका ब्याट्सम्यान यासिम मुर्तजालाई दुई रनको ब्यक्तिग स्कोरमा बोल्ड गरेका थिए । १२.१ ओभरमा यासिम मुर्तजा आउट हुँदा हङ्कङले ७६ रन बनाएको थियो ।

हङ्कङको सातौँ विकेट पनि अविनाश बोहराले नै लिएका थिए । उनले हङ्कङका आठौँ नम्बरका ब्याट्सम्यान नसरुल्ला राणालाई ६ रनको ब्यक्तिगत स्कोरमा ललित राजवंशीद्वारा क्याच गराएका थिए । अविनाशले लिएको यो दोस्रो विकेट थियो । १४.५ ओभरमा नसुरुल्ला आउट हुँदा हङ्कङले ८९ रन बनाएको थियो ।

हङ्कङको आठौँ विकेट पनि अविनाश बोहराले नै लिएका थिए । उनले हङ्कङका सातौँ नम्बरका ब्याट्सम्यान जिसन अलीलाई १४ रनको ब्यक्तिगत स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । अविनाशले लिएको यो तेस्रो विकेट थियो । १६.३ ओभरमा जिसन अली आउट हुँदा हङ्कङले एक सय दुई रन बनाएको थियो ।

हङ्कङको नवौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले हङ्कङका नवौँ नम्बरका ब्याट्सम्यान एहसान खानलाई ११ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १७.४ ओभरमा एहसान आउट हुँदा हङ्कङले एक सय १४ रन बनाएको थियो ।

त्यसलगत्तै अर्को बलमा दीपेन्द्रले नै हङ्कङका अर्का ब्याट्सम्यान धनन्जय रावलाई पनि बोल्ड गरेका थिए । धनन्जयले पेभेलियन फर्किनुअघि खातासम्म खोल्न सकेनन् । दीपेन्द्रले लिएको यो लगातार दोस्रो विकेट थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप