आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल क्रिकेट

आईपीएलमा आज : राजस्थानसँग घरेलु मैदानमा भोगेको हारको बदला लिने धुनमा मुम्बई

सोमबार, १० वैशाख २०८१, १० : ५७
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा सोमबार मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी राजस्थान रोयल्सको सामना गर्नेछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको जारी संस्करणमा राजस्थान रोयल्स सबैभन्दा बलियो टोलीको रुपमा देखिएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन सामान्य रहेको छ । राजस्थानले आफ्नो आठौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको सातमध्ये ६ खेलमा राजस्थान विजयी भएको छ ।

एक खेलमा भने राजस्थानले पराजय ब्यहोरेको छ । राजस्थान रोयल्स १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । यो सिजनको आईपीएलमा राजस्थान रोयल्सले हालसम्म एकमात्र हार गुजरात टाइटन्ससँग ब्यहोरेको हो । गुजरातले राजस्थानलाई तीन विकेटले हराएको थियो ।

मुम्बई इन्डियन्सले पनि जारी आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेको हो । मुम्बई यसअघि खेलिएको सातमध्ये तीन खेलमा विजयी र चार खेलमा पराजित भएको छ । मुम्बई इन्डियन्स ६ अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ ।

सोमबारको खेलमा राजस्थानलाई हराउन सके मुम्बई इन्डियन्स तालिकाको पाँचौँ स्थानमा उक्लने सम्भावना छ । राजस्थानलाई ठूलो अन्तरले हराउन सके मुम्बई तालिकाको चौथो स्थानमा उक्लने सम्भावना पनि उत्तिकै छ । यद्दपि, मुम्बई इन्डियन्सले जयपुरमा हालसम्म खेलेको खेलमध्ये ७२ प्रतिशत खेलमा पराजय भोग्नु परेको छ ।

जारी सिजनमा दोस्रो भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच दोस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि यी दुई टोलीबिच खेलिएको खेलमा राजस्थानले मुम्बईलाई हराएको थियो । त्यो खेल मुम्बईको घरेलु मैदानमा खेलिएको थियो ।

हेड टु हेडमा मुम्बई अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबिच कुल २९ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा मुम्बईले राजस्थानलाई पराजित गरेको छ । १३ खेलमा भने राजस्थानले मुम्बईलाई हराएको छ । यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको थियो ।

जयपुरमा राजस्थानसामु निरीह मुम्बई

मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबिचको खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा खेलिने छ । यो राजस्थान रोयल्सको घरेलु मैदान हो । यो स्टेडियममा राजस्थान र मुम्बईबिच हालसम्म कुल सात खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा राजस्थानले मुम्बईलाई हराएको छ । यो स्टेडियममा खेलिएको दुई खेलमा मात्र मुम्बईले राजस्थानलाई हराउन सकेको छ ।

लयमा देखिन्छ राजस्थान

राजस्थान रोयल्स आईपीएलको पहिलो संस्करण (सन् २००८) को विजेता हो । राजस्थान यो सिजनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । राजस्थानको ब्याटिङ र बलिङ लयमा देखिएको छ । त्यसैले यो सिजन राजस्थान सिधै क्वालिफायरमा पुग्नेसम्भावना बलियो देखिएको छ ।

रियान पराग, कप्तान संजु सामसन र जस बट्लरले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यी दुबै ब्याट्सम्यानले दुई सय ५० भन्दा बढी रन बनाइसकेका छन् । रियान परागले त सात खेलमा तीन सय १८ रन बनाइसकेका छन् ।

यसैगरी संजु सामसनले पनि सात खेल खेल्दै दुई सय ७६ रन बटुलिसकेका छन् । जस बट्लरले पनि हालसम्म ६ खेल खेल्दै टोलीको खातामा दुई सय ५० रन थपिसकेका छन् । राजस्थान रोयल्सका लागि बलिङतर्फ पनि आवेश खान, ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । चहलले त हालसम्म १२ विकेट लिइसकेका छन् ।

कम छैन मुम्बई पनि

मुम्बई इन्डियन्सले जारी सिजनको आईपीएलमा सामान्य प्रदर्शन गर्दै आएको छ । तर, पछिल्लो समय मुम्बईका पूर्वकप्तान रोहित शर्मा, ईशान किशन, तिलक वर्मा, सूर्यकुमार यादबजस्ता ब्याट्सम्यान लयमा देखिन्छन् । रोहितले टोलीका लागि कुल दुई सय ९७ रन बनाइसकेका छन् ।

रोहित टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । मुम्बईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा तिलक वर्मा दोस्रो स्थानमा छन् । उनले सात खेल खेल्दै कुल दुई सय आठ रन बनाएका छन् ।

यसैगरी ईशान किशनले पनि सात खेलमा एक सय ९२ रन बनाएका छन् । बलिङतर्फ जसप्रित बुमराह र जेराल्ड कुट्जी लयमा देखिन्छन् । जारी सिजनको आईपीएलमा जसप्रित बुमराहले १३ विकेट लिइसकेका छन् । उनी टोलीका लागि सर्वाधिक विकेट लिने बलर हुन् ।

छैन वर्षाको सम्भावना

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबिच खेल हुने दिन सोमबार जयपुरमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार जयपुरको तापक्रम २६ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

ब्याट्सम्यानलाई माया गर्ने पिच

राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच खेल हुने सवाई मानसिंह स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । जारी सिजनको आईपीएलमा यो स्टेडियममा हालसम्म चार खेल खेलिसकिएको छ । ती चारवटै खेलमा एक सय ८० भन्दा बढी रन बनेको पाइन्छ ।

यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले दुई र जवाफी ब्याटिङ गर्ने टोलीले पनि दुई खेल जितेका छन् । जारी सिजनको आईपीएलमा यो स्टेडियममा राजस्थानले एक खेलमात्र हारेको छ । टस जित्ने टोलीले यो स्टेडियममा पहिले फिल्डिङको निर्णय लिने सम्भावना बढी देखिन्छ ।

सम्भावित टोली

राजस्थान रोयल्स ः संजु सामसन (कप्तान एवं विकेटकिपर), जस बट्लर, यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेट्मायर, रोभमन पावेल, रविचन्द्रन आश्विन, आवेश खान, ट्रेन्ट बोल्ड तथा नान्द्रे बर्गर वा केशव महाराज । इम्प्याक्ट प्लेयर ः कुलदीप सेन, शुभम दुबे ।

मुम्बई इन्डियन्स ः हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), सूर्यकुमार यादब, तिलम वर्मा, मोहम्मद नाबी, टिम डेभिड, रोमारियो शेफर्ड, श्रेयष गोपाल, जेराल्ड कुट्जी र जसप्रित बुमराह । इम्प्याक्ट प्लेयर ः आकाश मधवाल, नेहल वाधेरा, नमन धीर । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप