मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग

आईपीएलमा आज : अहमादाबादमै दोस्रो पटक गुजरातलाई हराउने धुनमा दिल्ली

बुधबार, ०५ वैशाख २०८१, १० : ४०
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बुधवार ३२औँ खेल खेलिँदै छ । बुधवारको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा गुजरात टाइटन्सको यो सातौँ खेल हो । गुजरातले यसअघि खेलिएको ६ मध्ये तीन खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । हाल गुजरात ६ अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसीन छ ।

गुजरातले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । गुजरात आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किङ्ससँग ६३ रनले पराजित भएको थियो । तेस्रो खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।

चौथो खेलमा गुजरातको टोली पन्जाब किङ्ससँग तीन विकेटले पराजित भएको थियो । पाँचौँ खेलमा गुजरातलाई लखनउ सुपर जाइन्ट्सले ३३ रनले पराजित गरेको थियो । छैटौँ खेलमा भने गुजरातले राजस्थान रोयल्सलाई तीन विकेटले पाखा लगाएको थियो ।

यसैगरी जारी आईपीएलमा दिल्ली क्यापिटल्सको पनि यो सातौँ खेल हो । दिल्लीले यसअघि खेलिएको ६ मध्ये दुई खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । दिल्ली क्यापिटल्स हाल चार अङ्कसहित तालिकाको नवौँ स्थानमा आसीन छ ।

दिल्ली आफ्नो पहिलो खेलमा पन्जाब किङ्ससँग चार विकेटले र दोस्रो खेलमा राजस्थान रोयल्ससँग १२ रनले पराजित भएको थियो । तेस्रो खेलमा भने दिल्लीले चेन्नई सुपर किङ्सलाई २० रनले पराजित गरेको थियो ।

चौथो खेलमा दिल्लीलाई कोलकाता नाइट राइडर्सले एक सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पाँचौँ खेलमा मुम्बई इन्डियन्सले पनि दिल्लीलाई २९ रनले हराएको थियो । छैटौँ खेलमा भने दिल्लीले लखनउ सुपर जाइन्ट्सलाई ६ विकेटले पराजित गरेको थियो ।

हेड टु हेडमा गुजरात अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबिच कुल तीन खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा गुजरातले दिल्लीलाई पराजित गरेको छ । बाँकी एक खेलमा भने दिल्लीले गुजरातलाई हराएको छ ।

दिल्लीले गुजरातलाई यसअघि अहमादबादस्थित नरेन्द्र मोदी स्टेडियममै हराएको थियो । उक्त खेलमा दिल्लीले गुजरातमाथि पाँच रनको रोमाञ्चक जित हासिल गरेको थियो । नरेन्द्र मोदी स्टेडियममा यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् ।

गुजरातको सर्वाधिक रन गिलको नाममा

आईपीएलको १७औँ संस्करणमा गुजरातका लागि सर्वाधिक रन बनाउने खेलाडी शुभमन गिल हुन् । गुजरातले पछिल्लो खेलमा राजस्थान रोयल्सलाई तीन विकेटले हराएको थियो । त्यो खेलमा पनि कप्तान शुभमन गिलले ७२ रन बनाएका थिए ।

गिलले जारी सिजनको आईपीएलमा गुजरातका लागि दुई सय ५५ रन बनाइसकेका छन् । गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने मोहित शर्मा हुन् । मोहितले हालसम्म टोलीका लागि आठ विकेट लिइसकेका छन् ।

दिल्लीलाई कप्तान ऋषभ पन्तको आश

इन्डियन प्रिमियर लिगको जारी सिजनमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान ऋषभ पन्त हुन् । उनले हालसम्म कुल एक सय ९४ रन बनाएका छन् । दिल्लीले आफ्नो पछिल्लो खेलमा लखनउलाई ६ विकेटले हराएको थियो । लखनउविरुद्धको उक्त खेलमा खेलमा दिल्लीका लागि ज्याक फ्रेजरले अर्धशतक बनाएका थिए ।

आईपीएलमा फ्रेजरको त्यो ‘डेब्यू’ खेल थियो । त्यो खेलमा दिल्लीका लागि कप्तान ऋषभ पन्तले पनि ४१ रन बनाएका थिए । बुधवारको खेलमा पनि दिल्लीले यी दुई खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आश गरेको छ । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने खलिल अहमद हुन् । उनले हालसम्म नौ विकेट लिइसकेका छन् ।

ब्याट्सम्यानलाई सहयोग गर्ने पिच

इन्डियन प्रिमियर लिगमा दिल्ली र गुजरातबिच बुधवारको खेल खेलिने अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी रन बन्ने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ३० खेल खेलिएको छ ।

त्यसमध्ये १४ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । बाँकी १६ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको इतिहास छ । यो स्टेडियममा बनेको उच्च स्कोर तीन विकेट गुमाएर दुई सय ३३ रन हो । यो स्कोर अघिल्लो सिजनको आईपीएलमा गुजरातले मुम्बईविरुद्ध बनाएको थियो ।

अहमादाबादमा अत्यधिक गर्मी

गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबिचि खेल हुने दिन बुधवार अहमादाबादमा अत्यधिक गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधवार अहमादाबादमा वर्षाको कुनै सम्भावना नरहेको बताइएको छ । अहमादाबादको तापक्रम २९ देखि ४२ डिग्री सेल्सियसको बिचमा रहने छ ।

घाइते समस्या

गुजराज टाइटन्सविरुद्धको खेलअघि दिल्ली क्यापिटल्सका अलराउन्डर खेलाडी मिचेल मार्श घाइते भएर आफ्नो देश अस्ट्रेलिया फर्किएका छन् । दिल्लीका लागि यो घाटाको विषय हो । बुधवारको खेलमा डेभिड वार्नरले खेल्ने सम्भावना पनि निकै कम देखिन्छ । वार्नर पनि हाल अस्वस्थ्य रहेको समाचारमा जनाइएको छ । यद्दपि, यस विषयमा क्लबले भने केही बताएको छैन ।

सम्भावित टोली

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सदुर्शन, विजय शंकर, अभिनव मनोहर, म्याथ्यू वेड (विकेटकिपर), राहुल तेवतिया, राशिद खान, नुर अहमद, स्पेन्सर जोन्सन, मोहित शर्मा र उमेश यादब । इम्प्याक्ट प्लेयर : शाहरुख खान ।

दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), पृथ्वी शा, डेभिड वार्नर, शाह होप, ट्रिस्टन स्टब्स, अक्षर पटेल, ज्याक फ्रेजर, कुलदीप यादब, मुकेश कुमार, ईशान्त शर्मा र खलिल अहमद । इम्प्याक्ट प्यलेयर : अभिषेक पोरेल । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप