शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स

बिहीबार, १३ वैशाख २०८१, १३ : ०७
बिहीबार, १३ वैशाख २०८१

ब्युनस आयर्स । अलेजान्द्रा मारिसा रोद्रिगज ६० वर्षकी भइन् । ब्युनस आयर्सकी यिनी पेशाले वकिल र पत्रकार हुन् । हालै मात्र रोद्रिगजले मिस ब्युनस आयर्सको उपाधि जितेकी छिन् । ६० वर्षकी महिलाले कसरी जितिन् मिस अर्जेन्टिनाको उपाधि भनेर तपाईलाई अचम्म लागेको हुनसक्छ ।

गएको वर्षको अन्त्यतिर सौन्दर्य प्रतिस्पर्धा मिस युनिभर्सले सन् १९५८ मा लागू गरिएको उमेरको सीमा हटाएर प्रतिस्पर्धालाई समावेशी बनाएको थियो । यो वर्षदेखि प्रतिस्पर्धामा सहभागी हुनका लागि १८ देखि २८ वर्षबिचकै हुनुपर्ने बाध्यता हटेको छ ।

योग्यतामा प्रतिस्पर्धीको उमेर सहभागी हुनका लागि कानुनले मान्यता दिएको हुनुपर्ने मात्रै भनिएको छ । यसले बढी उमेरका महिलाहरूले पनि यसमा सहभागिता जनाउन पाए । रोद्रिगज पनि प्रतिस्पर्धामा सहभागी भइन् । रोद्रिगजले आफूभन्दा कम उमेरकी कयौँ प्रतिस्पर्धीलाई  उछिनेर मिस ब्युनस आयर्स जितेपछि हालै ल्याटिनो सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।  

मिस ब्युनस आयर्स २०२४ को उपाधि जितेपछि आफू निकै रोमाञ्चित भएको उनले बताएकी छिन् । सुन्दरताको कुनै उमेर नहुने अनि अवरोधहरू तोड्न सक्छौं भनेर सबै महिलालाई देखाउन चाहेको रोद्रिगजले स्टेजमा भनेकी थिइन् । आफूले महिला सशक्तीकरणको कुनै सीमा नभएको देखाउने चाहेको पनि उनले बताइन् ।

रोद्रिगज आफ्नो उमेरभन्दा निकै जवान देखिन्छिन् । उनको उमेरबारे यतिबेला सामाजिक सञ्जालमा बहस छेडिएको छ । कतिले त उनलाई ४० वर्षभन्दा एकदिन मात्रै जेठी भनिरहेका छन् । केहीले चाँहि उनी मिस युनिभर्समा अर्जेन्टनाबाट सहभागी हुन सक्ने अवसर रहेको पनि बताइरहेका छन् ।

यो प्रतिस्पर्धा मे २५ मा हुँदैछ । यसमा अर्जेन्टिनाका अन्य क्षेत्रका दाबेदारहरू पनि सहभागी हुनेछन् । आफूले इन्टरमिटेन्ट फाष्टिङ गर्ने गरेको, हप्तामा तीन पटक कसरत गर्ने अनि सकेसम्म स्वस्थकर खानेकुरा खाने गरेको उनको भनाइ छन् । छालामा राम्रा क्रिमहरू पनि प्रयोग गरिरहेको उनी बताउँछिन् ।

रोद्रिगज सम्बन्ध विच्छेद गरेर बसेकी एकल महिला हुन् । जजहरुले आफ्नो आत्मविश्वास र आफ्नो पुस्ताको महिलाको प्रतिनिधित्व गर्ने आफ्नो लगाव देखेको हुनसक्ने उनी बताउँछिन् । आफू यस वर्षको मिस युनिभर्स अर्जेन्टिनामा पनि जाने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप