बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईपीएल क्रिकेट

आईपीएलमा आज : नयाँ रङ्गशालामा पहिलो पटक भिड्दै मुम्बई र पन्जाब

बिहीबार, ०६ वैशाख २०८१, ११ : ०९
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार पन्जाब किङ्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल पन्जाबको घरेलु मैदान महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलमा पन्जाब र मुम्बई दुवैले आफ्नो सातौँ खेल खेल्न लागेका हुन् । पन्जाबले यसअघि खेलिएको ६ मध्ये दुई खेलमा जित र चार खेलमा हारको नजिता निकालेको छ । पन्जाब चार अङ्कसहित तालिकाको आठौँ स्थानमा आसीन छ ।

पन्जाबले जितसँगै जारी सिजनको सुरुआत गरे पनि त्यसपछिका खेलमा भने निराशाजनक प्रदर्शन गर्दै आएको छ । पन्जाबले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई चार विकेटले हराएको थियो । पन्जाब आफ्नो दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग चार विकेटले पराजित भएको थियो ।

आफ्नो तेस्रो खेलमा पनि पन्जाबको टोली लखनउ सुपर जाइन्ट्ससँग २१ रनले हारेको थियो । चौथो खेलमा पन्जाबले गुजरात टाइटन्सलाई तीन विकेटले हराएको थियो । पाँचौँ खेलमा पन्जाबको टोली सनराइजर्स हैदराबादसँग दुई रनले र छैटौँ खेलमा राजस्थान रोयल्ससँग तीन विकेटले हारेको थियो ।

यसैगरी मुम्बई इन्डियन्सले पनि जारी सिजनको आईपीएलमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । मुम्बई यसअघि खेलिएको ६ मध्ये दुई खेलमा विजयी र चार खेलमा पराजित भएको छ । मुम्बई चार अङ्कसहित तालिकाको नवौँ स्थानमा आसीन छ ।

मुम्बई आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले, दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले र तेस्रो खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा भने मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको थियो ।

त्यसलगत्तै खेलिएको अर्को खेलमा पनि मुम्बईले सफलता हात पारेको थियो । मुम्बईले आफ्नो पाँचौँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले हराएको थियो । मुम्बईको टोली आफ्नो छैटौँ खेलमा चेन्नई सुपर किङ्ससँग २० रनले पराजित भएको थियो ।

हेड टु हेडमा मुम्बई अगाडि

इन्डियन प्रिमियर लिगको इतिहासमा मुम्बई सबैभन्दा सफल टोली हो । हालसम्म मुम्बईले पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । तर, जारी सिजनमा भने मुम्बईले अत्यन्तै खराब प्रदर्शन गर्दै आएको छ ।

आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स र पन्जाब किङ्सबिच कुल ३१ खेल खेलिएको छ । त्यसमध्ये १६ खेलमा मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई हराएको छ । बाँकी १५ खेलमा भने पन्जाब किङ्सले सफलता हात पारेको छ । महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भने यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन् ।

शिखर धवनको अनुपस्थितिमा शशांक सिंहको भर

जारी सिजनको आईपीएलमा पञ्जाबका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान शिखर धवन हुन् । तर, स्वास्थ्य समस्याका कारण उनी अझ केही समय मैदान बाहिर रहने छन् । पञ्जाबका लागि यो दुःखद पक्ष हो ।

शिखर धवनको अनुपस्थितिमा पञ्जाबका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान शशांक सिंह हुन् । उनले टोलीका लागि हालसम्म एक अर्धशतकको मद्दतले कुल एक सय ४६ रन बनाएका छन् । पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर भने कागिसो राबडा हुन् । उनले नौ विकेट लिएका छन् ।

मुम्बईको सर्वाधिक रन रोहित शर्माको नाममा

रोहित शर्मा मुम्बई इन्डियन्सको सर्वाधिक सफल कप्तान हुन् । उनकै कप्तानीमा मुम्बईले पटक–पटक आईपीएलको उपाधि चुमेको थियो । तर, जारी सिजनको आईपीएलमा भने उनी कप्तानको भूमिकामा छैनन् । उनको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तान बनाइएको छ ।

तर, आईपीएलको १७औँ संस्करणमा पनि मुम्बईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने रोहित शर्मा नै हुन् । उनले हालसम्म टोलीका लागि कुल दुई सय ६१ रन बनाइसकेका छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर भने जसप्रित बुमराह हुन् । उनले १० विकेट लिएका छन् ।

मोहालीको नयाँ स्टेडियम

मुम्बई इन्डियन्स र पन्जाब किङ्सबिच बिहीबारको खेल हुन लागेको महाराजा यादवेन्द्रसिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हालसम्म आईपीएलको तीन खेलमात्र खेलिएको छ । यो नयाँ स्टेडियम हो । यो स्टेडियममा हालसम्म बनेको उच्च स्कोर नौ विकेट गुमाएर एक सय ८२ रन हो । यो रन पन्जाबविरुद्ध हैदराबादले बनाएको थियो । उक्त रोमाञ्चक खेलमा हैदराबाद दुई रनले विजयी भएको थियो । यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले एक र जवाफी ब्याटिङ गर्ने टोलीले दुई खेल जितेका छन् ।

आकाश बादलले ढाके पनि छैन वर्षाको सम्भावना

मुम्बई इन्डियन्स र पन्जाब किङ्सबिच खेल हुने  दिन बिहीबार मुल्लापुरको आकाश बादलले ढाकिएको हुनेछ । बादल लागे पनि बिहीबार वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार मुल्लापुरको तापक्रम २१ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने छ ।

सम्भावित टोली

पन्जाब किङ्स : साम कुर्रन (कप्तान), अथर्व तायडे, जोनी बेयरस्टो, प्रभसिमरन सिंह, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकिपर), शशांक सिंह, हरप्रित बरार, कागिसो राबडा, हर्षल पटेल र अर्शदीप सिंह । इम्प्याक्ट प्लेयर : आशुतोष शर्मा ।

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, मोहम्मद नाबी, आकाश मधवाल, जेराल्ड कोट्जी र जसप्रित बुमराह । इम्प्याक्ट प्लेयर : श्रेयष गोपाल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप