आईपीएलमा आज : जित्नै पर्ने दबाबसहित मैदानमा ओर्लँदै दिल्ली र लखनउ
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा मंगलबार ‘गर वा मर’को स्थितिमा रहेका दुई टोली दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबिच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सुरु हुनेछ ।
जारी आईपीएलमा खेल्न लागिएको यो ६४औँ खेल हो । त्यसपछि आईपीएलमा लिग चरणको ६ वटा खेलमात्र बाँकी रहनेछ । दिल्लीको यो अन्तिम खेल हो भने लखनउको अझै एक खेल बाँकी रहने छ । लखनउले आफ्नो अन्तिम खेल मे १७ तारिखमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।
यो सिजनको आईपीएलमा दिल्लीले आफ्नो १४औँ र लखनउले १३औँ खेल खेल्न लागेका हुन् । दिल्लीले यसअघि खेलिएको १३ मध्ये ६ खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । दिल्ली १२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसीन छ ।
लखनउले भने यसअघि खेलिएको १२ मध्ये ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । लखनउ पनि १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । समान अङ्क भए पनि लखनउ नेट रन रेटमा दिल्लीसँग पछि परेको हो ।
यी दुवै टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना बाँकी नै छ । जारी सिजनको आईपीएलमा हालसम्म एक टोली कोलकाता नाइट राइडर्समात्र अघिल्लो चरणमा पुगेको छ । मुम्बई इन्डियन्स, पञ्जाब किङ्स र गुजरात टाइटन्स भने उपाधि होडबाट बाहिरिएका छन् ।
प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न यी दुवै टोलीका लागि जित अत्यावश्यक छ । मंगलबारको खेलमा लखनउलाई हराए पनि दिल्लीले अगाडि बढ्न अन्य टोलीको नतिजामा भर पर्ने पर्ने हुन्छ ।
अर्कोतिर, लखनउसँग पनि मंगलबारको खेलमा जितको विकल्प छैन । दिल्लीलाई ठुलो अन्तरले हराउन सकेमा लखनउ तालिकाको चौथो नम्बरमा उक्लन सक्छ । त्यसपछि अर्को खेलमा मुम्बई पनि हराएमा लखनउ १६ अङ्कसहित प्ले–अफ चरणमा पुग्न सक्छ ।
हेड टु हेडमा लखनउ अगाडि
इन्डियन प्रिमियर लिगमा हालसम्म दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा लखनउले दिल्लीलाई हराएको छ । एक खेलमा भने दिल्लीले लखनउलाई पराजित गरेको छ । दिल्लीले यसै सिजनको आईपीएलमा लखनउलाई ६ विकेटले पराजित गरेको थियो ।
ऋषभ पन्तको नाममा दिल्लीको सर्वाधिक रन
जारी सिजनको इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ऋषभ पन्त हुन् । उनले टोलीका लागि हालसम्म १२ खेलमा कुल चार सय १३ रन बनाइसकेका छन् । प्रतिबन्धमा परेका कारण एक खेलमा भने उनी अनुपस्थित रहेका थिए ।
ऋषभ पन्तका अतिरिक्त ज्याक फ्रेजरले पनि टोलीका लागि तीन सय ३० रन बनाएका छन् । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने मुकेश कुमार खलिल अहमद हुन् । यी दुबैले १६–१६ विकेट लिएका छन् । कुलदीप यादबले १५ र अक्षर पटेलले १० विकेट हात पारेका छन् ।
यश ठाकुरको नाममा लखनउको सर्वाधिक विकेट
इन्डियन प्रिमियर लिगको जारी सिजनमा लखनउ सुपर जाइन्ट्सका लागि सर्वाधिक रन बनाउन खेलाडी केएल राहुल हुन् । उनले टोलीका लागि हालसम्म १२ खेलमा कुल चार सय ६० रन बनाएका छन् । लखनउका लागि सर्वाधिक विकेट लिने बलर भने यश ठाकुर हुन् । उनले कुल ११ विकेट लिइसकेका छन् ।
ब्याट्सम्यानलाई साथ दिने पिच
दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबिच खेल हुने अरुण जेट्ली स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा बढी रन बन्ने सम्भावना रहन्छ । यो स्टेडियममा खेलिएको अघिल्लो खेलमा कुल चार सय २१ रन बनेको थियो ।
छैन वर्षाको सम्भावना
दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबिच खेल हुने दिन मंगलबार दिल्लीमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार दिल्लीको तापक्रम ३४ डिग्री सेल्सियसको हाराहारीमा रहने बताइएको छ ।
सम्भावित टोली
दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), ज्याक फ्रेजर म्याकगर्क, अभिषेक पोरेल, शाई होप, ट्रिस्टन स्टब्स, अक्षर पटेल, रसिख सलाम, कुलदीप यादब, मुकेश कुमार, इशान्त शर्मा र खलिल अहमद । इम्प्याक्ट प्लेयर : डेभिड वार्नर ।
लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, मार्कस स्टोइनिस, कुणाल पाण्ड्या, निकोलस पुरन, दीपक हुडा, आयुष बडोनी, रवि बिस्नोई, नविन उल हक, यश ठाकुर र युद्धवीर सिंह चरक । इम्प्याक्ट प्लेयर : एणिमारन सिद्धार्थ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं न्युरोड क्षेत्रको झोंछेमा मध्यरातमा आगलागी
-
१२ बजे, १२ समाचार : बीआरआईले सत्तारुढ एमाले-कांग्रेसबीच खटपटदेखि मध्यरातमा रविलाई पोखरा दौडाएकोमा रास्वपा आक्रोशितसम्म
-
काठमाडौं-तराई द्रूतमार्गका लागि ग्राभेल बोकेको टिपर दुर्घटनामा चालकको मृत्यु
-
१० बजे १० समाचार : बीआरआई सम्झौतापछि कांग्रेस–एमालेको बैठक आह्वानदेखि रवि पक्षधरको गुहारसम्म
-
बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान
-
पत्रकार महासंघमा क–कसले दिए उम्मेदवारी ? (सूचीसहित)