प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत हैदराबादलाई उपाधि होडबाट बाहिरिएको गुजरातको चुनौती
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बिहीबार दुई फरक लक्ष्य बोकेका टोलीबिच भिडन्त हुँदैछ । प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत सनराइजर्स हैदराबादले उपाधि होडबाट बाहिरिइसकेको गुजरात टाइटन्सको सामना गर्नेछ ।
खेल राति ७ः४५ बजे हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ । जारी आईपीएलमा खेल्न लागिएको यो ६६औँ खेल हो । यसपछि आईपीएलको लिग चरणमा चारवटा खेलमात्र खेल्न बाँकी रहने छ ।
जारी सिजनको आईपीएलमा हैदराबादले खेल्न लागेको यो १३औँ खेल हो । हैदराबाद यसअघि खेलिएको १२ मध्ये सात खेलमा विजयी र पाँच खेलमा पराजित भएको छ । हैदराबाद १४ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । यसपछि पनि हैदराबादले एक खेल खेल्न बाँकी रहने छ ।
यसैगरी गुजरातले भने जारी सिजनको आईपीएलमा खेल्न लागेको यो १४औँ खेल हो । गुजरातले यसअघि खेलिएको १३ मध्ये पाँच खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । गुजरातको एक खेल भने अनिर्णित रुपमा सकिएको थियो ।
गुजरात ११ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ । लिग चरणमा गुजरातको यो अन्तिम खेल हो । गुजरात यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । गुजरातसँगै मुम्बई इन्डियन्स र पञ्जाब किङ्स पनि लिग चरणबाटै बाहिरिने पक्का भइसकेको छ ।
आईपीएलको १७औँ संस्करणमा हैदराबाद र गुजरात आपसमा भिड्न लागेको यो दोस्रो पटक हो । यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।
बिहीबारको खेलमा गुजरातलाई हराएमा हैदराबाद १६ अंकसहित दोस्रो स्थानमा उक्लने छ । हाल १३ खेलबाट १९ अंक बटुलेको कोलकाता नाइट राइडर्स पहिलो र समान खेलबाट १६ अंक जोडेको राजस्थान रोयल्स दोस्रो स्थानमा छन् । कोलकाता र राजस्थान प्ले–अफ चरणमा पुगिसकेका छन् ।
हेड टु हेडमा गुजरात अगाडि
इन्डियन प्रिमियर लिगमा हालसम्म सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा गुजरातले हैदराबादलाई हराएको छ । एक खेलमा भने हैदराबादले गुजरातलाई पराजित गरेको छ । यी दुई टोली राजिव गान्धी स्टेडियममा भने पहिलो पटक भिड्न लागेका हुन् ।
हैदराबादको सर्वाधिक रन ट्राभिस हेडको नाममा
आईपीएलको यो सिजनमा सनराइजर्स हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ट्राभिस हेड हुन् । उनले ११ खेलमा पाँच सय ३३ रन बनाएका छन् । उनी जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि तेस्रो स्थानमा छन् ।
हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा अभिषेक शर्मा दोस्रो स्थानमा छन् । उनले टोलीका लागि १२ खेलमा चार सय एक रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर भने टी. नटराजन हुन् । उनले १५ विकेट लिएका छन् ।
लयमा छन् गुजरातका सुदर्शन र गिल
जारी सिजनको आईपीएलमा गुजरात टाइटन्सका लागि साई सदुर्शन र शुभमन गिलले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अन्य ब्याट्सम्यानले भने सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । साई सुदर्शनले १२ खेलमा कुल पाँच सय २७ रन बनाएका छन् ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा रहेका कप्तान गिलले पनि १२ खेलमा कुल चार सय २६ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर भने मोहित शर्मा हुन् । उनले कुल १३ विकेट लिएका छन् ।
ब्याट्सम्यानलाई साथ दिने पिच
इन्डियन प्रिमियर लिगमा बिहीबार हैदराबाद र गुजरातबिच खेल हुने राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी रन बन्ने गरेको पाइन्छ ।
हालसम्म यो स्टेडियममा आईपीएलको कुल ७६ खेल खेलिसकिएको छ । त्यसमध्ये पहिलो ब्याटिङ गर्ने टोलीले ३४ खेल जितेका छन् । ४२ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोली विजयी भएको छ । यो स्टेडियममा बनेको उच्च स्कोर तीन विकेट गुमाएर दुई सय ७७ रन हो । त्यो स्कोर यसै वर्ष मुम्बई इन्डियन्सविरुद्ध हैदराबादले बनाएको थियो ।
वर्षाको झिनो सम्भावना
सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच खेल हुने दिन बिहीबार हैदराबादमा १६ प्रतिशतक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर हैदराबादको आकाश बादलले ढाकिएको हुनेछ । बिहीबार हैदराबादको तापक्रम २५ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने छ ।
सम्भावित टोली
सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, नितिश रेड्डी, हेनरिच क्लासन (विकेटकिपर), अब्दुल समाद, शाहबाज अहमद, सनवीर सिंह, भुवनेश्वर कुमार, टी. नटराजन, जयदेव उनादकट र विजयकांत । इम्प्याक्ट प्लेयर : अभिषेक शर्मा ।
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सदुर्शन, डेभिड मिल्लर, शाहरुख खान, म्याथ्यू वेड (विकेटकिपर), राहुल तेवतिया, राशिद खान, नुर अहमद, उमेश यादब, मोहित शर्मा र कार्तिक त्यागी । इम्प्याक्ट प्लेयर : संदीप वारियर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय प्रणालीका कारण एकाएक मौसम बदली, जाडो अझै बढ्ने
-
विदेशी मुद्राको विनिमय दर : डलरको भाउ उस्तै, कसको मूल्य कति ?
-
एनपिएलमा को-को भिड्दै छन् आज ?
-
व्यापार व्यवसाय र वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
एसी मिलानलाई हराउँदै एटलान्टा शीर्षस्थानमा
-
सेल्टा भिगोले गर्यो हार सुधार, मलोर्कालाई रेड कार्डले डुबायो